close

डिजिटल वालेटमा किन छैन अकाउन्ट डिलिट गर्ने विकल्प ?

टेकपाना टेकपाना

साउन १९, २०७८ १९:५५

डिजिटल वालेटमा किन छैन अकाउन्ट डिलिट गर्ने विकल्प ?

काठमाडौं । पछिल्लो समय सबै सेवा मोबाइलमै उपलब्ध हुन थालेका छन् । यसमा सबैभन्दा मूख्य कडी भनेकै मोबाइल नम्बर हुने गर्छ । चाहे तपाईं डिजिटल वालेट खोल्नुहोस् वा सामाजिक सञ्जाल, मोबाइल बैंकिङ चलाउनुहोस् वा नागरिक एप, जताततै अधिकांश ठाउँमा मोबाइल नम्बर नै प्रयोग हुन्छ ।

मोबाइल नम्बर स्मार्टफोनमा अनलाइन सेवा प्रयोग गर्न डेटा प्रयोजनका लागि मात्र होइन, त्यसको सुरक्षाको हिसाबले समेत महत्वपूर्ण हुन्छ । मोबाइल नम्बरबाटै कुनै व्यक्तिको पहिचान प्रमाणीकरण हुन्छ ।

विभिन्न माध्यममा रहेका आफ्ना गोप्य तथा निजी जानकारीमा पहुँच बनाउनेदेखि कारोबारसम्मका विषय त्यसैमा आउने ओटीपी कोडमा निर्भर हुन्छ । तर यतिधेरै महत्व बोकेको सिमकार्ड वा मोबाइल नम्बरको स्थायीत्व भने त्यति बलियो छैन ।

यदि लगातार रुपमा छ महिनासम्म निष्कृय राख्नु भयो भने तपाईंको मोबाइल नम्बर अर्कैको नाममा जान सक्छ । त्यसैले आफूले प्रयोग गरिरहेको नम्बर बन्द हुँदैछ वा प्रयोग विहीन अवस्थामा जाँदैछ भने बेलैमा सचेत भएर प्रयोग भएका सबै स्थानबाट त्यसलाई अनलिङ्क (उक्त मोबाइल नम्बर हटाउने) गर्ने भन्दा अर्को उपाय तपाईंसँग छैन ।

यस किसिमको जानकारी अभावमा थुप्रै नागरिकको व्यक्तिगत डेटा तथा जानकारी जोखिममा परेकै हुन्छ । तर मोबाइल बैंकिङदेखि डिजिटल वालेटको हकमा अर्को चुनौति पनि छ ।

कतिपय प्रयोगकर्ताले सामाजिक सञ्जालमा अकाउन्ट डिलिट गर्ने सुविधा हुँदा वालेटमा त्यस किसिमको विकल्प नै नपाएको गुनासो गर्दै आएका छन् । तपाईंले आफ्नो मोबाइल नम्बरमा कुनै वालेटको अकाउन्ट खोल्नु भएको छ अनि ६ महिनासम्म तपाईंको त्यो मोबाइल नम्बर प्रयोग बिहीन रह्यो भने के हुन्छ ?

यस्तो अवस्थामा तपाईंले प्रयोग गरिरहेको नम्बर टेलिकम कम्पनीले अर्को व्यक्तिलाई बिक्री गरिदिन सक्छ । त्यस्तो अवस्थामा तपाईंको डिजिटल वालेट अकाउन्टमा अर्को व्यक्तिले सहजै पहुँच बनाउन सक्छ ।

चाहे तपाईं आफ्नो मोबाइल नम्बर प्रयोग विहीन तुल्याउनका लागि होस् अथवा वालेट नै नचलाउने निर्णयमा पुगेर होस्, अकाउन्ट डिलिट गर्ने विकल्प खोज्नुहुन्छ । तर मोबाइल बैंकिङ एप तथा डिजिटल वालेटमा त्यस्तो अप्सन हुँदैन । अब के गर्ने ?

