close

लोकसको आयोजनामा क्वान्टम कम्प्युटिङ वर्कशप सुरु

टेकपाना टेकपाना

साउन ९, २०७८ १२:५९

लोकसको आयोजनामा क्वान्टम कम्प्युटिङ वर्कशप सुरु

काठमाडौं । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त पहलमा सञ्चालमा ल्याएको संस्था लोकसले ‘क्वान्टम कम्प्युटिङ वर्कशप’ सुरू गरेकाे छ । सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेको ‘क्वान्टम कम्प्युटर’ माथिको कार्यशाला आउँदो शनिबारदेखि सात दिनसम्म सञ्चालन हुनेछ ।

‘एसोसियसन अफ नेपाली फिजिसिस्ट इन अमेरिका’ र ‘क्वान्टम एनालिटिक्स’सँगको सहकार्यमा सुरू भएकाे वर्कशपमा क्वान्टम कम्प्युटिङको सैद्धान्तिक विषयका साथै पाइथनमा समेत छलफल हुने जनाइएको छ ।

त्यस्तै ‘क्वान्टम टेलिपोर्सन’ र ‘क्वान्टम इन्टेङ्गलमेन्ट’ को विषयमा समेत गहन बहस हुने यो कार्यक्रममा यस क्षेत्रका विज्ञहरूको उपस्थिति रहने आयोजकले जनाएको  छ । कार्यक्रममा शनिबारकाे छलफल पाइथनमा केन्द्रित रहेकाे छ ।

जसमा भौतिक शास्त्रमा स्नातकोत्तर गरेका अमन गानेजुको प्रस्तुति रहने छ । उनले जुपिटर नोटबुकसँग अभ्यस्त हुने विषयमा जानकारी दिनेछन् ।

साथमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा सिस्टम एनालिस्टको रुपमा कार्यरत शोभित भारीले सहभागीहरूको जिज्ञासा एवम् समस्या समाधानमा सहयोग गर्ने बताइएको छ । यसैगरी दोस्रो दिनको कार्यक्रम एकै पटक सोमबार मात्र आयोजना हुनेछ ।

आयोजकका अनुसार दोस्रो दिनको कार्यक्रमबाट वर्कशपको मुख्य विषयमा प्रवेश गरिनेछ । जसमा ‘क्वान्टम कम्प्युटिङ’ लगायतका विषयमा छलफल हुनेछ ।

कम्प्युटेशनल फिजिसिस्ट डाक्टर दिवाकर सिग्देलको प्रस्तुति रहने उक्त सेसनमा क्वान्टम, क्युबिट्स, ब्लच स्पेयर लगायतका विषयमा जानकारी दिइनेछ । त्यसका साथै कार्यक्रममा युनाइटेड नेसन कर्पोरेसनमा ल्याब कोअडिनेटरका रुपमा कार्यरत डाक्टर श्रीकृष्ण भट्टराईको समेत सहभागिता रहनेछ ।

उनले सहभागीहरूलाई इन्टेङ्गलमेन्ट, सुपर पोजिसन, टेलिपोर्सन लगायतका विषयमा जानकारी दिनेछन् । साथै क्वान्टम एल्गोरिदमको विषयमा समेत उनले प्रकाश पार्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा मार्गदर्शकको रुपमा युर्निभर्सिटी अफ लुजियानामा रिसर्चरको रुपमा कार्यरत डाक्टर पुरुषोत्तम सिग्देलको समेत उपस्थिति रहने छ । कार्यक्रमबाट क्वान्टम कम्प्युटिङको विषय सम्बन्धी चासो सम्बोधन हुनुका साथै आगामी दिनमा यस क्षेत्रमा मार्ग दर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लोकसका अनुसार कार्यक्रममा क्वान्टम कम्प्युटिङको विषयमा रुचि राख्ने सबैले सहभागिता जनाउन सक्नेछन् । त्यसका लागि यहाँ क्लिक गरी रजिष्ट्रेसन गर्नुपर्नेछ । कार्यक्रमको बारेमा थप बुझ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५