close

किन जरुरी छ सबैले एआई प्रविधि सिक्न ?

हरिजङ्ग थापा हरिजङ्ग थापा

साउन १३, २०७८ ८:२६

किन जरुरी छ सबैले एआई प्रविधि सिक्न ?

नेपाली युवा वैज्ञानिक डा समीर मास्केले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्पनी फ्युज मसिन स्थापना गरेका छन् । आठ वर्ष अघि अमेरिकामा स्थापना भएको यो कम्पनीको शाखा नेपालमा समेत छ । नेपालमा हजारौं एआई इन्जिनियर उत्पादन गर्ने अभियानमा रहेका मास्केले पछिल्लो समय गैर प्राविधिक व्यक्तिलाई समेत एआई सिकाउने तालिम सञ्चालन  गर्दैछन् । वैज्ञानिक मास्केसँग एआईमा नेपालको अवस्था, मुलुकको विकासमा यसले पार्नसक्ने प्रभाव, फ्युज मसिनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि लगायतका विषयमा रहेर टेकपानाका लागि हरिजङ्ग थापाले गरेको कुराकानीको सम्पादित अंश ।

एआई या भनौं आर्टिफिसियल इन्टेलिजेन्सबाटै सुरु गरौं । यो विषयमा कुनै पनि जानकारी नभएका साधारण व्यक्तिहरूले समेत बुझ्ने भाषामा बताइदिनुस् न एआई भनेको के हो ? 

एआई भनेको यस्तो प्रकारको मसिन हो, जसमा अनेकौं प्रकारका इनपुट लिएर नतिजा दिन सक्छ । त्यसमा हामीले बोलेका वा देखेको कुरा पनि हुनसक्छन् । त्यस्ता डेटा लिएर यसले रिजनिङ गर्छ अनि त्यसै आधारमा आफैं निर्णय लिन सक्छ ।

यसरी मसिनले लिने निर्णयहरू मानिसलाई उपयोगी र सहयोगी हुन्छन् । यस किसिमको संयन्त्र भएको मसिनलाई नै एआई भनिन्छ । उदाहरणको रुपमा हामी सेल्फ ड्राइभिङ कार अर्थात स्वचालित कारलाई लिन सक्छौं ।

जसले इनपुटको रुपमा तस्वीर र भिडिओहरू लिन्छ । थुप्रै तस्वीर र भिडिओको रिजनिङ गरेर यसले रातो बत्ती रोकिनुपर्छ भनेर ठम्याउँछ र त्यसै आधारमा गाडी रोकिन्छ ।

तपाईंको यो कुरा पनि यो नवीनतम प्रविधिको क्षेत्र हो भन्ने त स्पष्ट भयो । तर तपाईंहरू त अहिले गैरप्राविधिकहरूलाई समेत यो विषय सिकाउने भन्दै ‘एआई टु गो’ नामक तालिम सञ्चालन गर्दै हुनुहुन्छ । के यो विषय अप्राविधिकहरूले समेत जान्न जरुरी छ र ? 

हामीले डेढदुई वर्ष अघि ‘एआई शिक्षा फर नेपाल’ कार्यक्रम सार्वजनिक गरेका थियौं । जसमार्फत देशका सबै कुनामा रहेका विद्यार्थीले एआई प्रविधि सिक्ने अवसर दिने उद्देश्य राखिएको थियो ।

त्यो कार्यक्रम प्राविधिक पृष्ठभूमि भएका तथा प्रविधि क्षेत्रमै लाग्न चाहने व्यक्तिहरूलाई लक्षित गरिएको  थियो । त्यो तालिम अहिले पनि सञ्चालनकै क्रममा छ । जसबाट अहिलेसम्म धेरैले एआई प्रविधि पढ्ने मौका पाएका छन् । नेपालमा व्यापक रुपमा एआई प्रविधि प्रयोगमा ल्याउने हो भने प्राविधिकसँगै अप्राविधिक अर्थात गैरप्राविधिक व्यक्तिले पनि यो विषय बुझ्न उत्तिकै जरुरी छ ।

एकदमै आधारभूत तहमा मोडल विकास गर्ने तहमा नभए पनि बैंकमा ‘लोन एप्लिकेसन’ कसरी अटोमेसन गर्ने र त्यसका लागि के गर्ने भन्ने बुझ्न बैंकका कर्मचारीहरूले यो विषय र यसको महत्व थाहा पाउनु पर्छ । यस्तै किसिमको आवश्यकतालाई मध्यनजर गरेरै हामीले अहिले यो ‘एआई टु गो’ कार्यक्रम ल्याएका हौं ।

यो तालिमबाट सहभागीहरूले अपेक्षाहरू के के राख्न सक्छन् ? 

