close

इन्ड-टु-इन्ड इन्क्रिप्सन समेत असुरक्षित, ह्वाट्सएप र सिग्नल एप ह्याक गर्न नयाँ सफ्टवेयर विकास

टेकपाना टेकपाना

साउन १८, २०७८ १४:१९

इन्ड-टु-इन्ड इन्क्रिप्सन समेत असुरक्षित, ह्वाट्सएप र सिग्नल एप ह्याक गर्न नयाँ सफ्टवेयर विकास

काठमाडौं । सुरक्षाको हिसाबले ह्वाट्सएप, सिग्नल, फेसबुक म्यासेन्जर, जिमेलजस्ता एप सुरक्षित मानिन्छन् । त्यसमध्ये पनि ह्वाट्सएप, सिग्नल जस्ता म्यासेजिङ एपमा प्रयोग भएको इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरका कारण यी एपलाई बढी प्रभावकारी मानिन्छ ।

तर, सुरक्षित मानिएका यही एपलाई समेत ब्रेक गर्नसक्ने गरी इजरायली स्टार्टअप कम्पनी प्यारागनले प्रडक्ट निर्माण गरेको दाबी गरेकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फोर्ब्सका अनुसार इजरायली कम्पनी प्यारागनले उक्त सिस्टम निर्माण गरेको हो । जसमार्फत एकपटक ह्याक भएको डिभाइसमा सधैंका लागि पहुँच राख्न सकिने छ ।

उक्त स्टार्टअप कम्पनी सन् २०१९ मा स्थापना भएको हो । यसअघि इजरायलको गुप्तचर एजेन्सीमा कार्यरत कर्मचारीद्वारा उक्त कम्पनी सञ्चालनमा ल्याइएको हो । जसमा हाल ५० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्यारागनले निर्माण गरेको उक्त प्रडक्टको विषयमा धेरै जानकारी भने बाहिर आएको छैन । तर, फोर्ब्ससँगको कुराकानीमा कम्पनीका एक उच्च कर्मचारीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने र मौलिक अधिकार र स्वतन्त्रताको सम्मान गर्ने देशको हकमा यस्तो उत्पादन उपलब्ध गराउने बताए ।

कम्पनीले हालसम्म कुनै पनि देश ग्राहक नभएको दावी भने गरेको छ । इन्क्रिप्टेड म्यासेजिङ एपमार्फत हुने कुराकानी सुरक्षित हुने भएकाले उच्च पदस्थ व्यक्तिले यस्ता म्यासेजिङ एपको प्रयोग गर्छन् ।

यस्तोमा उनीहरूको कुराकानीलाई निगरानी गर्नका लागि पनि विभिन्न देशले प्यारागनले निर्माण गरेको उक्त प्रोडक्ट प्रयोग गर्नसक्ने अनुमान गरिएको छ । जसले त्यस्ता इन्क्रिप्टेड म्यासेजलाई समेत ब्रेक गरी त्यसमा भएका कुराकानी निगरानी गर्नसक्ने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१