close

कुनै समय बन्द हुने अवस्थामा पुगिसकेको ‘मेरोजब’को कथा

टेकपाना टेकपाना

साउन ७, २०७८ ७:३२

कुनै समय बन्द हुने अवस्थामा पुगिसकेको ‘मेरोजब’को कथा

विगत लामो समयदेखि अनलाइनको माध्यमबाट रोजगारदाताको लागि कामदार खोजिदिने र कामदारको लागि रोजगारी खोजिदिने काम मेरोजब डटकमले गर्दै आएको छ । इन्टरनेटको पहुँच एकदमै न्यून भएको अवस्थामा सुरु भएको यो कम्पनीसँग आज इन्टरनेटको पहुँच व्यापक भइसकेको अवस्थासम्मका अनुभव छन् । नेपालमा अनलाइनबाट रोजगारी तथा कामदार खोज्ने प्रवृत्ति, रोजगारी क्षेत्रका समस्या, उद्यमशीलताको अवस्थादेखि स्वयम् मेरोजबको उतारचढावसम्मका विविध विषयमा रहेर कम्पनीका संस्थापक शैलेन्द्रराज गिरीसँग टेकपानाका लागि अर्पना मगरले गरेको कुराकानीको सम्पादित अंश ।

मेरोजब डटकमको सुरुवात कसरी भएको थियो, यस विषयमा केही बताइदिनुहुन्छ ? 

हामीले रिक्रुमेन्ट (पदपूर्ति) प्रकृयाको लागि देशमा एउटा आउटसोर्सिङ कम्पनी सुरु गरेका थियौं । देशभरबाट कामको लागि पोस्ट अफिसमा आवेदन आउँथे, अनि यसरी आएका आवेदनहरू लिन हामीले बोरा नै लिएर जानुपर्ने अवस्था हुन्थ्यो ।

दुईवटा मोटरसाइकलमा दुईतिर हातमा बोरा बोकेर आवेदनहरू बोकेर ल्याउँथ्यौँ । अनि ती सबै आवेदनहरू एकएक गर्दै हेर्नुपर्ने हुन्थ्यो । अनि ती आवेदन मिलाउन हामीले रातभर काम गर्नुपर्थ्यो ।

काम गर्दागर्दै यो कामलाई अनलाइनमा लैजाँदा कस्तो होला भन्ने कुरा हाम्रो दिमागमा आयो । नेपालमा पनि ईमेलको प्रचलन सुरु भइसकेको थियो । यस्तो अवस्थामा गरी हेरौं न त भनेर हामीले पहिलो प्रयास थाल्यौं ।

जसमा करिब ८० प्रतिशत आवेदन अनलाइनबाट आए भने २० प्रतिशत मात्र पोस्टबाट प्राप्त भए । अनि यही चिजलाई अझ कसरी सहज बनाउन सकिन्छ भनेर सोच्दा मेरोजबको आइडिया दिमागमा आएको थियो ।

त्यस बेला विदेशमा मोन्स्टर डटकम, नोकरी डटकम लगायतका अनलाइन जब पोर्टलहरूले बजारमा राम्रो स्थान बनाइसकेका थिए । यदि अरु देशमा सफल हुनसक्छ भने हाम्रो देशमा किन हुन सक्दैन भन्ने लाग्यो ।

अबको भविष्य चाहिँ इन्टरनेटकै हो भन्ने पनि मलाई महसुस भइसकेको थियो । र डेटा नै अबको सम्पत्ति हो भन्ने एउटा लेख पनि पढेको थिएँ । त्यहीँबाट मेरोजब डटकमको आइडिया आएको थियो । 

मेरोजबको सोच आइसकेपछि यसलाई अगाडि बढाउँदाको अनुभव चाहिँ कस्तो रह्यो ? 

