close

अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुला

टेकपाना टेकपाना

साउन २४, २०७८ १८:९

अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुला

काठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो ।

प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५  लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको विज्ञप्तिअनुसार रिचार्डको सफल यात्राले अन्तरिक्षप्रति सर्वसाधारणको रुचि बढाएकोले कम्पनीले शनिबारदेखि टिकट खुलाएको हो ।

‘मानिसहरूकाे अन्तरिक्षप्रतिको उत्सुकतालाई मेटाउँदै अन्तरिक्ष यात्राको ढोका खोल्न पाउँदा हामी निकै नै उत्साहित छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार इच्छुक यात्रुले एउटा मात्र सिट खरिद गर्न सक्छ, अथवा साथी र परिवारको प्याकेज पनि खरिद गर्न सक्छन् । त्यस्तै पुरै प्लेन पनि रिजर्भ गर्न सकिने कम्पनीले जनाएको छ ।

योभन्दा अगाडि नै कम्पनीले करिब ६०० वटा टिकट बेचिसकेको छ ।

भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष पर्यटन बजारको विकासका लागि अमेजनका जेफ बेजोसद्वारा सञ्चालित ब्लु ओरिजिन र टेस्लाको एलन मस्कको स्वामित्वमा रहेको स्पेस एक्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

ब्लु ओरिजिनले आउने दिनमा अन्तरिक्ष यात्राको टिकटको रकम दुईदेखि तीन लाख अमेरिकी डलर राख्नसक्ने अनुमान गरिएकाे छ । स्पेस एक्सले पनि गत वर्ष आफ्नो ड्रागन स्पेसक्राफ्टमा क्रु सहितको उडान सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

आगामी दिनमा स्पेस एक्सले नासासँग सहकार्य गरेर अन्तरिक्ष यात्रीहरूलाई इन्टरनेशलन स्पेस स्टेशनमा पठाउने योजना बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३