close

ह्याकरको धम्कीपछि सबै बैंकिङ सिस्टम उच्च निगरानीमा, राष्ट्र बैंकसँग किन छैनन् आश्वस्त ?

टेकपाना टेकपाना

साउन ७, २०७८ २०:१४

ह्याकरको धम्कीपछि सबै बैंकिङ सिस्टम उच्च निगरानीमा, राष्ट्र बैंकसँग किन छैनन् आश्वस्त ?

काठमाडौं । नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्की आएसँगै विभिन्न बैंकहरुले आफ्नो सिस्टममाथि उच्च निगरानी थालेका छन् । राष्ट्र बैंकले झुटो हल्ला फैलाएर आतङ्कित पार्न मात्र खोजेको भनेपनि बैंकहरू भने खतरा टरिसकेकोमा विश्वस्त हुन सकेका छैनन् ।

ह्याकरले १६ वटा बैंकको नामै उल्लेख गरेर बिहीबारदेखि ४८ घण्टासम्म बैंकिङ सिस्टम तथा सबै शाखा कार्यालय बन्द राख्न अन्यथा २४ घण्टाभित्र सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ । चेतावनी आएसँगै नियामक राष्ट्र बैंकदेखि सबै बैंकले आफ्नो सिस्टम चेकजाँच समेत गरेका छन् ।

त्यस क्रममा बैंकहरूले आफ्नो सिस्टम डाउन गरेरै अनुसन्धान थालेका थिए । त्यसक्रममा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सम्पर्क समेत अस्थायी रुपमा डाउन गरिएको बताइएको छ ।

तर कम्पनीका सीईओ निलेशमानसिँह प्रधानले भने रातिको समयमा सिस्टम डाउन  गरेर चेकजाँच गरिएको भए पनि दिउँसो सुचारु रहेको बताए । ‘सिस्टम सुचारु भएपछि आज कारोबार समेत राम्रै भएको छ,’ टेकपानासँगको कुराकानीमा उनले भने । यद्यपि केही बैंकहरूलाई भने अझै जोखिम नटरेको भन्दै आफ्नो केही सिस्टम डाउन गरेर राखेको एक बैंकका आईटी विभाग प्रमुखले बताए ।

‘कतिखेर के हुन्छ भनेर अझै विश्वस्त हुन सकिने अवस्था छैन,’ उनले भने, ‘संभावित खतराबाट जोगिनका लागि हामीले सिस्टममाथि उच्च निगरानी राखेका छौं ।’ बुधबार नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलसँगै नविल बैंकका सीईओ अनिल केशरी शाहलाई ह्याकरले ईमेल पठाएको स्क्रिनशटमा भाइरल बनेको थियो ।

तर स्क्रिनशटमा देखाइएको जस्तो ईमेल आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको उनीहरूको दाबी छ । यद्यपि बिहीबार बिहान प्रवक्ता ढकाललाई भने एक अपरिचित नम्बरबाट आएको कलमा ‘योर बैंकिङ सिस्टम ह्याज बिन ह्याक्ड’ भन्दै चेतावनी समेत दिइएको थियो ।

तर प्रवक्ता ढकालले सिस्टममा त्यस्तो कुनै किसिमको शंकास्पद गतिविधि नदेखिएको भन्दै यो झुटो हल्ला फैलाएर त्रसित पार्ने ‘स्टन्ट’ मात्र भएको बताएका छन् । भाइरल मेसेजमा नेपाल राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकको सिस्टम ह्याक भएको दाबी गरिएको छ ।

त्यस्तै एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम समेत उक्त मेसेजमा देखिन्छ । यस किसिमको ‘थ्रेट’ सबैको ध्यान खिच्नका लागि मात्रै हुने साइबर सुरक्षा विज्ञ सचिन ठकुरीको विश्लेषण छ ।

‘ह्याक नै गर्ने नियत हो भने यसरी धम्की दिने कुरा हुँदैन थियो होला,’ उनी भन्छन्, ‘धम्कीबाट राष्ट्र बैंक र अन्य बैंकहरू अनावश्यक रुपमा त्रसित मात्र भएको जस्तो लाग्छ ।’ ‘थ्रेट’ आएकै भरमा यतिसाह्रो चर्चाको विषय बन्नु र त्रसित हुनुको पछाडि उनी यस्तो अवस्था कसरी पकडमा राख्ने भन्नेमा स्पष्ट योजना नहुनुलाई जिम्मेवार ठान्छन् ।

‘कम्प्रोमाइज भए/नभएको भनेर कसरी पुष्टि गर्ने भन्ने जानकारी नै नभएको जस्तो स्थिति देखियो,’ उनी अगाडि भन्छन्, ‘यस्तो अवस्थामा इन्डिकेसन अफ कम्प्रोमाइज चेक गरेर सेफ साइडमा बस्नुपर्ने हुन्छ । तर यहाँ त थ्रेट सर्कुलेसन मात्र भएको देखियो ।’

‘थ्रेट’ कुनै निश्चित बैंकलाई मात्र आएको नभएर राष्ट्र बैंक सहित करिब डेढ दर्जन बैंकमाथिको हो । यस्तो अवस्थालाई राष्ट्र बैंकले नै ह्याण्डल गर्नुपर्ने उनको बुझाई छ । ‘तर आवश्यक किसिमको सक्रियता देखिएन, सायद हाम्रो अहिलेको संयन्त्र नै अपर्याप्त भएर होला । स्पष्ट योजना र प्रकृया भइदिएको भए यो सबै विषय स्पष्ट भएर ढुक्क हुने अवस्था बनिसक्थ्यो ।’  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५