close

२० वर्षपछि नयाँ अवतारमा सार्वजनिक भयो नोकिया ६३१०

टेकपाना टेकपाना

साउन १२, २०७८ १२:१३

२० वर्षपछि नयाँ अवतारमा सार्वजनिक भयो नोकिया ६३१०

काठमाडौं । एचएमडी ग्लोबलले केही वर्षअघि नोकिया ब्राण्ड खरिद गरेको थियो । त्यससँगै कम्पनीले पुराना चर्चित फिचर फोन नयाँ स्वरूपमा सार्वजनिक गर्दै आएको छ । यसैक्रममा एचएमडी ग्लोबलले एकताका निकै लोकप्रिय रहेको नोकिया ६३१० फिचर फोनलाई नवीनतम फिचरसहित बजारमा ल्याएको छ ।

यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ ।

पुरानो फोनको स्पिकर डिजाइनलाई नयाँ स्वरुप दिइएको छ । साथै नयाँ भर्सनमा इयरपिसका लागि एउटा सामान्य तेर्छो स्लिट राखिएको छ । मोनोक्रोम ६ लाइन डिस्लेको ठाउँमा नोकिया ५३१० को नयाँ भर्सनमा कर्भ्ड कलर डिस्प्ले राखिएको छ ।

जुन पुरानो फोनको तुलनामा ठूलो छ । नयाँ आएको फोनमा पछाडि भागमा क्यामेरा समेत थपिएको छ । नोकिया ६३१० को नयाँ भेरियन्टलाई हाल युरोपियन बजारका लागि उपलब्ध गराइएको छ ।

नोकिया मोबाइलको आधिकारिक वेबसाइटमा यो फोनको मूल्य ५९.९० युरो (करिब आठ हजार ३९२ रुपैयाँ) राखिएको छ । नेपाल सहितका अन्य बजारमा नोकिया ६३१० कहिलेसम्म सार्वजनिक हुन्छ, अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।

यस्तो छ स्पेसिफिकेसन

यो फोनको स्पेसिफिकेसनको कुरा गर्ने हो भने नोकिया ६३१० म २.८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा यूएनआईएसओसी ६५३१ एफ प्रोसेसर, आठ एमबी र्‍याम तथा १६ एमबी इनब्युल्ट स्टोरेज राखिएको छ ।

सिरिज ३० प्लस (एस ३० प्लस) अपरेटिङ सिस्टममा रन हुने यो फोनमा आइकन पहिलेभन्दा ठूला आकारका छन् । जसले गर्दा पढ्न र प्रयोग गर्न अझ सहज लाग्छ । पढ्ने र प्रयोग गर्ने सहजताका लागि मेनु जुम गर्ने सुविधा पनि यसमा छ ।

फोनमा एक्सेसिबिलिटी मोड पनि दिइएको छ, जसले मेनुलाई अझ साधारण बनाउँछ । नोकिया ६३१० मा ०.३ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । जसमा एलईडी फ्ल्याश समेत दिइएको छ ।

माइक्रो एसडी स्लट समेत राखिएको यो फोनमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । साथै फोनमा ब्लुटुथ ५.०, वाई-फाई, डुअल सिम सपोर्ट र एफएम रेडियो जस्ता फिचर समेत छन् । फोनमा ११५० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

जुन सन् २००१ मा आएको ब्याट्रीभन्दा केही ठूलो छ । नोकियाको दाबी अनुसार यसमा ७ घण्टाभन्दा धेरै टकटाइम पाउन सकिन्छ । साथै कयौं हप्तासम्म स्ट्याण्डबाई रहन सक्छ । यसमा राखिएको ब्याट्रीलाई फोनबाट झिक्न पनि मिल्छ ।

बक्समा फोनसँगै चार्जर र माइक्रो यूएसबी केबल समेत पाउन सकिन्छ । नोकियाले सार्वजनिक गरिएको नोकिया ६३१० को नयाँ भर्सनलाई तीन वटा कलर अप्सनमा पाउन सकिन्छ । तर हाललाई कालो र गाढा हरियो रङ्गमा मात्र फोन उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१