कुनै पनि कम्पनी सुरु गर्न सबैभन्दा अगाडि चाहिने भनेको पैसा नै हो । मैले पनि सुरुमा एउटा कम्पनी खोल्न घरबाट ९० हजार रुपैयाँ मागेको थिएँ । त्यसबाट मैले एउटा कम्प्युटर, कार्पेट, टेबल र कुर्सी किनेको थिएँ । तर प्रतिफलमा मैले त्यसबाट केही पनि पाइनँ ।

किन कि त्यतिखेर मेरो लगानीमा धेरै कमजोरीहरू थिए । मैले खाली अफिस सेटअपमा मात्र लगानी गरेँ । तर कम्पनीको सेल्स, ब्रान्डिङ, जनशक्ति व्यवस्थापन लगायतका कुराहरूमा लगानी गरेको थिइनँ ।

त्यसैले मेरोजब सुरु गर्दा चाहिँ एकदमै ध्यानपूर्वक पाँच वर्षे योजना बनाएँ । जसमा लामो समयको लागि अफिस सेटअप सहित जनशक्ति व्यवस्थापन लगायत ब्रान्डिङ जस्ता हरेक सानाठूला कुरामा योजना बनाएको थिएँ ।

हरेक कामका लागि निश्चित पैसा छुट्याएँ । सुरुवात गर्दा मलाई ४५ लाख जति पैसा चाहिएको थियो । तर त्यति पैसा मसँग थिएन र मैले घरमा माग्न सक्ने स्थिति पनि थिएन । किनभने त्यस अगाडिको लगानीको कुनै प्रतिफल मैले जुटाउन सकेको थिइनँ ।

सँगसँगै मेरो व्यवसायको बारेमा घरमा बुझाउन पनि सकिएन । त्यस बेला मलाई मेरो एकजना साथीले केही रकम सहयोग गर्‍यो । त्यसैबाट मैले मेरोजब सुरु गरेँ ।

यसर्थ हामीले पैसाको एकदम हिसाब राख्नुपर्छ जस्तो लाग्छ । एउटा सानो चियापत्तीको पनि हिसाब राख्नुपर्छ । व्यवसाय सुरु गर्नु भनेको एउटा सृष्टि गर्नु हो । त्यसैले व्यवसाय सुरु गर्दा योजनासँगै पैसा, समय र मेहनत सबै लगाउनु पर्छ ।

मेरोजबको पहिलो अफिस कहाँ अनि कस्तो थियो ? 

मेरोजबको आइडिया र योजनाको सुरुवात त अनमानगरमा भएको हो । तर व्यवसायिक रुपमा हामीले पुरानो बानेश्वरको एउटा घर भाडामा लिएर यसको अफिस सुरु गरेका थियौं ।

त्यसपछिको समयमा अहिले हामी मीनभवनमा छौं । शान्तीनगर गेटको विपरित दिशामा हाम्रो अफिस छ । मेरोजबको सुरु गर्दा मान्छेहरू आफ्नो रोजगारीको लागि अनलाइन प्रकृयामा त्यति भिजिसकेका थिएनन् । 

यस्तो समयमा सुरु भएको मेरोजबलाई काम गर्न कत्तिको चुनौतिपूर्ण भयो ? 

बैंकको रिक्रुमेन्ट (पदपूर्ति) प्रकृयाको काम गर्दागर्दै आइडिया आएको व्यवसाय हो, यो । त्यस बेला केही सीमित वेबसाइटहरू मात्र थिए । यतिसम्म कि फेसबुक पनि थिएन । त्यतिखेर धेरै गाह्रो पनि थिएन र सजिलो पनि ।

आखिर जसरी पनि काम खोज्नको लागि एउटा लामो फाराम भर्नै पर्ने हुन्थ्यो । त्यसलाई हामीले अनलाइन माध्यममा जोडिदिएका मात्रै हौँ । एउटै फाराम घरबाट बसेर भर्नु र ठाउँठाउँमा डुलेर अनि लाइन लागेर भर्नुमा मान्छेहरूलाई घरमै बसेर गर्न सजिलो लाग्यो ।

त्यसैले मान्छेलाई बुझाउन त्यस्तो गाह्रो पनि भएन । तर त्यतिबेलाको एउटै समस्या भनेको इन्टरनेट थियो । इन्टरनेट राम्रो नहुँदा समस्या हुन्थ्यो । विशेषगरी विकट ठाउँहरूमा बसेका मान्छेहरूलाई गाह्रो हुन्थ्यो ।

