close

जोखिमयुक्त एपमाथि प्रतिबन्ध लगाउन चीनले सुरू गर्‍यो ६ महिने अभियान

टेकपाना टेकपाना

साउन ११, २०७८ १८:५९

जोखिमयुक्त एपमाथि प्रतिबन्ध लगाउन चीनले सुरू गर्‍यो ६ महिने अभियान

काठमाडौं । इन्टरनेटका एप्लिकेसनले उपभोक्ता अधिकार र साइबर सुरक्षा उल्लंघन गर्नुका साथै बजार व्यवस्थापन बिगारेको भन्दै चिनियाँ उद्योग मन्त्रालयले त्यस्ता एपमाथि नियमन गर्न ६ महिने अभियान सुरू गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले एपहरूले जोखिमयुक्त समस्या समाधान गर्नका लागि निर्देशन दिएको छ । त्यस्तै एपमा देखिने कुनै पनि प्रकारको पपअप विज्ञापनहरू, जसले प्रयोगकर्तालाई गलत निर्देशन दिन्छ वा कुनै सेवा प्रयोग गर्नका लागि जबरजस्ती गर्छ भने त्यसलाई हटाउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयको यो निर्देशन इन्टरनेट उद्योगलाई प्रतिबन्ध लगाउने प्रयासको एक पाटो हो । योभन्दा अगाडि पनि चिनियाँ सरकारले देशको ठूला ठूला टेक कम्पनीहरूलाई कारबाही गरी जरिवाना तिराएको छ । गत शुक्रबार एक टेलिकन्फ्रेन्समार्फत चीनले यो अभियान सुरू गरेको हो ।

आइबार मात्रै मन्त्रालयले सुधार गर्न आवश्यक दर्जनौं एपहरूको १५औँ सूची जारी गरेको छ । पपअप विन्डोलाई एक मुख्य समस्या बताउदै मन्त्रालयले पपअप विन्डोमा भएको क्लोज बटनले सो विन्डो बन्द गर्ने भन्दा पनि अर्को लिङ्कमा लगेर प्रयोगकर्तालाई झुकाएको बताएका छन् ।

योसँगै प्रयोगकर्ताको डेटा सुरक्षाको कमी हुनु, संवेदनशील सूचना प्रसारण गर्नुपूर्व राम्रोसँग इन्क्रिप्ट गर्न नसक्नु लगायत डेटा तेस्रो पक्षलाई दिने बेलामा प्रयोगकर्ता अनुमति नलिनु जस्ता गम्भीर गतिविधिलाई नियमन गर्नका लागि यो अभियान सुरू गरेको मन्त्रालयको भनाइ छ ।

यस्ता गतिविधिहरूलाई प्रशय दिने इन्टरनेट कम्पनीहरूलाई प्रतिबन्ध पनि लगाउन सकिने मन्त्रालयले जनाएको छ । डेटा संकलन, प्रसारण र स्टोरेजको राम्रो व्यवस्थापन गर्न नसकेका कम्पनीहरू मन्त्रालयको नजरमा रहेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१