close

फोरजी चलिरहेका मोबाइलमा समेत टेलिकमको सुरुवाती १ जीबी डेटा निःशुल्क*

टेकपाना टेकपाना

साउन २०, २०७८ ९:४३

फोरजी चलिरहेका मोबाइलमा समेत टेलिकमको सुरुवाती १ जीबी डेटा निःशुल्क*

काठमाडौं । नेपाल टेलिकमको सिस्टममा सुरक्षा कमजोरी देखिएको छ । कम्पनीको सिममा फोरजी एक्टिभ गर्दा प्राप्त हुने अफरमा यस्तो कमजोरी देखिएको हो ।

टेलिकमले वितरण गरेका मोबाइल नम्बरमा *444# डायल गरी फोरजी एक्टिभ गर्ने सुविधा छ । यस्तोमा कम्पनीले अहिले फोरजी नेटवर्कमा मात्रै चल्नेगरी (फोरजी नेटवर्क) ५०० एमबी र जुनसुकै नेटवर्कमा चल्ने (टुजी, थ्रीजी र फोरजीमा) ५०० एमबी गरी एक जीबी डेटा निःशुल्क दिँदै आएको छ ।

जसको भ्यालिडिटी (मान्य अवधि) दुई दिनसम्म हुन्छ । कुनै पनि मोबाइल नम्बरमा पहिलो पटक फोरजी सेवा सुचारु गर्दा एक पटक उपलब्ध हुने भनिएको यो अफरको प्याकेज पटक पटक प्राप्त हुने गरेको छ ।

अर्थात तपाईंले आफ्नो फोरजी सेवा चलिरहेको मोबाइलमा *444# डायल गरी पुनः फोरजी सेवा एक्टिभ गर्नु भयो भने एक जीबी डेटा निःशुल्क पाउन सक्नुहुन्छ । साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोयका अनुसार टेलिकमको नेटवर्कमा यो सेवा विगत दुई महिनाभन्दा अघिदेखि देखिन थालेको हो ।

सामान्यतया फोरजी सेवा एक पटक मात्र एक्टिभेट गरे पुग्ने भएकाले धेरै प्रयोगकर्ताले टेलिकमको यो समस्या थाहा नपाएका हुनसक्छन् । यद्यपि धेरै मोबाइल नम्बरमा पुनः फोरजी एक्टिभेट गर्दा यस्तो डेटा प्राप्त हुने गरेको छ । तर सबै मोबाइलमा भने यो ट्रिकले काम नगर्न सक्छ ।

तर टेलिकमले यो समस्या नभएको दाबी गरेको छ । टेलिकमको सिस्टमबाटै फोरजी एक्टिभ गरिएको अवस्थामा केही नम्बरमा पछि गएर एक्टिभेसन कोड राख्दा एक पटकका लागि त्यस्तो अफर प्राप्त भएको हुनसक्ने कम्पनीका सहायक प्रवक्ता रञ्जित लोहियाले बताए ।

*यस अघिको समाचार शीर्षक अपडेट गरिएको छ । -सम्पादक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१