तर उहाँहरूको सजिलोको लागि भनेर हामीले फोनबाट समेत फाराम भर्न मिल्ने व्यवस्था गरिदिएका थियौं । त्यसयता हामीले यो कामलाई आजपर्यन्त निरन्तरता दिइरहेका छौं । आफूलाई जुन माध्यम सहज हुन्छ, सोही माध्यमबाट फाराम भर्न सकिन्छ । कम्पनी सुरु गरेको कति समयपछि अब चाहिँ हामीले बजार लियौं भन्ने लागेको थियो ।

केवल एक महिना । हामीले सुरु गरेको एक महिनामा करिब दुई सय जनाले दर्ता गर्ने हाम्रो अपेक्षा थियो । तर दश हजार जना दर्ता हुनुभयो । अनि त्यही एक महिनामा नै मान्छेहरूले काम पनि पाउन सुरु गरिसकेका थिए । त्यसमा सायद ब्रान्डिङले काम गरेको हुनुपर्छ ।

हामीले गरेको काम प्रभावकारी पनि भयो । त्यसपछि मान्छेहरू आफैँले अरुलाई यसबारेमा जानकारी दिन थाले । व्यवसायिक रुपमा जनशक्ति परिचालन हुनुपर्छ भन्ने हाम्रो मान्यता  हो । यसले हाम्रो कामलाई थप उचाइमा पुग्न सहयोग गर्‍यो ।

जसले गर्दा मान्छेहरूमा यहीँ पनि केही गर्न सकिन्छ भन्ने एउटा आशा जगायो । चाकडी गरेकै भरमा जागिर दिने र खाने चलन भएको समयमा व्यवसायिक रुपमा भएको रिक्रुमेन्टले मान्छेहरूलाई उत्साहित बनायो ।

तपाईंहरुलाई चाहिँ त्यस किसिमको सोर्सफोर्स अनि भनसुन चाहिँ कत्तिको आउँछ? 

एकदमै धेरै आउँथ्यो । कतिले फोन गर्थे त कतिले धम्की र लोभ लालचसम्म देखाउँथे । पैसा कमाउन खोजेको भए सायद करोडौं रुपैयाँ जम्मा गर्न सकिन्थ्यो । राजनीतिक पार्टी, गुण्डादेखि सबैबाट यस किसिमको दबाब आउथ्यो ।

तर हाम्रो मान्यता भनेको उचित ठाउँमा सही मान्छे पुग्नुपर्छ भन्ने हो । हाम्रा हरेक स्टाफलाई यस्तो अवस्थामा मिठो बोलीमा कसरी नाई भन्ने भनेर तालिमै दिएका हुन्छौं । कहिलेकाहीँ त केही मान्छेहरू हाम्रो घरसम्म पनि आइपुगेका उदाहरण छन् ।

तर हामीले त्यो ट्रेन्डलाई बिल्कुल रुपमा वेवास्ता गर्‍यौँ । फलस्वरुप आज हामी एक व्यवसायिक संस्थाको रुपमा स्थापित भएका छौं । ठूलाठूला कम्पनीहरूले पनि अहिले अन्य तरिकाबाट नभए सोझै हाम्रो माध्यमबाट कर्मचारी माग गरिरहेका हुन्छन् ।

प्रसंशा चाहिँ कत्तिको आउँछन् ? 

हाम्रो सेवाबाट सन्तुष्ट हुनेहरू धेरैजना हुनुहुन्छ । अझ कति त मैले तीनचार वटा जागिर फेरेँ, सबै मेरोजबबाट नै हो भन्नेहरू पनि छन् । सानोबाट सुरु गरेर ठूलो पदमा पुगेका मान्छेहरू पनि छन् ।

विदेशमा भएका मान्छेहरूले पनि त्यहीँबाट आवेदन गरेर नेपालमा आएपछि जागिर खानेहरू पनि छन् । यसैबाट थाहा हुन्छ कि हामीबाट सेवाग्राहीहरू कत्तिको खुशी हुनुहुन्छ ।

तपाईं आफूले चाहिँ जागिर खोज्ने क्रममा कुनै त्यस्तो किसिमको हन्डर ठक्कर खानु पर्‍यो कि परेन ? 

पक्कै पनि ठक्कर त जति पनि खानुपर्छ । यो जीवनको एउटा पाटो हो । तर भाग्यले भनुँ अथवा मभित्र केही थियो, जसको कारण मैले पहिलो प्रयासमै जागिर पाएको थिएँ । 

जागिरेदेखि उद्यमी बन्दासम्मको यात्रा कस्तो रह्यो ? 

