close

गुगलको १५ जीबी फ्री स्टोरेजलाई व्यवस्थापन गर्न जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

साउन ११, २०७८ २०:४३

गुगलको १५ जीबी फ्री स्टोरेजलाई व्यवस्थापन गर्न जान्नैपर्ने कुरा

काठमाडौं । गुगलमा आफ्नो अकाउन्ट खोल्ने बित्तिकै यसले तपाईंलाई क्लाउड स्टोरेजमा १५ जीबीको फ्री स्पेस उपलब्ध गराउँछ । सो फ्री स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा प्रयोग हुन्छ ।

योभन्दा अगाडि गुगलले अनलिमिटेड स्टोरेज दिएको थियो । तर जुन १ तारिखदेखि भने फ्री स्टोरेजलाई १५ जीबीमा सीमित गरेर सोभन्दा बढी प्रयोगको लागि स्टोरेज किन्नुपर्ने व्यवस्था ल्याएको छ । १५ जीबीभन्दा बढी स्टोरेज प्रयोग गर्नको लागि १०० जीबी स्टोरेजको प्रतिमहिना १.९९ अमेरिकी डलरदेखि सुरु हुन्छ ।

यदि तपाईंलाई धेरै स्टोरेजको आवश्यकता छैन भने १५ जीबी स्टोरेजलाई नै कसरी व्यवस्थापन गर्ने त ? तपाईंले आफ्नो जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको प्रयोगमा सामान्य परिवर्तन गर्दा पनि तपाईंले १५ जीबीको स्टोरेज आरामले प्रयोग गर्न सक्नुहुन्छ ।

सबै भन्दा सुरुमा आफ्नो स्टोरेज कति बाँकी छ भनेर पत्ता लगाउनुहोस् । त्यसका लागि आफ्नो गुगल अकाउन्टमा गएर तपाईंले सजिलै आफ्नो प्रयोग भएको र बाँकी रहेको स्टोरेज पत्ता लगाउन सक्नुहुन्छ ।

जिमेल 

हुन त ईमेलहरूले त्यति धेरै स्पेस खाँदैन तर यदि तपाईं लामो समयदेखि जिमेल प्रयोग गरिरहनु भएको छ भने तपाईंका पुराना ईमेलहरूले स्पेस लिइरहेको पनि हुन सक्छ । त्यसैले तपाईंले आफ्नो इनबक्सलाई पनि समय समयमा हेर्न आवश्यक छ ताकि तपाईंलाई आवश्यक नभएको ईमेलले जिमेलको स्पेस नलियाेस् ।

यसका लागि जिमेलको सर्च बक्समा गएर “older_than:1y” टाइप गर्नुहोस् । यसले तपाईंको विगत एक वर्ष पुरानो ईमेलहरू टपमा ल्याएर राखिदिन्छ ।

त्यस्तै हालसालै केही महिनाअघिको मात्र ईमेल चाहिएको हो भने “older_than:3m” अथवा आफूलाई आवश्यक महिनाको अङ्क राखेर त्यति महिनाको ईंमेल टपमा देख्न सकिन्छ । यसरी पुराना ईमेलहरू खोजेर आवश्यक नभएको ईमेल डिलिट गरेर पनि स्टोरेज बढाउन सकिन्छ । 

त्यस्तै तपाईंको ईमेलमा भएको अट्याचमेन्टले पनि तपाईंको स्पेस लिइरहेको हुन्छ । यसको लागि सर्च बक्समा गएर “has:attachment larger:10m” टाइप गर्नुहोस् ।

यसले तपाईंको ईमेलमा भएको १० मेगाबाइट भन्दा ठूलो अट्याचमेन्ट इनबक्सको टपमा ल्याइदिन्छ र तपाईं आफ्नो आवश्यकता अनुसार ठूलो अट्याचमेन्टलाई डिलिट गर्नसक्नुहुन्छ ।

