close

१६ वर्षीय नेपाली किशोरले फेला पारे फेसबुकको सुरक्षा कमजोरी, रिवार्डमा ५ लाख नगद

टेकपाना टेकपाना

साउन १०, २०७८ २१:१२

१६ वर्षीय नेपाली किशोरले फेला पारे फेसबुकको सुरक्षा कमजोरी, रिवार्डमा ५ लाख नगद

काठमाडौं । एक जना १६ वर्षीय नेपाली किशोरले पछिल्लो दुई महिनाको अवधिमै फेसबुकबाट चार हजार १५० अमेरिकी डलर (करिब चार लाख ९३ हजार रुपैयाँ) पुरस्कार पाउन सफल भएका छन् । भक्तपुर स्थिति सैनिक आवासीय विद्यालयमा ११ कक्षामा अध्ययनरत विजय केसीले फेसबुकको सुरक्षा कमजोरी फेला पारे वापत रिवार्ड स्वरुप उक्त रकम हात पारेका हुन् ।

उनले गत १७ वैशाखमा फेसबुक ग्रुपमा पेजबाट जानुपर्ने कमेन्ट व्यक्तिगत प्रोफाइलबाट जाने ‘बग’ रिपोर्ट गरेका थिए । त्यस वापत उनलाई  फेसबुकले करिब डेढ महिना अघि १००० अमेरिकी डलर रिवार्ड दिएको थियो । यसैगरी सोही किसिमको समस्या ग्रुपमा आएका कमेन्टमा रिप्लाई दिँदा समेत थियो ।

त्यसलाई छुट्टै बगको रुपमा स्वीकार गर्दै फेसबुकले थप १०५० अमेरिकी डलर रिवार्ड दियो । फेसबुकले इन्स्टाग्राम र फेसबुक पेजलाई व्यवस्थापन गर्न फेसबुक बिजनेस स्विट एप नामक छुट्टै एप्लिकेसन समेत ल्याएको छ ।

उक्त एप्लिकेसनबाट शेयर गरिएको लिङ्कमा पेजबाट कमेन्ट गर्दा र रिप्लाई दिँदा समेत एड्मिन एक्सपोज (व्यक्तिगत प्रोफाइलबाट रिप्लाई जाने) समस्या केसीले भेट्टाएका थिए । ती दुवैलाई बेग्ला बेग्लै बगको रुपमा स्वीकार गरेको फेसबुकले समान १०५०/१०५० अमेरिकी डलर बग बाउन्टी उपलब्ध गराएको छ ।

हाल यी सबै बग फिक्स (समाधान) भइसकेका छन् । बग पत्ता लगाउने नेपाली किशोर विजय केसी कम्प्युटर साइन्सका विद्यार्थी पनि होइनन् । बायोलोजी विषय लिएर बढिरहेका उनी अहिले ११ कक्षाको परीक्षा कुरिरहेका छन् ।

आफूले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धि प्राविधिक ज्ञानको आधारमा नभई लजिकल तरिकाबाट उक्त ‘बग’ फेला पारेको उनी सुनाउँछन् । ‘केही महिना अघितिर टेकपानामा बग पत्ता लगाएर २० हजार डलर आम्दानी गरेको समाचार पढेको थिएँ,’ उनी भन्छन्, ‘त्यहीँबाट यो विषयमा अलिकति चासो बढेको थियो ।’

फेसबुकमा केसीले केही ग्रुप र पेज समेत चलाउँछन् । यस्तैमा एकदिन ग्रुपको पोस्टमा पेजबाट रिप्लाई लेख्दै थिए । रिप्लाई लेख्ने भागको सँगै बायाँतिर पेजको प्रोफाइल देखिइरहेको थियो । यसको अर्थ रिप्लाई लेख्दा पेजकै नामबाट पोस्ट हुनुपर्ने हो ।

तर त्यहाँ उनको व्यक्तिगत प्रोफाइलबाट पोस्ट भइदियो । त्यसपछि उनले यो समस्या ‘बग’ भएको हुनसक्ने ठाने अनि फेसबुकमा रिपोर्ट गरे । ‘यत्ति थाहा पाउन कुनै प्राविधिक जानकारी वा पृष्ठभूमि हुन आवश्यक पनि थिएन,’ उनले भने, ‘यो त केवल लजिकल बग थियो ।

रिपोर्ट गरेपछि फेसबुकले समेत त्यसलाई स्वीकार गर्‍यो । त्यही बग अन्य ठाउँमा पनि थियो । ती सबै बगको विषयमा छुट्टाछुट्टै रिपोर्ट गरेको थिएँ । अहिले सबै बग भ्यालिड भएर फेसबुकबाट रिवार्ड पनि आएको छ ।’ आफूले पैसाका लागि भन्दा पनि फेसबुकको ‘हल अफ फेम’मा (फेसबुकलाई सुरक्षित पार्न सघाउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई सम्मान स्वरुप दिइने पहिचान) आफ्नो नाम होस् भन्ने चाहेर रिपोर्ट गरेको उनको बताउँछन् ।

नभन्दै केसी अहिले फेसबुकको हल अफ फेम (ह्वाइट ह्याट) को ६८ नम्बरमा स्थान बनाउन सफल भएका छन् । ख्यालख्यालमै बगबाउन्टीमा लागेका उनको रुची पछिल्लो समय सूचना प्रविधितिर मोडिन थालेको छ ।

त्यसैले त उनी अब प्लस टुपछि आईटीको अध्ययनसँगै यसै क्षेत्रमा करियर बनाउने  सपना देखिरहेका छन् । रामेछाप खाँडादेवी नगरपालिका स्थायी घर भएका केसी हाल काठमाडौं कीर्तिपुरमा बस्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१