close

ल्यापटप ह्याङ भएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

साउन २३, २०७८ १६:४७

ल्यापटप ह्याङ भएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् समाधान

काठमाडौं । धेरैजसो मानिसहरु यतिखेर वर्क फ्रम होम गरिरहेका छन् । यस दौरान अनेक प्रकारका अप्ठ्यारा सामना गर्नु परिरहेको हुन्छ । किनकि घरमा अफिसको जस्तो सुविधा हुँदैन । केही न केही कमी महसुस भइरहेकै हुन्छ ।

उदाहरणको लागि इन्टरनेटको स्पिड पर्याप्त हुँदैन । त्यसमाथि समय समयमा त्यसले राम्रोसँग काम गर्दैन । यसैगरी ल्यापटप र कम्प्युटर ह्याङ भएर अर्को खालको तनाव दिइरहेको हुन्छ । त्यसो त यस किसिमका समस्या अफिसमा सामना गर्नैपर्दैन भन्ने पनि होइन ।

तर त्यहाँ हुने आईटी सपोर्ट टिमले यस किसिमका समस्याहरु सुल्झाइरहेका हुन्छन् । तर घरमा त्यस्तो टिमको सपोर्ट पनि हुँदैन । यदि तपाईंको कम्प्युटर सिस्टम नयाँ छ भने त त्यतिसाह्रो झन्झट हुँदैन । तर जसै पुरानो हुँदै जान्छ, समयक्रमसँगै त्यसमा देखिने समस्याहरु पनि बढ्दै जान्छन् ।

यस्तोमा आफ्नो कम्प्युटर वा ल्यापटपलाई बेलाबखत मेन्टेन गर्नका लागि बेलाबखत त्यसको जाँच परख गर्नुपर्ने हुन्छ । ल्यापटप वा कम्प्युटरमा धेरैजसो निम्तिने समस्या भनेको चलाउँदा चलाउँदै ह्याङ हुनु हो । आज हामी तपाईंलाई कम्प्युटर वा ल्यापटप ह्याङ हुने समस्याबाट कसरी छट्कारा पाउन सकिन्छ भन्ने विषयमा बताउँदै छौं ।

साथै हामी तपाईंलाई केही त्यस्ता टिप्स पनि दिनेछौं, जसलाई पछ्याएर तपाईंले आफ्नो कम्प्युटर वा ल्यापटपलाई ठीक ठाक राख्न सक्नुहुनेछ । यस्तोमा सबैभन्दा पहिला तपाईंले ल्यापटप वा कम्प्युटर ह्याङ किन भइरहेको छ भन्ने कुरा थाहा पाउन जरुरी छ ।

किन ह्याङ हुन्छ कम्प्युटर ?

कम्प्युटर सिस्टम ह्याङ हुने कुनै एउटा निश्चित कारण त हुँदैन । किन कि हरेक सिस्टम फरक फरक हुन्छ र त्यसको प्रयोग गर्ने तरिका पनि भिन्न हुने गर्दछ । कुनै हार्डवेयर वा कुनैमा सफ्टवेयरको समस्या देखिन सक्छ । यस्तोमा आफ्नो सिस्टमलाई बेला बेला अपडेट गराउन आवश्यक हुन्छ ।

कम्प्युटरमा काम गर्दाको समयमा एकसाथ कयौं प्रोग्राम खोल्दा समेत कम्प्युटर ह्याङ हुनसक्छ । कम्प्युटरको सिस्टम वा अन्य कुनै सफ्टवेयरको भर्सन पुरानो भइसकेको हुनसक्छ । त्यस्तो अर्को सबैभन्दा महत्वपूर्ण कुरा भनेको यदि तपाईंको कम्प्युटरको र्‍याम कम छ भने ह्याङ हुने झन्झट अझ बढी हुन्छ ।

ह्याङ हुने समस्याबाट पार पाउने कसरी ?

