close

स्मार्टपालिका र कारखानाबीच सहकार्य, हरेक स्थानीय तहमा वैज्ञानिक शिक्षा प्रवर्द्धन गरिने

टेकपाना टेकपाना

साउन ९, २०७८ १४:३८

स्मार्टपालिका र कारखानाबीच सहकार्य, हरेक स्थानीय तहमा वैज्ञानिक शिक्षा प्रवर्द्धन गरिने

काठमाडौं । स्थानीय निकायलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ प्रविधि उपलब्ध गराउँदै आएको स्मार्टपालिका र अनुभवमा आधारित वैज्ञानिक शिक्षामा काम गर्दै आएको कारखाना एसियाबीच सहकार्य भएको छ । अब यी दुवै संस्था अब हरेक पालिकामा सँगसँगै यात्रा गर्ने भएका छन् ।

स्मार्टपालिकाले सूचना प्रविधिमा पँहुच पुर्‍याउँदै दैनिक सेवा प्रवाह घरबाटै गर्ने व्यवस्था ल्याइरहेकाे छ । कर, राजस्व तथा अन्य शुल्क डिजिटल रुपमा भुक्तानी गर्न मिल्नेसम्मका विद्युतीय डिजिटल सुशासन प्रणालीहरु विकास गरेको छ । उक्त प्रणाली हालसम्म देशका एक सयभन्दा बढी स्थानीय तहमा उपलब्ध भइसकेको छ ।

यसरी विभिन्न प्रणालीका साथ स्थानीय तहमा पुगेको स्मार्ट पालिकाले अब व्यवहारिक र अनुभवमा आधारित शिक्षालाई पनि सँगै अघि बढाउने भएको छ । सेल एप प्रालि, स्मार्टपालिका तथा कारखाना एसियाको संयुक्त प्रयासमा अब परम्परागत शिक्षालाई प्रयोगात्मक शिक्षामा रूपान्तरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट यसको सुरुवात भएको हो ।

कारखानले विगत केही वर्षदेखि वैज्ञानिक शिक्षालाई प्रवर्द्धन गर्दै प्रयोगात्मक सिकाइ प्रणाली विकास गर्नका लागि विभिन्न विद्यालय, कलेज लगायत शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । सोही सिपलाई स्थानीय तहसम्म पुर्‍याउने गरी स्मार्टपालिकासँग सहकार्य भएको हो ।

उक्त कार्यक्रममा कारखानाका सीईओ पवित्रबहादुर गौतमले २१औं शताब्दीका सीपहरुलाई व्यवहारिक र प्रयोगात्मक शिक्षासहित जिम्मेवार डिजिटल नागरिक बनाउँदै विज्ञान, प्रविधि र नवप्रवर्तनसहितको उद्यमशील सोचका साथ स्थानीय तहमा सिर्जनात्मक कार्यहरु गर्न कारखाना तत्पर रहेको बताए ।

त्यस्तै सेलएपका सीईओ मनोज भट्टराईले यस किसिमको सामाजिक रूपान्तरणमा भूमिका खेल्न सेलएप र स्मार्टपालिका सदैव सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५