यो तालिममा विद्यार्थी तथा अन्य सहभागीहरूले एआई भनेको के हो भन्ने विषयमा थाहा पाउन सक्छन् । यसको मुख्य जग भनेकै मसिन लर्निङ हो । यो के हो र कसरी काम गर्छ भन्ने विषय यो तालिममा सिकाउँछौं ।

त्यसबाहेक कम्प्युटर बिजनेस सिस्टम (सीबीएस) र नेचुरल ल्याङवज प्रोसेसिङ (एनएलपी) जस्ता विषयको आधारभूत ज्ञान समेत यो तालिमबाट अपेक्षा राख्न सकिन्छ । कम्प्युटर बिजनेस सिस्टमले कसरी काम गर्छ, कसरी बनेको हुन्छ भनेर थाहा पाउन सकिन्छ । नेचुरल ल्याङ्वेजमा आधारित भएर गुगल होम जस्ता एप्लिकेसनहरू बजारमा आएका छन् ।

यस्ता उपकरणले हामीले बोलेको वा लेखेको कुरा कसरी बुझ्छन् र निर्देशन अनुसार काम गर्छन् भन्ने कुरा पनि यसमा सिक्न पाइन्छ । अन्तिममा एआईको प्रभाव समाजमा कस्तो पर्छ भन्ने कुरा पनि छ । यसले रोजगार क्षेत्रमा कस्तो असर पार्छ, व्यक्तिको गोपनीयतामा असर पार्छ कि पार्दैन आदि विषय समेत यो तालिमका क्रममा चर्चा हुनेछ ।

यस किसिमको तालिम नेपालमा आवश्यक छ भन्ने कुरा चाहिँ कसरी अनुभूत गर्नुभयो ? 

तपाईंले केही रिपोर्टहरू पढ्नु भएकै होला । सन् २०३० सम्म एआई प्रविधिले विश्व अर्थतन्त्रमा ट्रिलियन डलरको प्रभाव पार्न सक्छ । यस किसिमको पूर्वानुमान ख्याल राखेर विभिन्न विकसित देशहरूले एआई प्रविधिलाई उच्च प्राथमिकतामा राखेर प्रयोग गर्न थालिसकेका छन् ।

हाम्रो जस्तो देशमा आवश्यक स्रोतसाधनको कमी छ । शिक्षाको अवसर पनि कम छ । यस्तो देशमा हामीले कसरी एआई प्रविधि ल्याउन र उपयोग गर्न सक्छौं, जसले गैर प्राविधिक व्यक्तिहरूले पनि यसको बारेमा जानकारी पाउन सकुन् ।

होटेलले कसरी आफ्नो मागको पूर्वानुमान गर्न सक्छन्, सिजन अनुसार कोठाको मूल्य निर्धारण कसरी गर्ने, ठूला ठूला खेतबाली भएको कृषि क्षेत्रमा कहाँ कीरा लाग्न सक्छ अथवा लागेको छ कसरी थाहा पाउने, ड्रोन प्रयोग गरेर त्यस्ता स्थानमा कसरी कीटनाशक औषधी प्रयोग गर्ने भन्ने विषयमा सम्बन्धित क्षेत्रले थाहा पाउनुपर्छ ।

बैंकमा लोन लिने ग्राहकको विगतको पृष्ठभूमि हेरेर निर्णय लिन सक्ने अवस्था बनोस् । व्यवसायीहरूले यस किसिमका महत्व बुझ्न सकुन् । त्यसो हुन सकेको अवस्थामा ट्रिलियन डलरको बजारबाट नेपालले पनि केही हदसम्म लाभ उठाउन सक्छ ।

तालिम सुरु हुन अब केही दिन मात्र बाँकी छ । कसरी सहभागी हुने अनि शुल्क कति लाग्छ, त्यो विषयमा पनि छोटकरीमा बताइदिनुहुन्छ कि ? 

अहिले धेरै जनाले साइनअप गरिसकेका छन् । हाम्रो वेबसाइट छ । त्यहाँ गएर साइनअप गरेर तालिमका लागि रजिष्ट्रेसन गर्न सकिन्छ । तालिमका लागि सात हजार रुपैयाँ शुल्क निर्धारण गरेका छौं । वेबसाइटबाटै अनलाइन भुक्तानी गर्न सकिन्छ ।

तालिम चाहिँ नेपाली वा अंग्रेजी, कुन भाषामा हुन्छ ? 

