close

एक महिनाभित्र सबै सरकारी कार्यालय पूर्ण अटोमेसनमा जानुपर्ने, सचिवलाई सरकारी ईमेल अनिवार्य

टेकपाना टेकपाना

साउन १३, २०७८ १७:१०

एक महिनाभित्र सबै सरकारी कार्यालय पूर्ण अटोमेसनमा जानुपर्ने, सचिवलाई सरकारी ईमेल अनिवार्य

काठमाडौं । अबको एक महिनाभित्र सबै सरकारी कार्यालय पूर्ण स्वचालित (अटाेमेसन) हुनुपर्ने भएको छ । बुधबार नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सचिवस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा मुख्यसचिवले सबै सचिवहरूलाई अनिवार्य रुपमा सरकारी ईमेल प्रयोग गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै उनले सिंहदरबारभित्रका निकायहरूमा साउन मसान्तभित्र तथा बाहिरका निकाय तथा कार्यालयमा एक महिनाभित्र अफिस अटोमेशन लागू गर्नसमेत सबै सचिवहरूलाई निर्देशन दिएका छन् । यसका साथै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन अवस्था र सरकारी तथ्यांक तथा डाटावेसको सुरक्षा संवेदनशीलताको विषयमा समेत त्यहाँ छलफल भएको जनाइएको छ ।

समीक्षाकै क्रममा सिंहदरबार प्रवेशसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ । साथै विभिन्न मन्त्रालय तथा निकायहरूको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलापको मन्त्रालयगत प्रगति स्थितिका बारेमा समेत बैठकमा छलफल भएको उल्लेख गरिएको छ ।

भने, आव २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत अन्य प्राथमिकताप्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गर्नसमेत सचिवहरूलाई निर्देशन दिइएको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१