प्रविधिसँग यसरी अभ्यस्त हुँदैछन्, लेखक-साहित्यकार

Writing_writer_on_technology

काठमाडौं । केही समय अघिसम्म लेखन, कला र साहित्य भन्ने बित्तिकै अखबार, पुस्तक र पुस्तकालयको दृश्य दिमागमा आउँथ्यो । तर अब समय बदलिएको छ । प्रविधिमा आएको परिवर्तनले पठनसामग्री, पाठक र लेखनशैली पनि बदलिएका छन् ।

फिक्सन तथा ननफिक्सन, धर्मग्रन्थ र भाषागत किताबहरू इन्टरनेटको पहुँचमा आएसँगै पाठकहरूलाई किताब किन्नुपर्ने झन्झटको अन्त्य भएको छ । त्यसो त केही समय ग्याजेटहरूबाट टाढा रहेर किताब पढ्ने रहर छ, तर किताब किन्न जाने फुर्सद छैन भने पनि अनलाइनबाटै किताबको होम डेलिभर हुन्छ ।

जहाँसम्म अडियो बुकको कुरा छ, पुस्तक पढ्न एकदमै मन छ, तर कार्यव्यस्तताका कारण हातमा पुस्तक लिएर पढ्न नभ्याउनेहरूका लागि यो निकै प्रभावकारी उपाय हो । अडियो बुक जुनसुकै अवस्थामा पनि सुन्न सकिन्छ ।

यदि अधिकतम रुपमा अडियो बुकहरू उपलब्ध हुने हो भने पढ्न रुचि भएका व्यस्त पाठकहरू समेत यसबाट लाभान्वित हुनेछन् । यसरी हेर्दा, प्रविधिको विकासले पाठकहरूलाई त फाइदा नै भएको देखिन्छ ।

तर लेखनमा प्रविधिको न्यूनतम देखि अधिकतम प्रयोग गर्ने लेखकहरूको प्रयत्न र अनुभव कस्तो छ त ? नेपाली साहित्य जगतमा हरेक साहित्य अनुरागीहरूको हृदयमा रहिरहने नामहरू मध्येमा एक हो, राजन मुकारुङ ।

मुकारुङले नेपाली साहित्यमार्फत पाठकलाई उत्कृष्ट कृतिहरूको स्वाद पस्किसकेका छन् । उनी भन्छन्, ‘प्रविधिबाट कुनैपनि क्षेत्र अलग रहन सक्दैन, प्रविधिको परिवर्तन भनेको एक किसिमको बहाव हो र यो बहाव सँगसँगै बहनै पर्छ ।

यसले लेखनमा सहजता भएको छ, कुनैपनि बेला मान्छेले लेख्न सक्छ । झट्ट दिमागमा केही नयाँ कोण आयो भने तत्कालै प्रविधिको प्रयोग गरेर त्यसलाई सुरक्षित गर्न सकिन्छ ।’ लेखनकै मात्र कुरा गर्नुपर्दा अहिले लेखकहरूलाई आफू प्रस्तुत हुन पनि सजिलो भएको छ ।

राजन मुकारुङ

उनी भन्छन्, ‘कृतिहरू प्रकाशन गरेर पाठकसम्म पुर्‍याउनका लागि सामाजिक सञ्जालले धेरै नै सजिलो बनाएको छ । तसर्थ लेखकहरूको लागि प्रविधिको प्रभाव सकारात्मक मान्न सकिन्छ ।’ प्रविधिको सर्वव्यापकता बढेसँगै हरेक व्यक्तिको विचारले प्रस्तुत हुने ठाउँ पाएको छ ।

कोही व्यक्ति विशेषको धारणामा कसैको परिवेश नअटाउने तथा लेखनको दायराको विषयलाई लिएर उनी भन्छन्, ‘व्यक्तिको परिवेशले उसको दृष्टिकोण विकास भएको हुन्छ र हरेक व्यक्ति आफू प्रस्तुत हुन चाहन्छ । यसमा कुनैपनि दृष्टिकोणलाई यही उत्कृष्ट-निकृष्ट अथवा जायज-नाजायज भनेर निर्क्योल भने गरिहाल्न नमिल्ला कि !’

