close

अब कसैले ‘इन्भाइट’ नगर्दा पनि क्लबहाउसमा जोडिन मिल्ने

टेकपाना टेकपाना

साउन ७, २०७८ १२:२९

अब कसैले ‘इन्भाइट’ नगर्दा पनि क्लबहाउसमा जोडिन मिल्ने

काठमाडौं । सोसल मिडिया एप क्लबहाउसमा अब ‘इन्भिटेसन’ बिनै जोडिन सकिने भएको छ । आफ्नो दायरालाई फराकिलो बनाउने क्रममा कम्पनीले नयाँ नीति लिएको हाे । यसअघि यदि तपाईं क्लबहाउसमा जोडिन चाहनुभएको खण्डमा कसैले इन्भाइट गर्नुपर्ने प्रावधान थियो ।

तर, अब भने जोकोहीले पनि सहजै क्लब हाउसमा जोडिन पाउनेछन् । कम्पनीका सह-संस्थापक पाउल ड्याभिड्सन र रोहन सेठले यस विषयमा जानकारी दिएका हुन् । उनीहरुका अनुसार हाल एक करोडका हारहारीमा ‘वेट लिस्ट’ मा रहेका छन्, जसलाई विस्तारै अब एपमा स्वीकृति प्रदान गरिने छ ।

‘इन्भिटेस सिस्टम हाम्रो सुरुवाती चरणको एउटा महत्वपूर्ण पक्ष हो,’ कम्पनीले भनेको छ, ‘हामीले हरेक हप्ता नयाँ अनुहारलाई भित्र्याएर उनीहरुलाई अभिमुखीकरण गर्ने र उनीहरुसँग बोल्ने काम छुट्टै रमाइलो थियो । तर, अब भने कम्पनीकाे दायरालाई विस्तार गर्नुपर्ने भएकाले यसलाई खुला गरिएको हो ।’

कम्पनीले गत हप्तामात्रै डाइरेक्ट म्यासेज फिचर सुरुवात गरेको थियो । भने, नयाँ आएको अपडेटसँगै अब कम्पनीको नयाँ लोगो र आइकन पनि तय भएकाे छ । नयाँ आइकनमा र्‍यापर जस्टिन विलियम्स देखिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५