close

अमेरिकी राष्ट्रपति भन्छन्, ‘फेसबुकले मान्छे मार्दैन, तर झुटा सूचना हानिकारक हुन सक्छन्’

टेकपाना टेकपाना

साउन ६, २०७८ ८:२४

अमेरिकी राष्ट्रपति भन्छन्, ‘फेसबुकले मान्छे मार्दैन, तर झुटा सूचना हानिकारक हुन सक्छन्’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुकमा  कोरोना खोपको विषयमा फैलाइएका गलत सूचनाका कारण मानिसलाई नकारात्मक असर परेको बताएका छन् । गत हप्ता मात्र उनले फेसबुकमा फैलिएको गलत सूचनाले मानिस मरिरहेका छन् भनेर आफ्नो अभिव्यक्ति दिएका थिए ।

सोमबार भने आफ्नो अभिव्यक्तिमा परिमार्जन गर्दे फेसबुकले मान्छे त मार्दैन, तर यसमा हुने झुटा सूचनाका कारण गलत प्रभाव परिरहेको बताएका छन् ।

‘मैले भन्न खोजेको फेसबुकले मान्छे मारेको छैन । तर फेसबुकमार्फत कोरोना खोपसम्बन्धी गलत प्रचार गरेर मान्छेहरूलाई हानी पुर्‍याइएकाे छ,’ उनले बताए, ‘फेसबुकले मेरो यो भनाइलाई व्यक्तिगत रुपमा लिनेभन्दा पनि मेरो भनाइको आशयलाई बुझेर यस्ता किसिमका गलत सूचनाको प्रचारलाई कसरी रोक्न सकिन्छ भन्ने तिर योगदान गरोस् भन्ने मेरो आशा हो ।’

गत हप्ता ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै खोपको विषयमा फेसबुकजस्ता सामाजिक सञ्जालले झुटा सूचना फैलाएको भनेर आरोप लगाएका थिए । यो विषयमा पत्रकार सम्मलेनमा गत शुक्रबार बोल्दै बाइडेनले सामाजिक सञ्जालहरूले मान्छेहरू मारिरहेका छन् भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको यो भनाइलाई फेसबुकको आलोचनाको रुपमा लिइएको छ । यही विषयलाई सोमबार बाइडेनले स्पष्टिकरण दिएका हुन् ।

फेसबुकले भने आफूहरूले खोप अभियानलाई असर गर्ने कुनै पनि काम नगरेको बरु उल्टै फेसबुकले धेरैकाे ज्यान जोगाउन सहयोग गरेको बताएको छ ।

दि न्यू योर्क टाइम्सको एक रिपोर्टअनुसार पछिल्ला केही महिनामा फेसबुक र ह्वाइट हाउसबीच विभिन्न विषयमा यस्तै विवाद भइरहेको छ । रिपोर्टका अनुसार ह्वाइट हाउसको प्रशासनले फेसबुकलाई खोप सम्बन्धी गलत सूचना प्रवाह गरेको प्रमाणस्वरुप थुप्रै डेटा देखाएको थियो ।

यद्यपि फेसबुकले भने आफ्नो बचाउमा प्रशासनलाई कुनै पनि डेटा शेयर नगरेको बताइएको छ । अब ह्वाइट हाउसले फेसबुकको विरुद्धमा कस्तो कदम चाल्छ, त्यो त आउने दिनहरूमा थाहा हुनै ने छ ।

सोमबार भने के फेसबुकले यसको जिम्मेवारी लिनुपर्छ भन्ने प्रश्नमा ‘म कसैलाई जिम्मेवारी लिनको लागि भन्न सक्दिनँ तर मान्छेहरूले आफूलाई एकपटक ऐनामा हेर्नुपर्छ,’ भनेका थिए । ‘तपाईंका बच्चा, आफन्तले अथवा तपाईंले चिनेका कुनै व्यक्तिले पाइरहेको गलत समाचारको बारेमा सोच्नुहोस् । मैले यत्तिमात्र अनुरोध गर्न चाहेको हो,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५