इनबक्समा भएको अनावश्यक ईमेलहरू हटाउनको लागि तपाईंले जिमेलको लेबल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गुगलको एल्गोरिदमलाई विश्वास गरेर अगाडि बढ्ने हो भने “label:unimportant” टाइप गरेपछि तपाईंले ओपन नगर्नुभएको र लामो समय सम्म वास्ता नगर्नु भएको ईमेलहरू टप आउछ । त्यसपछि तपाईंले ती ईमेलहरू एकमुष्ट रुपमा अथवा आफ्नो आवश्यकता अनुसार हेरेर डिलिट गर्न सक्नुहुन्छ । 

बेवास्ता गर्न नहुने अर्को कुरा भनेको स्प्याम ईमेलहरू पनि हो जसले तपाईंको स्टोरेज लिइरहेको हुन्छ । हुन त स्प्याममा भएका ईमेलहरू ३० दिन पछि आफै हटेर जान्छ ।

तर यदि विगत एक महिनामा तपाईंको स्प्याममा धेरै इमेलहरू बसेको छ भने यसले पनि तपाईंको स्टोरेज लिइरहेको हुन्छ । त्यसैले यसलाई पनि आफैले डिलिट गर्नु उचित हुन्छ ।

गुगल ड्राइभ

गुगल ड्राइभमा भएको डाटाहरू चेक गर्नको लागि ड्राइभको देब्रेपट्टि भएको स्टोरेज लिङ्कमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंको ड्राइभमा भएको सबैभन्दा ठूलो फाइलदेखि क्रमबद्ध रुपमा साइज अनुसारको फाइलहरूको एउटा सूची आउँछ ।

त्यहाँबाट तपाईंले आफूलाई आवश्यक नभएका फाइल छानेर स्टोरेज खाली गर्न सक्नुहुन्छ । आफूले चाहे अनुसार एउटा एउटा छानेर धेरै वटा फाइल एकै पटक पनि हटाउन सक्नुहुन्छ ।

विन्डोजमा भए ctrl र म्याकमा भए cmd थिचेर धेरै वटा फाइल सेलेक्ट गरेर एकैपटक हटाउन सकिन्छ । तपाईंलाई आवश्यक नभएका अथवा एउटै फाइल दुईवटा छन् भने तपाईंले यसरी आफ्नो ड्राइभबाट हटाएर आफ्नो स्टोरेज बचाउन सक्नुहुन्छ ।

गुगल फोटो

आवश्यक नभएका फाइलहरू हटाउने कुरामा अन्य एपभन्दा गुगल फोटो सक्रिय देखिन्छ । यसका लागि मोबाइलको गुगल फोटोमा जानुहोस् र स्क्रिनको तल दाहिनेपट्टि भएको ‘library क्लिक गर्नुहोस् । त्यहाँ गएर ‘utility’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ स्वत: रुपमा अनावश्यक फोटो तथा भिडिओहरू हटाउनको लागि सूचना आइरहेको हुन्छ । हल्लिएको अथवा नराम्रा आएका फोटोहरू त्यहाँ हटाउनको लागि सुझाव दिइएको हुन्छ । यसरी तपाईंले अनावश्यक फोटोहरू हटाउन सक्नुहुन्छ । अन्यथा तपाईं आफैंले हेरेर पनि फोटो तथा भिडिओ हटाउन सक्नुहुन्छ ।

त्यस्तै डेक्सटपको लागि भने वेबमा गुगल फोटो खोल्नुहोस् । स्क्रिनको दाहिनेपट्टि माथि भएको सेटिङको आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ गएर रिकभर स्टोरेजमा क्लिक गर्नुहोस् ।

यसले तपाईंको फोटोको साइजलाई १६ मेगापिक्सेल सम्मको बनाइदिन्छ भने भिडिओलाई १०८० पिक्सेलको बनाइदिन्छ । यसले तपाईंको स्टोरेज बढाउन मद्दत त गर्छ तर तपाईंले आफ्नो फोटो अनि भिडिओको ओरिजनल साइज भने फेरि पाउन सक्नुहुन्न ।

त्यस्तै गुगल फोटोमा भएको सर्च बक्समा पुराना मितिका फोटो तथा भिडिओ खोजेर पनि हटाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१