close

२४ घण्टाभित्र नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्की, आतंक फैलाएको भन्दै कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

टेकपाना टेकपाना

साउन ७, २०७८ १०:२

२४ घण्टाभित्र नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्की, आतंक फैलाएको भन्दै कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । बुधबारदेखि नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ भएको खबरले आतंक मच्चिएको छ । १६ वटा बैंकहरूको नामै उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको र यो दक्षिण एसियाकै ठूलो ह्याक भएको चेतावनी सहितको मेसेज फैलिए पछि समग्र बैंकिङ क्षेत्र नै त्रसित बनेकाे हो ।

मेसेजमा स्क्रिनशटमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सहप्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलसँगै नविल बैंकका सीईओ अनिल केशरी शाहलाई ईमेल पठाइएको जस्तो देखिन्छ । तर टेकपानासँगको कुराकानीमा सहप्रवक्ता पोखरेलले भने आफूहरूलाई अहिलेसम्म त्यस किसिमको ईमेल प्राप्त नभएको बताए । 

‘आधिकारिक तवरमा अहिलेसम्म हामीलाई त्यस्तो कुनै ईमेल आएको छैन,’ उनले भने, ‘मेसेजमा देखिएजस्तो ईमेल पठाएको भए अहिलेसम्म ट्रेस गरिसक्थ्यौँ ।’ यद्यपि यस किसिमको गम्भीर धम्की आएपछि राष्ट्र बैंकको आईटी विभागले अनुसन्धान अगाडि बढाइसकेको उनले जानकारी दिए ।

‘यो ह्याकिङ भएको हल्ला चलाएर आतंकित पार्न खोजिएको जस्तो देखिन्छ,’ सह प्रवक्ता पोखरेलले भने, ‘नेपाल प्रहरीको साइबर ब्युरोलाई समेत प्रयोग गरेर यसमा संलग्नलाई कानूनी दायरामा ल्याउँछौं ।’ त्यसो त प्रवक्ता ढकालले बिहीबार बिहान ‘योर बैंकिङ सिस्टम ह्याज बिन ह्याक्ड‘ (तपाईंहरूको बैंकिङ सिस्टम ह्याक भइसकेको छ’ भन्दै  फोन कल समेत आएको सुनाए ।

तर चेकजाँचका क्रममा बैंकिङ प्रणालीमा त्यस्तो कुनै शंकास्पद गतिविधि नभेटिएको उनले बताए । ‘यो केवल यही हल्ला र त्रासका लागि मात्र गरिएको ‘स्टन्ट’ जस्तो देखिन्छ,’ उनले भने, ‘हाम्रो सबै सिस्टम अहिलेसम्म इन्ट्याक्ट (चुस्त दुरुस्त) छ । तैपनि यस किसिमको आतंक फैलाउनेको खोजी गर्न बिहानैदेखि छानविन पनि सुरु गरिसकेका छौं ।’

भाइरल मेसेजमा नेपाल राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकको सिस्टम ह्याक भएको दाबी गरिएको छ । त्यस्तै एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम समेत उक्त मेसेजमा देखिन्छ ।

ठूलो क्षति रोक्न चाहने हो भने बिहीबारदेखि सबै बैंक शाखा ४८ घण्टासम्म बन्द राख्न चेतावनी दिइएको छ । अन्यथा २४ घण्टाभित्र एमआईसीआर तथा ईसीआर सिस्टम लगायत अन्य अनलाइन एवम् अफलाईन कारोबार ‘कम्प्रोमाइज्ड’ गर्ने धम्की दिइएको छ । यति मात्र होइन ईमेललाई हल्लाको विषय ठानेर मजाक नबनाउन समेत भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५