close

टुटल, पठाओजस्तै लुम्बिनी प्रदेशमा ‘सजिलो सवारी’

टेकपाना टेकपाना

साउन १३, २०७८ १०:४९

टुटल, पठाओजस्तै लुम्बिनी प्रदेशमा ‘सजिलो सवारी’

काठमाडौं । काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा लगभग परिचित बनिसकेको छ । विशेषगरी युवापुस्ता र प्रविधिप्रेमीले यस्ता सेवामा चासो देखाएका छन् । आफ्नो समयमा सहज रुपमा गन्तव्यमा पुग्न सकिने भएकाले प्रयाेगकर्ताका लागि टुटल, पठाओजस्ता प्लेटफर्ममा आकर्षण बढेको हो ।

त्यस्तै राइडिङ सेवामै फुल टाइम वा पार्ट टइम काम गरी जीविकोपार्जन गर्ने चालकहरूको संख्या पनि बढ्दो छ । नेपाली समाजका लागि नवीनतम अवधारणामा चलिरहेको यस्तो सेवा काठमाडौं उपत्यकाका शहरी बस्तीभन्दा बाहिर भने विस्तार हुन सकेको छैन ।

यसैबीच केही युवाले लुम्बिनी प्रदेशमा राइड शेयरिङ सेवा सुरू गरेका छन् । जसको नाम हो, ‘सजिलो सवारी’ । गत वैशाखदेखि औपचारिक रूपमा यसकाे सुरूवात गरिए पनि लगत्तै लकडाउन जारी भएका कारण याे सेवा सञ्चालमा आउन सकेको थिएन ।

हालै सजिलाे सवारीकाे सेवा पूर्णरूपमा सुचारू भएकाे छ । ‘राइड सेवाका लागि कम्पनीले दुई वटा मोबाइल एप्लिकेशन निर्माण गरेकाे छ । यसअन्तर्गत यात्रुका लागि ‘सजिलो सवारी’ र चालकका लागि ‘सजिलो सवारी चालक’ रहेको छ,’ सफल सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत राेशन खनालले भने ।

एन्ड्राेइड र आईओएसमा दुवै प्लेटफर्ममा उपलब्ध एप अंग्रेजी वा नेपाली भाषामा चलाउन सकिने बताउँदै उनले यसबाट सवारी साधन बोलाउन, चालकलाई यकिन गर्न र यात्रा तय गर्न सकिने जनाए ।

‘प्रयोगकर्ताले आफ्नो लोकेसन राखेर एपबाटै बाइक, ट्याक्सी वा कार बुक गर्न सक्छन् । माेबाइलकै स्क्रिनमा तिर्नुपर्ने रकम देखिन्छ । यात्रुले बुक गरेपछि चालककाे एपमा नोटिफिकेसनमा जान्छ,’ उनले भने ।

यात्रुले आफ्नो ठाउँबाट एपमा सवारी बुक गर्दा ५ किलोमिटर वरपर भएका चालकलाई म्यासेज पुग्ने र चालकले आफ्नो एपबाटै यात्रुलाई पिकअप गर्नसक्ने व्यवस्था मिलाइएको छ । त्यस्तै यात्रुलाई क्यास पेमेन्ट वा ईसेवाबाट अनलाइन पेमेन्ट गर्नसक्ने सुविधा छ ।

सजिलो सवारीमा शुल्क पनि किफायती नै राखिएको छ । ‘बाइकका लागि ४ किलोमिटरभित्र ५० रूपैयाँ राखिएकाे छ र त्यसबाट माथि प्रतिकिलोमिटर १० रूपैयाँ थपेका छौं । त्यस्तै ट्याक्सीमा ५ किलोमिटरभित्र साढे ४ सय रूपैयाँ र त्यसपछि प्रतिकिलोमिटर ४० रूपैयाँ थपेका छौं,’ उनले भने ।

तर पेट्राेलियम पदार्थकाे मूल्य बढेकाले सजिलाे सवारीकाे शुल्क पनि समायाेजन गर्नेतर्फ गृहकार्य भइरहेकाे उनले जनाए ।

हाल सजिलो सवारीको सेवा लुम्बिनी प्रदेशका लागि सीमित गरिएको छ । सुरूवाती चरणमा भएकाले कम्पनीले रूपेन्देहीमा यसको सेवा विस्तार गरिरहेको छ ।

‘मणिग्राममा मुख्य कार्यालय राखी काम गरिरहेका छौं । अहिले बुटवल र आसपासका ठाउँमा फोकस भएपनि विस्तारै प्रदेशका अन्य जिल्लामा सेवा विस्ता गर्नेछौं । लुम्बिनी प्रदेशमा सफलता पाएपछि अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना छ,’ खनालले भने ।

हाल याे एपमा बाइक, स्कुटी, ट्याक्सी सबै मिलाएर २०० जना जति चालक जाेडिएका छन् । त्यस्तै २ हजारभन्दा प्रयाेगकर्ताले एप डाउनलाेड गरेर सेवा लिएका छन् ।

नवीन सोचसहति व्यवसाय सुरु गरेपनि सजिलो सवारीका लागि धेरै चुनौती छन् । ‘विशेषगरी स्थानीयलाई यस्तो सेवाबारे बुझाउन नै गार्हाे परिरहेको छ । नयाँ सेवा भएकाले हत्तपत्त विश्वास नगर्ने प्रवृत्ति छ । यसकारण उल्लेख्य माग आउन सकिरहेकाे छैन । तर हामीले यसबारे सचेतनाका साथै अन्य गतिविधि गरिरहेका छौं,’ उनले भने ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भने यसले आफ्नो व्यवसाय बढ्ने अपेक्षा उनले राखेका छन् । ‘काठमाडौंमा पठाओ र टुटल अभ्यस्त भइरहेका मानिस यहाँ आउँदा सजिलो सवारी प्रयोग गर्ने विश्वास छ,’ उनले भने ।

७ युवा राेशन खनाल, नवीन राना मगर, रेशम कार्की, हिमाल पाैडेल, सुधन पाण्डे, विष्णु घिमिरे र खिमा अधिकारी मिलेर सफल सवारी सेवा प्रालि सञ्चालनमा ल्याएका हुन् । हालसम्म कम्पनीमा उनीहरूले १० देखि १५ लाखसम्म लगानी गरिसकेका छन् ।

स्थानीय स्तरमा फरक सोचसहित काम गरिरहेको सजिलो सवारीले भविष्यमा देशव्यापी सेवा दिने योजना ल्याएको छ । यसका लागि स्पस्ट योजना र उद्देश्यसहित आफूहरू काम गरिरहेको राेशनले बताए ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१