दुई महिनादेखि सिन्धुलीको तीनपाटनमा टेलिकमको सेवा अवरुद्ध

Mobile-tower-ncell-nepal-telecom-techpana

काठमाडौं । विगत दुई महिनादेखि सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका टेलिकमको सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीय दूरसञ्चार सेवाबाट वञ्चित भएका छन् ।

वर्षायाम सुरु भएसँगै गाउँपालिकास्थित शिकारी डाँडामा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा यस्तो समस्या आएको हो । यो विषयमा धेरैपटक टेलिकमको सिन्धुली कार्यालय तथा केन्द्रीय कार्यालयलाई समेत जानकारी गराउँदा पनि समस्या समाधान भएकाे छैन ।

जिल्लाका एकजना ट्वीटर प्रयोगकर्ता नटबर खत्रीले ट्वीटमार्फत टेकपानालाई यस विषयमा जानकारी गराएका थिए ।

उनको ट्विटलाई आधारमा मानेर हामीले तीनपाटन गाउँपालिकाका प्रमुख कर्णबहादुर मगरसँग कुराकानी गरेका थियौं । उनले गएको जेठदेखि गाउँपालिकामा टेलिकमको सेवा अवरुद्ध भएको बताए ।

‘वर्षायाम सुरु भएसँगै टेलिकमको सेवा अवरुद्ध हुने थालेको थियो,’ मगरले भने, ‘सुरुवाती चरणमा कहिले साँझ ५ बजे अथवा ८ बजेबाट नेटवर्क जाने र बिहान ११ बजेमात्रै आउने समस्या थियो । यो विषयमा हामीले धेरैपटक टेलिकमलाई समेत जानकारी गराएका हौं । आधिकारिक रुपमा पत्र नै पठाएर पनि यस विषयमा ध्यानाकर्षण गराउने काम भएको छ । तर, टेलिकमबाट यो विषयमा कुनै जवाफ आएको छैन ।’

दिनमा केही समयसम्म नेटवर्क आउँदासम्म त ठीकै थियो । केही दिनदेखि गाउँपालिकामा टेलिकमको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको खबर आएको छ ।

उनले भने, ‘म अहिले काठमाडौंबाट फर्किदै छु । टेलिकमको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको खबर आएसँगै तत्कालै टेलिकमलाई पुनः जानकारी गराउनसमेत गाउँपालिकामा निर्देशन भइसकेको छ । त्यसको जवाफ टेलिकमबाट के आएको छ भन्ने विषयमा भने मलाई जानकारी छैन ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार विशेषगरी विद्युतीय समस्याका कारण गाउँपालिकामा टेलिकमको नेटवर्कमा समस्या आएको हुनसक्ने बताए ।

उक्त समस्या समाधानका लागि विद्युत प्राधिकरणमा हाम्रो तर्फबाट डेडिकेटेड लाइनको लागि पनि प्रस्ताव भएको हो । त्यसमा पनि कुनै उपलब्धि भएको छैन ।

यसरी सेवा अवरुद्ध हुँदा स्थानीय प्रभावित भएका उनले बताए । ‘गाउँपालिकामा एनसेलको नेटवर्कले काम गरिरहेको छ,’ उनले भने, ‘तर, सँगै भएको टेलिकमको नेटवर्कले काम गरिरहेको छैन । सम्भवतः पालिकामा नेपाल टेलिकमका प्रयोगकर्ता धेरै छन । त्योहुँदा बढी प्रयोगकर्ता यसबाट प्रभावित भएका छन् ।’

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले याे विषयमा हालसम्म कुनै जानकारी नभएकाे र तत्कालै बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team