यो तालिममा प्रशिक्षकहरू सबै नेपाली नै हुन्छन् । तर गेस्ट लेक्चरर चाहिँ अमेरिकन समेत रहने कुरा छ । उनीहरूले अंग्रेजीमै पठाउँछन् । तर नेपाली इन्स्ट्रक्टरले भने सहभागीको मागअनुसार नेपाली वा अंग्रेजी जुनसुकै माध्यममा कक्षा लिन सक्छन् ।

करिब दुई वर्ष अघि सुरु भएको तपाईँहरूको एआई शिक्षा फर नेपाल नामक अर्को कार्यक्रमको अवस्था चाहिँ के छ ? 

एआई शिक्षा फर नेपाल क्याम्पेनमा हामीले स्कुल तथा कलेजसँग सहकार्य गरेका छौं । त्यसअनुरूप अहिले पनि थुप्रै स्थानमा पढाई भइरहेको छ । जसमा हेराल्ड कलेज, पाटन कलेज लगायत छन् । यो कार्यक्रममार्फत विद्यार्थीहरूले एआई शिक्षा पाइरहेका छन् ।

हामीले नै तयार पारेको पाठ्यसामग्री र जनशक्तिमा रहेर पढाइ भइरहेको छ । यो कार्यक्रमबाट सयौँ विद्यार्थीहरूले एआईको अध्ययन गर्न पाइरहेका छन् । त्यसैको दोस्रो कडीको रुपमा अहिलेको एआई टु गो तालिम ल्याएका हौं ।

सोसल मिडियादेखि मोबाइलको क्यामेरासम्म एआई प्रविधि प्रयोग भइरहेको छ । तर नेपालमा चाहिँ अहिले यसको प्रयोग कहाँ कसरी भइरहेको छ, अथवा यस क्षेत्रमा नेपालको अवस्था कस्तो पाउनु हुन्छ ? 

नेपालमा अझै त्यस्तो विधि एआईको प्रयोग भइसकेको छैन । स्क्रिनमा हेर्ने बित्तिकै फोन खुल्छ, त्यो एआईकै कारण सम्भव भएको हो । विदेशमा उत्पादन भएका उपकरण तथा फोनमा यो प्रविधि प्रयोगमा त छ ।

तर देशमै विभिन्न उद्योग क्षेत्रमा कसरी यसको प्रयोग गर्ने भन्नेमा चाहिँ आवश्यक काम भइसकेको छैन । कृषिदेखि बैंकिङ क्षेत्रसम्म यसको सम्भावना छ । औषधी गाउँ गाउँमा पुर्‍याउन एआईमा आधारित ड्रोन प्रयोग गर्न सकिन्छ ।

ग्रामीण दुर्गम क्षेत्रमा डाक्टरहरू हुँदैनन् । त्यस्ता ठाउँमा एक्सरे तथा सिटी स्क्यान हेरिदिने डाक्टर पाउन सकिन्न । यस्तोमा एआई प्रविधिमा आधारित मसिनले नै त्यस्ता कामहरू गरिदिन सक्छन् । त्यस्तै पर्यटन र उद्योग क्षेत्रमा पनि यो धेरै ठाउँमा उपयोग हुन सक्छ ।

सरकारले डिजिटल नेपाल बनाउने उद्देश्यका साथ अभियान चलाइरहेको छ । यसलाई चाहिँ कसरी लिन सकिन्छ ? 

डिजिटल नेपाल राम्रो उद्देश्य हो । सरकारले अग्रसरता लिएको यो फ्रेमवर्क मार्फत आठ क्षेत्रमा थुप्रै डिजिटलाइजेसन कार्यक्रम अगाडि बढाइएको छ । एआई प्रविधि उपयोग गर्न डेटा चाहिन्छ ।

कुनै पनि क्षेत्र डिजिटलाइज हुनुको अर्थ त्यहाँ डेटा संकलन हुनु हो ।  जहाँ डिजिटलाइज हुँदैन, त्यहाँ एआई प्रयोग गर्न सकिन्न । त्यसैले डिजिटल नेपाल र एआई सँगसँगै जाने विषय हुन जस्तो लाग्छ ।

एआई प्रविधि मानव जीवनको लागि चुनौति बन्ने सम्भावना चाहिँ कत्तिको छ, अनि यसलाई अवसरका रुपमा कसरी उपयोग गर्न सकिएला ?

