close

चिरायु राष्ट्रिय अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

टेकपाना टेकपाना

साउन १२, २०७८ १५:१७

चिरायु राष्ट्रिय अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएका छ । चिरायु राष्ट्रिय अस्पतालमा अग्रणी भुक्तानी सेवाप्रदायक ईसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

योसँगै अबदेखि चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ईसेवा मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ । अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ ।

कोजेन्ट हेल्थ र ईसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्यजस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१