उद्यमशीलताको यात्रा एकदमै डरलाग्दो हुँदो रहेछ । धेरै कुराका लागि तयारी अवस्थामा बस्नु पर्छ । कम्पनीको दर्ता प्रकृयादेखि सुरु भएर कम्पनीमा जनशक्ति व्यवस्थापन, कार्य सम्पादन, उत्पादनको गुणस्तर लगायतका कुराहरूमा विशेष ख्याल राख्नुपर्छ ।

यसले धेरै नै मानसिक तनाव पनि दिन्छ । एक पटक त अब म सक्दिनँ, छोड्छु भन्ने सोच पनि आएको थियो । त्यस बेला मैले एकजना सिनियरसँग अब म नसक्ने भएँ, छोड्छु समेत भनेको थिएँ ।

उहाँले मलाई एक लाख रुपैयाँको अफर दिँदै आफ्नो काम छोडेर आफ्नो कम्पनीमा जोडिन समेत भन्नु भयो । तर त्यस रातभर सोचेपछि मलाई महसुस भयो मेरो कामको महत्त्व अनि मेरो प्राथमिकता ।

त्यसपछि मलाई लाग्यो -अब मैले पछाडि फर्कनु हुँदैन । त्यो समयलाई म मेरो जीवनको टर्निङ प्वाइन्टको रुपमा पनि लिन्छु । त्यसपछि नै हो मैले मेरोजबलाई अगाडि बढाएको ।

जीवनमा आफैंले आफूलाई प्रोत्साहन गर्न कत्तिको आवश्यक छ ? 

एकदमै आवश्यक छ । जीवनमा ससाना कुराको लागि पनि सेल्फ मोटिभेसन एकदमै महत्वपूर्ण हुन्छ । जीवनमा अगाडि बढ्न आत्मसंवादको जरुरी छ । म के गर्दैछु, मैले गरिरहेको काम गर्न किन जरुरी छ भन्ने कुराहरू केलाउन पनि सेल्फ मोटिभेसनको आवश्यकता पर्छ । 

मेरोजबदेखि अहिले कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

म सन्तुष्ट छैन । अझै पनि हामीले गर्न सक्ने कतिपय कामहरू गर्न सकिरहेका छैनौँ जस्तो लाग्छ । आज पनि केही विद्यार्थीहरूलाई मेरोजबको बारेमा सोध्यो भने ‘अँ सुनेको जस्तो लाग्छ’ भन्छन् । सुनेको जस्तो लाग्छ भनेर भएन ।

उसले बच्चा छँदादेखि नै मेरोजबको बारेमा सुनेको हुनुपर्‍यो, बुझेको हुनुपर्‍यो । किनभने भोलि गएर उसले गर्ने भनेको काम नै हो । कामको लागि मेरोजब चाहिन्छ भनेर एकदमै सामान्य मान्छेसम्म पनि यो कुरा पुग्नुपर्ने हो ।

तर त्यसो हुन सकेको छैन । त्यही भएर हामीले अहिले गरिरहेको कामलाई अझ दश गुणा बढाउन जरुरी छ भन्ने ठान्छु ।

अहिले मेरोजबले कस्तो सेवाहरू दिइरहेको छ ? 

विशेष गरी मेरोजबका दुई प्रकारका ग्राहक छन् । एउटा काम खोज्ने र अर्को काम दिने । जसमा हामी काम दिने ग्राहकसँग चार्ज लिन्छौं भने काम खोज्नेलाई नि: शुल्क सेवा दिन्छौं । कुनै संस्थालाई कर्मचारी चाहिएको छ भने उहाँहरूले मेरोजबको वेबसाइटमा गएर जब पोस्ट गर्न सक्नुहुन्छ ।

त्यसपछि आवेदन कसरी लिने, कसरी छनौट गर्ने लगायतका कामहरूमा हामी आफैँले सिकाउँछौं । त्यस्तै काम खोज्नेहरूको लागि पनि विभिन्न तालिमहरू दिएर भए पनि कामका लागि योग्य बन्नका लागि समेत सहयोग गर्छौँ ।

अहिले नेपालमा अनलाइन जब प्लेटफर्म धेरै नै खुलेको देखिन्छ। यसले कस्तो खालको चुनौति अथवा अवसर थपेको छ ? 