तपाईं कम्प्युटर सिस्टम ह्याङ हुने समस्याबाट बाहिर निस्किन कयौं तरिका अपनाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई त्यसमध्ये केही टिप्स बताउँदै छौं ।

नियमित सर्भिस गराउनुहोस्

कतिपय समय यस्तो भइदिन्छ कि फोहोर जम्मा भएर कम्प्युटरमा हावा सप्लाई गर्ने फ्यान जाम भइदिन्छ । पर्याप्त हावा नपुगेपछि कम्प्युटर तात्न थाल्छ । जसका कारण ह्याङ हुने, बारम्बार कम्प्युटर बन्द हुने जस्ता अनेकौं समस्याहरु देखिन थाल्छन् । त्यसैले नियमित रुपमा कम्प्युटर सर्भिस गराउने बानी बसाल्नुहोस् ।

डिस्क स्टोरेज डिलिट गर्नुहोस्

कतिपय समय सिस्टमको डिस्क स्टोरेज फुल भएको हामीलाई पत्तै हुन्न । त्यसैले आफ्नो कम्प्युटर सिस्टमको डिस्क स्टोरेज बेला बेलामा खाली गर्नुहोस् । अन्यथा यसै कारणले तपाईंको कम्प्युटर ह्याङ हुनसक्छ ।

रिसाइकल बिन सफा राख्नुहोस्

हाम्रो कम्प्युटर सिस्टममा एउटा रिसाइकल बिन हुने गर्दछ । जब हामी कुनै फाइल वा फोल्डर डिलिट गर्दछौं, त्यस्तो फाइल कम्प्युटरबाट पूर्ण रुपमा नहटेर रिसाइकल बिनमा गएर बस्ने गर्दछ । त्यसैले कम्प्युटरको स्पेस खाली राख्न रिसाइकल बिनलाई नियमित रुपमा क्लियर गर्ने बानी बसाल्नुहोस् ।

एकसाथ धेरै सफ्टवेयर तथा प्रोग्राम नखोल्नुहोस्

अफिसको काम गर्दाको समयमा एकसाथ धेरै प्रोग्राम वा सफ्टवेयर खोलिरहनु भएको हुनसक्छ । यस्तोमा कम्प्युटर सिस्टम स्लो हुने वा ह्याङ हुने समस्या देखिन थाल्दछ । एक साथ धेरै सफ्टवेयर वा प्रोग्राम खोल्दा कम्प्युटर सिस्टमको र्‍याममाथि एक्कासी धेरै लोड पर्न जान्छ।

जसले गर्दा त्यसले राम्रोसँग काम गर्न सक्दैन। त्यसैले कम्प्युटरमा काम गर्दा सकेसम्म कम सफ्टवेयर वा प्रोग्राम खोल्नुहोस् । साथै ब्राउजरमा एकसाथ धेरै ट्याब पनि नखोल्नुहोस् ।

एन्टिभाइरस प्रयोग गर्नुहोस्

कम्प्युटर सिस्टमको सीपीयू वा पीसीलाई स्वस्थ राख्न एकदमै जरुरी हुन्छ । त्यसका लागि एन्टिभाइरस निकै सहयोगी हुने गर्दछन् । किन भने जब तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ, त्यस्तो बेलामा कयौं फाइल स्वतः डाउनलोड हुने जोखिम रहन्छ । जसले गर्दा हाम्रो कम्प्युटर सिस्टम ह्याङ हुन थाल्दछ ।

तर जब तपाईंले एन्टिभाइरस प्रयोग गर्नुहुन्छ, त्यस्तोमा यस्ता फाइलहरु डाउनलोड हुनबाट रोक्दछ र सिस्टम ह्याङ हुनबाट बचाउँछ । त्यसैले राम्रो गुणस्तरको एन्टिभाइरसलाई आफ्नो कम्प्युटर सिस्टममा इन्स्टल गराएर राख्नुहोस् ।

थप टिप्स

ब्राउजर हिस्ट्री र क्याश फाइलाई नियमित रुपमा डिलिट गर्नुहोस् । राम्रो वा जेन्युन विण्डोज प्रयोग गर्नुहोस् । लगातार लामो समयसम्म कम्प्युटर प्रयोग नगर्नुहोस्, बेला बेलामा आफ्नो कम्प्युटरलाई पनि आराम दिनुहोस् । कम्प्युटरको कुनै चिज खराब भएको त छैन, बेला बेलामा चेकजाँच गर्दैगर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३