कतिपयले यसलाई चुनौतीको रुपमा समेत व्याख्या गरिरहेको सुनिन्छ । लोन प्रोसेस अटोमेसन हुँदा त्यहाँ काम गर्ने कर्मचारीको रोजगारी गुम्ने तर्क गरिन्छ । एआईले रोजगारी नै प्रतिस्थापन गर्ने समय आउन अझै १०-२० वर्ष लाग्छ ।

अटोमेसन हुँदा त्यसै अनुसारका नयाँ नयाँ रोजगारीका क्षेत्र समेत सिर्जना हुँदै जान्छन् । यसले रोजगारीलाई पूर्ण रुपमा प्रतिस्थापन गर्ने भन्दा पनि मानिसलाई नै कसरी सहायता दिने भन्ने कुरामा अर्थ राख्छ । लोन अफिसरले २० ओटा लोन प्रोसेसर गर्ने ठाउँमा ३० ओटा सम्पन्न गर्न सक्छ । यस किसिमका सहजता एआईले दिने हो ।

एआईमा नेपालको अवस्था कत्तिको सन्तोषजनक पाउनु हुन्छ ? 

जेहोस् यहाँ काम हुँदैछ । विस्तारै विस्तारै धेरै जनाले एआईको बारेमा बुझ्दैछन् । यसबाट एक किसिमको उत्साहित हुने अवस्था पनि बन्दैछ । हामी पनि धेरैलाई यसको बारेमा शिक्षा दिन खोज्दैछौँ । धेरै कम्पनीले एआई प्रयोग गर्न खोजिरहेको देखिन्छ ।

युवाहरूले यो नयाँ प्रविधि सिक्न खोजिरहेका छन् । तर सरकारी तहमा जति मात्रामा एआई प्रयोगका लागि काम हुनुपर्ने हो, त्यति भइसकेको छैन होला । यसका लागि सुरुमा सबै सेवाहरू डिजिटाइज गर्नुपर्छ । त्यसो भएको अवस्थामा मात्रै एआई प्रविधि सहज रुपमा  लागू गर्न सकिन्छ ।

नेपालको विकासमा एआईको भूमिका कस्तो हुनसक्छ ? 

यसमा दुई/तीन कुरा आउँछन् । नेपालकै उद्योगका लागि कसरी एआई प्रडक्ट बनाउन सकिन्छ भनेर सोच्ने हो भने एआईले नेपालमा धेरै रूपान्तरण ल्याउन सक्छ । ड्रोनबाट औषधी पुर्‍याउन सकिन्छ । नेपालको धेरै भूभाग पहाडी र हिमाली क्षेत्रमा छ ।

हिँडेर जान ४ घण्टा लाग्न सक्छ । त्यस्ता स्थानमा अत्यावश्यक सामग्री पुर्‍याउने उत्पादनहरू हामीले तयार पार्न सक्छौं । यस्ता उत्पादनले नेपालको अर्थतन्त्रमा नै परिवर्तन ल्याइदिन सक्छन् ।

एआई ट्यालेन्ट तयार पार्न सकियो भने विश्वव्यापी रुपमा नै त्यो जनशक्तिले सेवा दिन सक्छ । त्यस्तो अवस्थामा एआई ट्यालेन्टका लागि नेपाल जानुपर्छ भन्ने सन्देश जानसक्छ । जसले गर्दा धेरै कम्पनी यस्तो सेवाका लागि नेपालमा ओइरिन सक्छन् ।

यसका लागि हाम्रो सेवा र उत्पादनको प्रयोगले समेत भूमिका राख्छ । यसमा नेपालको सम्भावना एकदमै राम्रो छ । मेरो र फ्युज मसिनको सपना पनि यही नै हो । विद्यार्थी तथा पेशाकर्मीले एआई सिकुन् । नेपालका लागि प्रडक्ट बनाऊन् र प्रयोगमा ल्याऊन् ।

नेपाल  विश्वभर एआई ट्यालेन्टको रुपमा चिनियोस् । हामी यो दिशामा अगाडि बढ्न ढिला भएको छैन । आठ वर्ष अघि यो प्रविधि यति लोकप्रिय भइसकेको थिएन । हामीले त्यतिखेरै यो क्षेत्रमा काम गर्न सुरु गरेका हौं ।  त्यसै अनुसार असर देखिन समेत थालिसक्यो ।

कोरोसेलाले  हालै नेपाललाई इमर्जिमङ कन्ट्री फर एआई ट्यालेन्ट रिपोर्टमा टप टेन मुलुकभित्र राखेको छ । यो हाम्रो लागि निकै उत्साहपूर्ण विषय हो । त्यसकारण नेपालमा एआई शिक्षाको असर देखिन थालिसकेको छ । हाम्रो एआई शिक्षा फर नेपाल अभियानले अझ अगाडि बढाएर यो र्‍याङ्किङमा पाँच-चार हुँदै पहिलो नम्बरमा पुर्‍याउन सकिन्छ कि !

