close

टेलिकमको फाइबर इन्टरनेटमा चार महिनामै थपिए ६४ हजार ग्राहक, ५४ जिल्लामा पुग्यो सेवा

टेकपाना टेकपाना

साउन २९, २०७८ १३:५८

टेलिकमको फाइबर इन्टरनेटमा चार महिनामै थपिए ६४ हजार ग्राहक, ५४ जिल्लामा पुग्यो सेवा

काठमाडौं । नेपाल टेलिकमको फाइबर इन्टरनेट ५४ जिल्लाका एक लाख ७२ हजार भन्दा बढी ग्राहकमा पुगेको छ । टेलिकमले विगत तीन वर्ष देखी एउटै फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा प्रदान गर्दै आएको छ ।

जसमा यही बिहीबार अर्थात साउन २८ गतेसम्म ५४ जिल्लाका एक लाख ७२ हजार भन्दा बढी ग्राहक जोडिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार  २०७५ सालमा टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता जम्मा एक हजार सात सय ३८ थिए ।

उक्त संख्या २०७६ आइपुग्दा बढेर ३० हजार आठ सय ७९ पुगेको थियो । २०७७ सालमा एक लाख सात हजार सात सय एक जना ग्राहक रहेकोमा २०७८ को यो करिब चार महिनामा ६४ हजार दुई सय ९९ नयाँ लाइन वितरण भएको उल्लेख छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत दिइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवालगायत स्थानमा विस्तार भइसकेको छ ।

टेलिकमले यसअघि प्रयोगमा आएको तामाको तारलाई विस्थापित गर्दै फाइबर इन्टरनेट उपलब्ध गराउन थालेको हो । जसमार्फत उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि प्रयोगकर्ताले उपयोग गर्न पाउने विश्वास टेलिकमको रहेको छ ।  टेलिकमका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ मा देशका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने योजना रहेको छ ।                                                                                              

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१