नेपालमा कपी पेस्ट गर्ने प्रचलनले गर्दा अहिले बजारमा अनलाइन जब प्लेटफर्ममा खासै स्वस्थ प्रतिस्पर्धा हुन सकिरहेको छैन । केही नयाँ सोच र सेवाहरू लिएर बजारमा आएको भए सायद हाम्रो लागि चुनौती हुन्थ्यो ।

तर हामीले जे गरिरहेका छौं, त्यही मात्र गर्ने कम्पनीहरू थपिएर हामीलाई खासै चुनौती भए जस्तो लाग्दैन । बरु हामी आफैं आन्तरिक रुपमा कसरी राम्रो हुने भन्ने विषयको चुनौती लिएर काम गरिरहेका छौं । 

नेपालको श्रम बजारलाई कसरी हेर्नु भएको छ ? 

नेपालमा माग भन्दा पनि आपूर्तिमा ठूलो कमी छ । यसको अर्थ सीप भएका कामदारहरू पाउन गाह्रो छ । हाम्रो स्कुलिङ नै कामसँग सम्बन्धित छैन । भविष्यमा कस्तो काम गर्ने भनेर सानोदेखि नै त्यो कामसँग सम्बन्धित सीप सिकाउने शिक्षाको कमी छ ।

फरक फरक मान्छेको फरकफरक इच्छाहरू हुन्छन् । त्यही भएर सबैको इच्छा अनुसार काम गर्नसक्ने शिक्षा दिन आवश्यक छ । अनि अर्को महत्वपूर्ण कुरा भनेको आत्मविश्वास हो ।

नेपालमा धेरै मान्छेहरूमा आत्मविश्वासको कमी देख्छु । साथी अष्ट्रेलिया गयो भनेर म पनि त्यतै जान्छु भन्ने, आफ्नो लागि आफैं निर्णय लिन नसक्ने लगायतका समस्याहरू यहाँ छन् । त्यस्तै व्यक्तिगत रुपमा पनि मान्छेहरू प्रतिस्पर्धात्मक हुन नसक्दा श्रम बजारमा सीपयुक्त जनशक्तिको कमी देख्छु ।

उद्यमी बन्ने सोच भएका नयाँ पुस्तालाई तपाईंको केही सुझाव छ ? 

उद्यमी बन्न सबैभन्दा पहिला जागिर गर्न जरुरी छ । कम्तीमा पनि दुई वर्ष जागिर गर्नुस् भन्छु म । एउटा व्यवसाय कसरी गर्न सकिन्छ भनेर सिक्न जरुरी छ । जागिर गर्दा तपाईंले एउटा कर्पोरेट कल्चर सिक्नु हुन्छ ।

एउटा कम्पनी कसरी चलेको छ भन्ने कुरा सिकेपछि आफैँले महसुस गर्न सकिन्छ- के म उद्यमी बन्न तयार छु ? अनि मात्र अगाडि बढ्नुपर्छ । यसका लागि धेरै मेहनत र धैर्यता चाहिन्छ ।

नेपालमा स्टार्टअप गर्नका लागि नीतिगत रुपमा कत्तिको सहज देख्नुहुन्छ ? 

तपाईंको व्यवसाय तपाईंले बनाउने हो, सरकारले होइन । सरकारको नियम मान्ने अनि कर तिर्ने हो । न कि सरकारले यो गर्नु पर्‍यो त्यो गर्नु पर्‍यो भनेर कसैमा निर्भर हुने होइन । उद्यमी भनेको अगाडि बढ्ने हो । कसैको सहयोग कुरेर बस्ने होइन, आफूले काम गर्ने । 

अन्त्यमा केही थप्न चाहनुहुन्छ ? 

जो मान्छेहरू आफ्नै उद्यममा लागिरहनु भएको छ अथवा जागिर गुमाउनु भएको छ भने म नआत्तिन आग्रह गर्छु । आशा मार्नु हुन्न । समीक्षा गर्नुपर्छ अनि कसरी आफूलाई उकास्नुपर्छ भनेर बुझ्न जरुरी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५