close

लगानी धेरै हुँदा समेत हामीलाई डेटा सस्तो बनाउनुपर्ने चुनौती छ

टेकपाना टेकपाना

साउन ५, २०७८ १६:१४

लगानी धेरै हुँदा समेत हामीलाई डेटा सस्तो बनाउनुपर्ने चुनौती छ

टेलिकम कम्पनीको नाताले हाम्रो पहिलो एजेन्डा भनेको हाम्रा ग्राहकले खोजेको जस्तो सेवा प्रदान गर्नु हो । तर यो कोरोना महामारी बीच हामीले हाम्रा केही कमजोरीहरू पत्ता लगायौँ । पहिलो हो, डेटाको कमी ।

यो हामी मात्र होइन, सायद इन्टरनेट सेवा प्रदायकहरूले पनि महसुस गरेको विषय हो । कोरोना महामारीको समयमा डेटाको माग एकदमै बढेको थियो । हामीले महसुस गरेको अर्को कुरा भनेको भौतिक गतिविधि भन्दा पनि भर्चुअल गतिविधि अझ बढी सुरक्षित हुने रहेछन् ।

यस हिसाबले भर्चुअल गतिविधिको कारणले पनि मोबाइल डेटाको खपत बढ्न गएको थियो । पक्कै पनि कोरोना महामारीको पहिलो लहरको समयमा मोबाइल फोनको प्रयोग एकदमै बढेर गयो । यति हुँदाहुँदै कुनै पनि टेलिकम कम्पनीहरू नाफामा गएका थिएनन् ।

यस्तो समयमा हामी मध्ये कसैले पनि सेवाको मूल्य बढाएनौँ । चाहेको भए सबैले मूल्य बढाउन सक्थ्यौँ । तर हामीले त्यसो गर्न चाहेनौँ । तर हाम्रा लागि ग्राहकहरूलाई व्यस्त गराइराख्नु पनि उत्तिकै जरुरी थियो ।

अन्यथा हाम्रा उपभोक्ताहरू हाम्रो नेटवर्क छोडेर अर्को नेटवर्कमा जोडिन पनि सक्थे र जोडिए पनि । यसका लागि हामीले धेरै निःशुल्क सेवाहरू पनि दिनुपर्ने अवस्था आएको थियो, विशेष गरी मोबाइल डेटामा ।

हाम्रो लागि अर्को चुनौती भनेको हामीले दिने सेवाको लगानीको व्यवस्थापन हो र अन्य देशको तुलनामा नेपालको इन्टरनेट प्रोटोकल टेलिफोनी एकदमै महँगो छ । हाम्रै छिमेकी राष्ट्रहरूको तुलनामा पनि यहाँको आईपीटी सस्तो छैन ।

यस्तोमा हामी हाम्रा दुवै छिमेकी राष्ट्रहरूसँग मिलेर डेटाको लागत घटाउनको लागि प्रयास गरिरहेका छौं । यस हिसाबले हेर्दा नियामकले मात्र गर्छु भनेर पनि हुन्न । यसको लागि अपरेटरहरूसँग सहकार्य गरेर उनीहरूले सामना गरिरहेका चुनौतीहरूलाई बुझेर अगाडि बढ्नु उचित हुन्छ ।

बजारमा अहिले महामारीको बेलामा टेलिकम कम्पनीहरूले मज्जाले पैसा कमाइरहेका छन् भन्ने एउटा गलत धारणा रहेको छ । यो धारणा बिल्कुलै गलत छ । हो, मोबाइल डेटाको खपत महामारीको बेलामा १० गुणाले बढेको छ ।

तर यसमा हामीले तिर्ने शुल्क पनि बढेको छ । त्यसैले टेलिकम कम्पनीहरू फाइदामा छन् भन्ने मान्यता नै गलत छ । यो महामारीले हामी सबैलाई उत्तिकै प्रभाव पारेको छ ।

कोरोनाको प्रभावको लागि मात्र नियामक निकायले कस्तो खालको भूमिका खेल्ने भन्दा पनि डिजिटल नेपाल २०१८ को धारणालाई अगाडि बढाउनको लागि धेरै काम गर्नुपर्ने देखिन्छ छ । डिजिटल नेपालको धारणा अनुरूप देशमा विद्यमान डिजिटल डिभाइड (विभेद) लाई घटाउने दिशामा हामीले धेरै कामहरू गर्न बाँकी छन् ।

यी काम सेवा प्रदायकहरू एक्लैले गरेर सम्भव पनि छैन । यसमा विभिन्न क्षेत्रबाट सबैले आआफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, जस अन्तर्गत मन्त्रालय, नियामक निकाय, टेलिकम सेवाप्रदायक र उपभोक्ताको आआफ्नै किसिमको भूमिका हुन सक्छ ।

यसमा सरकारको तर्फबाट गर्न सक्ने धेरै कामहरू छन् । हामीले देखेका पनि छौं कि विश्वका धेरै देशहरूमा त्यहाँका सरकारले लिएको सही निर्णयका कारण टेलिकम सेवामा धेरै सुधार आएको छ । यसको अर्थ मन्त्रालय वा नियामक निकाय एक्लैले मात्र काम गर्नुपर्छ भन्ने होइन ।

सबैजना मिलेर गरेमा गर्न सकिन्न भन्ने पनि छैन । अर्को कुरा भनेको नियामक निकायको स्थिरता पनि हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण छ । किन कि यो भनेको छोटो समयको लागि थोरै लगानी लगाएर हुने काम पनि होइन । दीर्घकालिन प्रगतिको लागि स्थिरता चाहिन्छ ।

हामीहरू वार्षिक रुपमा अर्बौं रुपैयाँ खर्च गर्छौं र यसको सुनिश्चितताको लागि हामीलाई स्थिरता चाहिन्छ । अनि मात्र हामी द्रुत रुपमा उपभोक्तालाई मोबाइल डेटा उपलब्ध गराउन सक्छौं । नेपालमा अझैँ पनि धेरै ठाउँमा फाइबर इन्टरनेटको पहुँच छैन ।

यस्तोमा मोबाइल डाटा नै उपभोक्ताको एउटै विकल्प हुन्छ । अझै पनि थुप्रै प्रयोगकर्ता मोबाइल डेटामा मात्रै निर्भर छन् । यस हिसाबले मोबाइल डेटालाई सस्तो बाइदिनु पर्ने हो । तर यसो भन्दैमा धेरै लगानी गरेर सस्तोमा हामीले पनि सेवा दिन सक्दैनौं ।

यद्यपि फोरजीको व्यवस्थापनमा हामी लागि परिरहेका छौं । यस्तै टेलिकम सेवाप्रदायकको हिसाबले हामी फाइभजीको लागि पनि तयार छौं । तर प्रश्न यो हो कि के हाम्रो बजार फाइभजीको लागि तयार छ  ? पक्कै पनि छैन ।

फाइभजी चाहिँ उपभोक्ताको लागि भन्दा पनि बढी मसिन तथा उपकरणहरूको लागि हो भन्ने खालको एउटा धारणा छ । जुन सही होइन । नियामकले आफ्ना सबै तयारीहरू पुरा गरेको खण्डमा फाइभजी ल्याउनको लागि हामी तयार छौं ।

(टेकपाना टेल्कोज पोलिसी डिबेट सिरिजमा एनसेल सीईओ एन्डी चोङले व्यक्त गरेको विचारको सम्पादित अंश)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५