close

२३ करोड लगानी भित्र्याउने योजनामा ईकमर्स स्टार्टअप ‘अल्टिमोडिल’, यसरी हुँदैछ काम

टेकपाना टेकपाना

साउन १६, २०७८ १६:५६

२३ करोड लगानी भित्र्याउने योजनामा ईकमर्स स्टार्टअप ‘अल्टिमोडिल’, यसरी हुँदैछ काम

काठमाडौं । नेपाली ई-कमर्सको बजारमा राम्राे सेवा र छिटो डेलिभरीको सुविधासहित नयाँ स्वरूपमा सञ्चालन हुन लागेकाे अल्टिमोडिलले आफ्नो नयाँ एपको कोष संकलनको पहिलो श्रृखंला जारी राखेकाे छ ।

नायिका एवं समाजसेवी स्वेता खड्काको नेतृत्वमा पहिलो श्रृंखला सुरु भएको हो, जसको लक्ष्य २० लाख अमेरिकी डलर अर्थात करिब २३ करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्ने रहेको छ ।

यो पहिलो श्रृखंला डिसेम्बरसम्म चल्नेछ । नेपालभर सो रकम आफ्नो कोष विस्तार गर्न, प्रविधि अनुसन्धान र विकासका साथै कम्पनीको उचित व्यवस्थापनमा उपयोग गर्ने जनाइएको छ ।

उत्पादनहरुलाई कम्पनीको अनलाइन माध्यमबाट सहजै भेट्टाउन र खरिद गर्न सकिने गरी याे स्टार्टअप सुरू गरिएकाे सहसंस्थापक मनिष घिमिरेले बताए ।

‘यसले साना व्यवसायलाई आफ्ना उत्पादन एकै मूल्यमा बेच्नका लागि सक्षम बनाएको छ, जुन परम्परागत अफलाइन रिटेल स्टोरमा सम्भव थिएन । साना मात्र होइन, ठूला कम्पनीहरु पनि हाम्रो अनलाइन प्लेटफर्मको माध्यमबाट आफ्नो उत्पादन को बजारीकरण गर्नका लागि हामीलाई सम्पर्क गरिरहेका छन्,’ घिमिरेले भने ।

नेपाली बजारमा ईकमर्स उद्योगमा राम्रा सम्भावना देखिएका पनि अझै मानिसहरु यस्ताे सेवामा अभ्यस्त भइसकेका छैनन् । त्यसैले कम्पनीले यो स्टार्टअपको लागि नेपाल रोजेको उनको भनाइ छ ।

‘मानिसहरू यस्ता सेवासँग परिचित त छन् । तर फेसबुकजस्ता सामाजिक सञ्जालको माध्यमबाट सामान खरिद गर्ने प्रवृत्ति धेरै छ, जहाँ तस्वीरमा देखाइएकाे भन्दा फरक सामान डेलिभरी गर्ने प्रवृत्ति छ,’ उनले भने । यस्तो प्रवृत्तिले विद्यमान ईकमर्स कम्पनीहरूलाई प्रभाव परिरहको बुझाइ उनकाे छ ।

अल्टिमोडिलले विकास गरेको एप हाल परीक्षण चरणमा नै रहेको छ । आउँदो अक्टोबर महिनासम्म सो एपको मोबाइल र वेबको दुवैका लागि बेटा भर्सन सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

यो एपमा डेलिभरी ट्र्याकिङ सिस्टम समेत रहनेछ, जसअन्तर्गत सेवाग्राहीले आफूले अर्डर गरेको सामान कुन ठाउँमा आइरहेको छ भनेर एपबाटै ट्र्रयाक गरेर थाहा पाउन सक्नेछन् ।

आर्टिफिसियल इन्टलिजेन्स प्रणालीको प्रयोग गरेर विगत ८ महिनादेखि कम्पनी यो एपको विकास गरिरहेका छन् । कोरोनाका कारण धेरै ग्राहक अनलाइन माध्यममा सरेका कारण यो सेवाले राम्रो विकास गर्ने कम्पनीको विश्वास रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१