close

पेगासस सफ्टवेयर निर्माण गर्ने एनएसओ ग्रुपको मातृ कम्पनी लिलामीमा जाँदै

टेकपाना टेकपाना

साउन १४, २०७८ १८:२७

पेगासस सफ्टवेयर निर्माण गर्ने एनएसओ ग्रुपको मातृ कम्पनी लिलामीमा जाँदै

काठमाडौं । पेगासस सफ्टवेयर विवादको केन्द्रमा रहेको इजरायली कम्पनी एनएसओको मातृ कम्पनी लिलामीको प्रक्रियामा गएको स्रोतले जनाएको छ ।

एजेन्सी फ्रान्स प्रेस (एफपी) ले बुधबार प्रकाशन गरेको एक रिपोर्टका अनुसार सहसंस्थापकबीचको विवादका कारण लण्डनको नोभालपिना क्यापिटल कम्पनी खारेजीको संघारमा उभिएको हो । उक्त कम्पनी सन् २०१९ बाट सञ्चालनमा आएको थियो ।

विश्वकै खतरनाक स्पाइवेयर सफ्टवेयर पेगासस विवादमा आएको बेला कम्पनी लिलामीमा जानुले भविष्यमा एनएसओको स्वामित्व के हुन्छ भन्ने कुरा अन्यौलमा परेको छ ।

एस्टोनियाको क्यासिनो ग्रुप ओलम्पिक इन्टरटेन्मेन्ट र फ्रान्सको औषधि कम्पनी एक्स ओ पनि नोभालपिनाकै स्वामित्वमा छ ।

यसैबीच दि फाइनान्सियल टाइम्सको प्रतिवेदनअनुसार अगस्ट ६ भित्र नोभालपिनाका लगानीकर्ताले आफ्नो कोष लिलामीमा लगेर बेच्ने वा अन्य कुनै तेस्रो पक्षलाई सम्हाल्न दिने भनेर निर्णय लिनुपर्नेछ । त्यस्तै फ्रान्सको आर्थिक दैनिक लेस इकोसको एक प्रतिवेदनअनुसार संस्थापकहरूबीचको विवादलाई टुंग्याउनका लागि कम्पनी लिलामीमा जान लागेको हो ।

अन्तर्राराष्ट्रिय सञ्चार माध्यमहरूले पेगासस स्पाइवेयर नाम दिएको सफ्टवेयर मानव अधिकारकर्मी, पत्रकार लगायत नेताहरूको समेत मोबाइल ट्रयाक गरिरहेको भनेर समाचार प्रकाशन प्रसारण गरिरहेका छन् । जसका कारण एनएसओ ग्रुप विवादमा तानिएको हो ।

यद्यपि एनएसओले आफूले कुनै गलत काम नगरेको र सबै आरोपहरू झुटा हुन् भनेर दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुइल म्याक्रोनले पनि आफ्नो नाम पेगाससको पोटेन्सियल टार्गेटको सूचीमा परेपछि आफ्नो फोन परिवर्तन गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१