close

पेगासस स्पाइवेयर : आईफोनको सुरक्षामा एप्पलले ध्यान नदिएको आरोप

टेकपाना टेकपाना

साउन १२, २०७८ १३:१४

पेगासस स्पाइवेयर : आईफोनको सुरक्षामा एप्पलले ध्यान नदिएको आरोप

काठमाडौं । एनएसओ ग्रुपले निर्माण गरेको पेगासस स्पाइवेयर सफ्टवेयर यति बेला निकै चर्चामा छ । याे सफ्टवेयरमार्फत फोन ट्यापिङ र म्यासेज ह्याकिङ भइरहेकाे पाइएपछि कयौं ठूला हस्तीको निन्द्रा उडाइदिएको छ ।

विश्वका कयौं प्रतिष्ठित व्यक्तिहरूको फोन ट्याप गरिएको र उनीहरूको ह्वाट्सएप म्यासेज ह्याक भएकाे रिपाेर्ट केही दिनअघि सार्वजनिक भएकाे थियाे । जसमा सरकारका मन्त्री, सर्वोच्च अदालतका न्यायाधीश समेत सामेल छन् ।

याे सफ्टवेयरमार्फत छिमेकी देश भारतका साथै नेपालका पनि केही व्यक्तिको फोन कल ट्यापिङ भएकाे पाइएकाे छ ।

यसैबीच हाल ह्वाट्सएपका सीईओ विल क्याथचार्टले आईफोनको सुरक्षामा एप्पलले ध्यान नदिएको आरोप लगाएका छन् ।

उनले अमेरिका र उसका सहयाेगी देशका उच्च पदाधिकारीहरू पेगाससमार्फत कल ट्यपिङमा भइरहेकाे बताए । उनले १४ सय ह्वाट्सएप प्रयोगकर्ता यसको टार्गेटमा रहेको उल्लेख गरे ।

यसअघि अघिल्लो सातामात्रै पेगासममार्फत पत्रकार, राजनीतिज्ञ र मानव अधिकारकर्मीको फोन ट्यापिङ गरिएको घटना १७ मिडिया संस्था र एम्नेस्टी इन्टरनेश्नलले गरेको अध्ययनले देखाएको थियो ।

उक्त अध्ययनमा पनि पेगाससबाट ह्वाट्सएपका १४ सय प्रयोगकर्तामाथि अट्याक भएकाे उल्लेख छ । यो विषयलाई लिएर ह्वाट्सएपले एनएसओ ग्रुपविरुद्ध मुद्दासमेत दायर गरेको छ ।

स्पाइवेयरकाे निशानामा पर्ने ह्वाट्सएप प्रयाेगकर्तामध्ये आईफोन चलाउने बढी रहेकाे भन्दै ह्वाट्सएप सीईओ क्याथचार्टले एप्पलले आइफोनको सुरक्षामा काम नगरेको गुनासाे गरेका छन् ।

पेगासस आखिर कस्तो सफ्टवेयर हो ? 

पेगासस सफ्टवेयर इजरायलको एनएसओ साइबर प्रविधि कम्पनीले बनाएको हो । यसको पूरा नाम निव, शलेव र ओमरी हो । यो कम्पनीका संस्थापकहरूको नाम हो । पेगासस एक प्रकारको स्पाइवेयर सफ्टवेयर हो । स्पाइवेयरको अर्थ जासूसी गर्ने सफ्टवेयर भन्ने हुन्छ ।

पेगाससलाई विश्वकै खतरनाक जासूसी सफ्टवेयर मानिन्छ । यो सफ्टवेयर अहिलेसम्म विकास भएका स्पाइवेयरमा सबैभन्दा शक्तिशाली हो । जसले एन्ड्रोइड र आईओएस दुवै प्रकारका फोनको जासूसी गर्न सक्छ ।

यसले एकै समयमा अर्बौं मोबाइलाई संक्रमित तुल्याउने क्षमता राख्छ । पेगासस सफ्टवेयरको प्रारम्भिक भर्सन अनुसन्धानकर्ताले सन् २०१६ मा पहिचान गरेका थिए । पेगासस प्रयोगकर्ताको जानकारी र अनुमति बिना नै मोबाइलमा इन्स्टल हुन सक्छ ।

एक पटक फोनमा इन्स्टल भइसकेपछि यसलाई सहजै हटाउन सकिँदैन । यो सफ्टवेयरले तपाईंको निजी जानकारीमाथि लगातार रुपमा २४ सै घण्टा निगरानी राख्न सक्छ । यसले पासवर्ड, कन्ट्याक्ट लिस्ट, क्यालेन्डर, मेसेज, माइक्रोफोन, क्यामेरा र अन्य मेसेजिङ एपको कलिङ लगायतका प्रायः सबै फिचरमाथि बारम्बार निगरानी राख्छ ।

पेगाससले प्रयोगकर्ताको जीपीएस लोकेसन समेत ट्र्याक गर्न सक्छ । यसले तपाईंको मोबाइलमा म्यासेज पठाउन र पाउन सक्छ । तपाईंको कल रेकर्ड गर्नेदेखि फोटो र भिडिओलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्छ ।

फोनको क्यामेराबाट गोप्य रुपमा तपाईंको भिडिओ रेकर्ड गर्न सक्छ । साथै मोबाइलको माइक्रोफोन प्रयोग गरेर तपाईंले गर्ने कुराकानी रेकर्ड गर्न सक्छ । पेगासस मार्फत प्रयोगकर्ताको फोन ह्याक गर्ने कयौं तरिकाहरु छन् ।

कतिपय समय ह्याकरले लिङ्कको सहयोग लिने गर्दछन् त कतिपय समय एप इन्स्टल गराइन्छ । बताइएअनुसार ह्वाट्सएपका लागि कलिङ फिचरको सहयोग लिने गरिन्छ । एक रिपोर्ट अनुसार ह्वाट्सएपमा केवल एउटा मिसकल गरेकै भरमा यो सफ्टवेयर इन्स्टल गराउन सकिन्छ ।

तर यस्ता आरोपको विषयमा एनएसओ ग्रुपले आफ्नो सफ्टवेयर केवल सरकारी उपयोगका लागि हुने गरेको बताउँदै आएको छ । एनएसओ ग्रुपले यो ह्याकिङ अथवा स्पाइवेयर विश्वभरका सरकारलाई बिक्री गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१