धेरै प्रयोगकर्ताहरु यस किसिमको दुबिधामा देखिन्छन् र मोबाइल नम्बर रिसाइकल (प्रयोगमा रहेको मोबाइल नम्बर निष्कृय भएको निश्चित समयपछि अर्कैको नाममा बिक्री हुने व्यवस्था) हुँदा गोपनीयता जोखिममा पर्ने चुनौति रहेको ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटा बताउँछन् ।

‘यो डिजिटल वालेट कम्पनीको मात्र नभएर मोबाइल बैंकिङको समेत समस्या हो । बैंक अकाउन्टदेखि नागरिक एप र सामाजिक सञ्जाल अकाउन्टको हकमा यसले झन् धेरै चुनौति जोखिम उत्पन्न गराएको छ,’ उनी भन्छन्, ‘एउटाले प्रयोग गरेको मोबाइल नम्बर छोटो समयमै अरुको नाममा जाने अवस्था रहनु हुन्न भन्ने हाम्रो जोड हो ।’

त्यसो त यस किसिमको अवस्था डिजिटल वालेट कम्पनीले परिकल्पना नगरेको भने होइन । कुनै नयाँ डिभाइसमा लगईन हुँदा अथवा वेबसाइटबाट लगईन हुँदा वालेटले ईमेलमा अलर्ट पठाउने गरिरहेका हुन्छन् ।

यसरी त्यस किसिमका जोखिम केही हदसम्म न्यूनिकरण गर्ने प्रयास गरिएको सापकोटा बताउँछन् । ‘तर एपमै अकाउन्ट डिलिट गर्ने विकल्प भने छैन,’ उनी भन्छन्, ‘त्यसका लागि कस्टमर काउन्टमै कल गरेर निश्चित प्रकृया पुरा गर्नुपर्ने हुन्छ ।’

वालेटमा अकाउन्ट खोलिसकेपछि बन्द गर्न चाहने ग्राहक एकदमै न्यून हुने गरेको भुक्तानी सेवाप्रदायकको अनुभव छ । जसले गर्दा यो विषय उनीहरुको त्यति प्राथमिकतामा नपरेको पनि हुनसक्छ ।  यसका लागि वालेटको सम्पूर्ण सिस्टम नै तयार हुन आवश्यक हुन्छ ।

त्यसका साथै अर्को महत्वपूर्ण पक्ष भनेको सबैको वालेटमा ब्यालेन्स शून्य अवस्थामा रहेको हुँदैन । यस बाहेक जम्मा भएको रिवार्ड समेत जम्मा भएको हुनसक्छ ।

‘यस्ता केही प्राविधिक विषय पनि छन्,’ ईसेवाका सीईओ सापकोटा अगाडि भन्छन्, ‘त्यसैले कुनै प्रयोगकर्ताले आफ्नो अकाउन्ट नै डिलिट गर्न वा बन्द गर्न चाहन्छन् भने ग्राहक सेवा केन्द्रमा आग्रह गर्न सक्छन् ।’ प्रभु पेका सीईओ विक्कि शाही समेत एक व्यक्तिको नाममा रहेको मोबाइल नम्बर अर्कैको नाममा जाँदा त्यसबाट विभिन्न किसिमका समस्या आइरहेको बताउँछन् ।

‘यस किसिमको कुनै संकेत प्राप्त भएको अवस्थामा हामीले सम्बन्धित अकाउन्टलाई सन्देहास्पद रुपमा वर्गीकरण गरेर राख्छौं,’ उनी भन्छन्, ‘डिजिटल वालेट अकाउन्ट डिलिट गर्ने कुरा सामाजिक सञ्जाल अकाउन्टको जस्तो सजिलो हुँदैन । यसका लागि निश्चित प्रकृयामार्फत अगाडि बढ्नुपर्ने हुन्छ ।’ अकाउन्ट डिलिट गर्न चाहने व्यक्तिले आवश्यक कागजात सहित आधिकारिक आईडीबाट ईमेल लेख्नुपर्ने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१