नेपालमा एआई प्रविधि प्रयोग र प्रवर्द्धनको क्षेत्रमा सरकार र निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्ला ?

यसमा दुई वटा विषय सबैभन्दा महत्वपूर्ण छन् । सरकार र निजी क्षेत्रले सुरुमा डेटा संकलन भइरहेको छ कि छैन र छ भने पनि कसरी भइरहेको छ भन्ने कुराको विचार गर्नुपर्छ । किन भने डेटा नभई एआई सम्भव छैन ।

मैले अघि भने जस्तै लोनका लागि हिस्ट्रोरिकल डेटा चाहिन्छ । बैंकिङ क्षेत्रमा यस किसिमको डेटा यस अघि देखि नै छ । तर अरु क्षेत्रमा छैन । त्यसैले सरकारले निजी क्षेत्रलाई पनि यसमा प्रोत्साहन दिन र डेटाको महत्व बुझाउन जरुरी छ ।

अर्को कुरा ट्यालेन्ट र एजुकेसनको हो । अटोमेसन गर्ने सिस्टम बनाउन इन्जिनियर चाहिन्छन् । जुन क्षेत्रमा हामीले काम गरिरहेका छौं । 

डेटा सङ्कलनको कुरा हुँदै गर्दा त्यसको सुरक्षाको विषय पनि महत्वपूर्ण हुन्छ होला । यो विषयमा चाहिँ तपाईंको धारणा के छ ? 

डेटा व्यक्तिको सम्पत्ति हो । आफ्नो कुन डेटा कुन कम्पनीले कसरी प्रयोग गरिरहेको छ, त्यो सम्बन्धित व्यक्तिको चासो र सरोकारको विषय हो । सरकारले पनि डेटा गोपनीयताको क्षेत्रमा संवेदनशील हुन जरुरी छ ।

कम्पनीहरू आफैँले पनि नैतिकताको आधारमा डेटा कसरी प्रयोग गर्न सकिन्छ भनेर आन्तरिक विधि तय गर्नुपर्छ । धेरै मात्रामा डेटा संकलन हुनु आवश्यक र महत्वपूर्ण छ ।

साथसाथै कसरी संकलन र प्रयोग गर्ने भन्ने कुरामा कम्पनीहरू आफैं जिम्मेवार हुनुपर्छ । यसमा सरकारले पनि आवश्यक नीति तथा कानून तयार पार्नुपर्छ ।

फ्युज मसिन त अमेरिकामा स्थापना भएको एउटा अन्तर्राष्ट्रिय कम्पनी बनिसक्यो । अन्तर्राष्ट्रिय बजारमा कम्पनीले के गर्दैछ ? 

हाम्रा धेरै ग्राहक अमेरिकामै छन् । इन्टरप्राइज क्लाइन्टको रुपमा त्यहाँका  ठूला अस्पताल, गेमिङ कम्पनी, स्कुलकलेजलाई हामीले सेवा दिइरहेका छौं ।

नेपालमा भएका इन्जिनियरले बनाएका प्रडक्ट च्याटबट, फ्युज क्लासरूम दुवै फिचर स्कुल-कलेजलाई बिक्री गरिरहेका छौं । फ्युज क्लासरूम र एआई एजुकेसन प्रोग्राम हामीले डोमिनिक रिपब्लिक, दक्षिण अफ्रिका, रुवान्डा, अर्जेन्टिना र पेरुमा पनि उपलब्ध  गराइरहेका छौं ।

नेपालबाट अरु देशमा पनि एआई शिक्षा फैलाउन र त्यसको असर देखाउन पाउँदा एक हिसाबले गर्व पनि लाग्छ । यो क्षेत्रमा नेपालको सम्भावना एकदमै राम्रो छ । हामीकहाँ युवा जनसंख्या धेरै छ । जुन शिक्षा र अवसरको भोको छ ।

एआईले विश्व अर्थतन्त्रमै परिवर्तन ल्याउँदैछ । त्यसको सानो हिस्सा मात्रै भए पनि नेपालले पक्डेर लाभ लिन सक्नुपर्छ । त्यसलाई व्यापक रुपमा अगाडि बढाउन प्राविधिक र गैरप्राविधिक सबैले एआई शिक्षा लिन जरुरी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१