close

‘पेगासस’बाट ३ वर्षदेखि टेलिग्राम संस्थापकको जासुसी

टेकपाना टेकपाना

साउन ८, २०७८ १४:४६

‘पेगासस’बाट ३ वर्षदेखि टेलिग्राम संस्थापकको जासुसी

काठमाडौं । एनएसओ समूहद्धारा बनाइएको पेगासस स्पाइवेयरको सूचीमा टेलिग्रामका सीईओ पावेल डुरोभको नाम पनि सामेल भएको पाइएको छ । ह्याक गर्नै नमिल्ने एप विकास गर्ने व्यक्तिको रुपमा चिनिएको डुरोभ पनि पेगाससकाे निशानामा परेका हुन् ।

३६ वर्षीय डुरोभले विकास गरेको म्यासेजिङ एप टेलिग्राममा इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू गरिएकाे छ, जसमा प्रयोगकर्ताले आफ्नो छुट्टै च्यानल क्रिएट गरेर सूचना आदान-प्रदान गर्न पनि सक्छन् ।

तर पछिल्लाे समयमा सरकारको आँखा छलेर गैरकानूनी काम गर्ने अपराधी, आन्दोलनकारी तथा आतंककारीको बीचमा यो एप चर्चित रहेको पाइएको छ ।

पछिल्ला केही वर्षमा डुरोभले आफ्ना अन्य प्रतिस्पर्धी एपहरूको सुरक्षाको विषयमा प्रश्न उठाउँदै ह्वाट्सएपलाई त झन् प्रयोग गर्न नै खतरनाक रहेको उनले अभिव्यक्ति दिएका थिए । प्रयोगकर्ताको गोपनीयताको सुरक्षाको हिसाबले टेलिग्राम एकदमै सुरक्षित रहेको उनले दाबी पनि गरेका थिए । 

रिपोर्ट अनुसार डुरोभको मोबाइल फरेन्सिक अनुसन्धानमा नगएसम्म उनको मोबाइलमा कुनै प्रकारको मालवेयर इन्स्टल गरिएको वा छैन भन्ने विषयमा केही जानकारी आउने छैन ।

एनएसओ श्रोतले भने पेगासस प्रयोग गर्ने कुनै पनि सरकारले डुरोभलाई निशानामा नराखेको कुरा बताएकाे छ । पेगाससको सूचीमा कसैको नम्बर हुँदैमा सो व्यक्ति पेगासस सर्भेलियन्समा परेको भनेर भन्न नसकिने कम्पनीको भनाइ रहेको छ ।

दि गार्डियनले डुरोभको फोन पेगाससको निशानामा परेको हो वा स्पाइवेयरको अन्य कुनै गतिविधि सँग सम्बन्धित हो भनेर बुझ्न खोज्दा एनएसओका प्रवक्ताले अप्रत्यक्ष रुपमा जवाफ दिएको जनाइएको छ । 

दि गार्डियनको रिपोर्ट अनुसार एनएसओले भनेको थियो, ‘पेगाससको सूचीमा नाम भएको हुँदैमा सो व्यक्ति पेगाससको निशानामा रहेको वा निशानामा रहन सक्ने भन्ने भनाइ गलत हो ।’

केही विषयमा कम्पनीले प्रतिक्रिया नदिनुको अर्थ कम्पनीले सो आरोप दाबी गरेको हो भन्ने कुरा गलत हो भनेर एनएसओका वकिलले बताएका छन् ।

डुरोभको बेलायतको मोबाइल नम्बर. जुन उनले आफ्नो टेलिग्राम व्यक्तिगत अकाउन्टमा लिंक गरेका थिए, सन् २०१८ मा नै पेगाससको सूचीमा देखा परेको थियो । यो विषयमा डुरोभ र टेलिग्राम दुवैले कुनै पनि आधिकारिक धारणा भने दिएको छैनन् ।

डुरोभले सन् २०१३ मा रसिया छोडेका थिए र देशको सामाजिक सुरक्षा सेवासँग सम्बन्धित उनका थुप्रै विवाद पनि थिए । टेलिग्रामले बेलारुस, हङकङ र इरानमा भएका विभिन्न आन्दोलनमा पनि मुख्य भूमिका खेलेको थियो ।

यद्यपि सार्वजनिक भएको सूचीअनुसार डुरोभ यूएईको नजरमा हुन सक्ने बताइएको छ ।

यसैबीच डुरोभले आफ्नो निजी टेलिग्राम च्यानलमा लामो नोट लेख्दै कम्तिमा २०१८ देखि आफ्नो एउटा नम्बर पेगासस स्पाईवेयरको लिस्टमा रहेको जानकारी आफूलाई भएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५