close

भोलिदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने, यस्तो छ तयारी

टेकपाना टेकपाना

साउन ७, २०७८ १८:१०

भोलिदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने, यस्तो छ तयारी

काठमाडौं । भोलि शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो ।

प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यस किसिमको सुविधा उपलब्ध हुनेछ ।

प्रदेश सरकारले यसका लागि छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।

त्यसो त प्रदेश मन्त्रालयले गत असार २४ मै यो प्रणाली लागु भएको सूचना प्रकाशित गरेको थियो । तर पूर्ण प्राविधिक तयारी तथा भुक्तानी सुविधा सहितको सिस्टम बल्ल तयार भएको हो ।

नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यस अघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।

अब भोलि शुक्रबारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन् । बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५