close

ब्रेभ ब्राउजरको आफ्नै सर्च इन्जिन सार्वजनिक, के गुगललाई टक्कर दिन सक्ला ?

टेकपाना टेकपाना

साउन १०, २०७८ १९:५८

ब्रेभ ब्राउजरको आफ्नै सर्च इन्जिन सार्वजनिक, के गुगललाई टक्कर दिन सक्ला ?

काठमाडौं । चर्चित एड ब्लकिङ ब्राउजर ‘ब्रेभ’ ले आफ्नो सर्च इन्जिनको पब्लिक बेटा भर्सन सार्वजनिक गरेको छ, जुन बजारमा गुगलको प्रतिस्पर्धीको रुपमा उभिनेछ । यो वर्षको अन्त्यतिर ब्रेभ ब्राउजरमा ‘ब्रेभ सर्च’ डिफल्ट हुनेछ ।

ब्रेभले अन्य सर्च इन्जिनहरूले जस्तो गुगलबाट नै भेटिएका विवरणलाई पुन: सम्प्रेषण गर्ने काम गर्दैन । ब्रेभले आफ्नो छुट्टै विवरण तयार गरिरहेको छ ।

यद्यपि हाललाई भने ब्रेभले फोटोहरूको खोजीमा बिङ र अन्य सामान्य सर्चहरूमा गुगलको नै झल्को आउने गरी तयार गरिएको छ । गुगलमा जस्तो ब्रेभमा विज्ञापनहरू हुने छैनन् । तर पछि गएर भने विज्ञापन सहितको निःशुल्क सर्च इन्जिन र विज्ञापन रहित सशुल्क सर्च इन्जिन उपलब्ध हुनेछ ।

गुगलको सर्च इन्जिनलाई चुनौती दिनु भनेको आफैमा एउटा चुनौती हो । स्ट्याट काउन्टरको एक सर्वेक्षणअनुसार करिब ९२ प्रतिशत खोजी गुगलमा नै हुने गरेको पाइएको छ । त्यस्तै तीन प्रतिशतभन्दा कम खोजी बिङमा हुने गरेको छ ।

प्रयोगकर्ताको सुरक्षालाई लिएर उठेको प्रश्न र विश्वका विभिन्न राज्यहरूको सरकारले उठाएको चिन्ताका कारण भने ब्रेभको लागि यो एउटा अवसर पनि हुन सक्छ ।

ब्रेभभन्दा अगाडि गुगलको प्रतिस्पर्धामा डकडकगो भन्ने व्यक्ति विशेषमा आधारित मोबाइल ब्राउजर पनि आएको थियो, जसको वार्षिक आम्दानी १० करोड अमेरिकी डलर पुगेको छ ।

अब चाँडै नै डकडकगोले आफ्नो डेस्कटप ब्राउजर पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । डकडकगो लगायत याहु, इकोसिया, स्टार्टपेज र क्वान्टजस्ता साना सर्च इन्जिनहरूले माइक्रोसफ्ट बिङ र गुगलसँग सहकार्य गरेर काम गरिरहेका छन् ।

ब्रेभले स्वत: रुपमा विज्ञापन रोक्ने र तपाईंको इन्टरनेट सर्चलाई ट्रयाक गर्ने वेबसाइटहरूलाई ब्लक गर्ने काम गर्छ । ट्रयाकर ब्लक गर्ने सुविधा एप्पल सफारी, मोजिल्ला फाइरफक्स तथा माइक्रोसफ्ट एजमा पनि छ ।

त्यस्तै गुगलले क्रोममा पनि यो सुविधाको लागि काम गरिरहेको छ । त्यस्तै ब्रेभ प्रयोगकर्ताले आफ्नै छुट्टै एड सिस्टम पनि प्रयोग गर्न सक्छन् ।

आफ्नो गोपनीयतासँग आधारित भएर प्रयोग गरेको विज्ञापन प्रणालीमार्फत प्रयोगकर्ताले ब्रेभको तर्फबाट उसको आफ्नै क्रिप्टोकरेन्सी “बेसिक अटेन्सन टोकन” प्राप्त गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१