close

फुडमाण्डुमा ईसेवामार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

साउन १०, २०७८ १५:११

फुडमाण्डुमा ईसेवामार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु र नेपालको अग्रणी मोबाइल वालेट ईसेवाबीच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीबीचको यस समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताले मोबाइल वालेट ईसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् ।

एक कार्यक्रमका बीच फुडमाण्डु र ईसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । सम्झौतासँगै​ ईसेवाका प्रयोगकर्तालाई थप सुविधा दिइनेछ भने फुडमाण्डुका प्रयोगकर्ताले थप भुक्तानीको माध्यम उपयोग गर्नसक्ने छन् ।

फुडमाण्डुमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकको रूचि बढिरहेको बेलामा ईसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए ।

उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको ईसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौं । यसले अब ग्राहकलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिने छ ।’

उनले अगाडि भने, ‘ईसेवाको वृहत नेटवर्कमा भएका ग्राहकले सजिलै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सक्नेछन् ।’

सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकलाई सजिलो हुने अपेक्षा गरिएको छ । ईसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए ।

उनले भने, ‘कोरोना भाइरसको महामारीमा मानिसले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको ईसेवा जोडिन पाउँदा खुशी भएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ ।’

ईसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डुले ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु. ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५