त्यो सँगै अब पाठक पनि त्यही अनुसार तत्पर हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘प्रविधिको उपयोग गर्दैगर्दा पाठकहरू पनि सचेत रहनुपर्ने र हेडलाइन मात्रको पछाडि नलागेर गुदी केलाउन तत्पर रहनसके गुणकारी कृतिहरू प्राथमिकताको घेरामा अटाउन सक्ने थिए ।’

सामाजिक सञ्जालको सकारात्मक अनुभव सम्झँदै उनी भन्छन्, ‘प्रविधिको उच्चतम् प्रयोग हुँदैगर्दा, केही हाइलाइट हुनैपर्ने लेखहरूले उपयुक्त स्थान पाएका छन् । र यसो हुनु भनेको प्रविधि वरदान साबित हुनु पनि हो ।’ समग्रमा प्रविधिको प्रयोग सकारात्मक भएको अनुभव मुकारुङको छ ।

त्यसैगरी साहित्यमा नयाँ प्रयोग गरिरहने, लोकप्रिय लेखक तथा साहित्यकार नवराज पराजुलीको यसप्रतिको अनुभव पनि सकारात्मक नै छ । अखबारको साँघुरो कुनामा कृति प्रकाशनको लागि पनि निकै पापड बेल्नुपरेको समयलाई नजिकबाट नियालिरहेका पराजुली अहिलेको प्रविधिसँग निकै सन्तुष्ट छन् ।

नवराज पराजुली

सुरुवाती दिनमा स्थापित लेखकहरू बीच ओझेलमा पर्ने, उपयुक्त स्थान नपाउने र आफ्नै क्षमतामा पटकपटक प्रश्न गर्नुपर्ने अवस्थालाई पराजुली यसरी सम्झन्छन्, ‘चलेका लेखकहरूलाई मात्र स्थान दिइन्थ्यो, अहिले जस्तो पर्याप्त माध्यमहरू थिएनन् । साहित्य भनेको भावनात्मक कुरा हो ।

कतिपय अवस्थामा त म लेखनको लागि होइन कि भनेर लेखकहरूले आफैँ माथि नै प्रश्न समेत गर्न बाध्य हुनुपर्ने अवस्था थियो । स्थान नपाएकै कारण धेरैले त लेखन यात्रा नै समाप्त गरिदिएका छन् ।’ अहिले लेखकले हतोत्साहित हुनुपर्दैन ।

उनी भन्छन्, ‘उसँग आफूलाई प्रस्तुत गर्ने थुप्रै प्लेटफर्महरू छन् । लेख प्रकाशनको लागि अखबारको भित्ता कुर्नुपर्दैन, आफूलाई पायक पर्दा कृतिहरू पाठकसम्म पठाएर सजिलै प्रतिक्रिया प्राप्त गर्न सकिन्छ ।’

तर, बढ्दो प्रविधिको प्रयोगले कृतिमाथिको स्रष्टाको सर्वाधिकार खास सुरक्षाको विषयलाई लिएर पराजुली भन्छन्, ‘कसैको जिन्दगीको साधनालाई पाँच/दश मिनेटको रेकर्ड सामग्री मात्रै सम्झिएर बिना अनुमति मुद्रीकृत गर्नु स्रष्टाप्रतिको दमन हो र यो आपत्तिजनक छ ।’

अनलाइन माध्यमबाट सजिलै पाठकहरूसँग जोडिन पाउनु प्रविधिको विकासको अर्को छुटाउनै नहुने फाइदा हो । केही समय अघि ‘एकलै’ कविता युट्युवमा सार्वजनिक गरेपछिको अनुभवलाई सम्झदै पराजुली भन्छन्, ‘पाठकहरूले स्वतः स्फूर्त किसिमले ईमेल अकाउन्ट लग ईन गरेर दिनुभएका प्रतिक्रिया मेरा लागि एकदम विशेष हुन् ।’

‘यसरी आएका प्रतिक्रियाहरू पढ्दा अझ जिम्मेवारी बोध हुन्छ । अनि लेख्नुको आनन्द पनि मिल्छ । म सबैको प्रतिक्रिया पढ्छु र सकेसम्म रिप्लाई दिने प्रयत्न पनि गर्छु ।’

उनी थप्दै भन्छन्, ‘कोहीकोही पाठकहरू वर्षौंअघि पत्रिकामा प्रकाशित कृतिहरू सम्झाउनु हुन्छ, मैले पत्रिकामा पढेको थिएँ भन्नुहुन्छ । यस्ता किसिमका प्रतिक्रियाहरूले लेख्ने ऊर्जा बढेर आउँछ ।’

चितवनमा बसेर काठमाण्डौंमा रहेका राष्ट्रियस्तरका मिडियामा लेख लेख्दै आएकी सरिता तिवारीसँग तीन दशक लामो लेखन अनुभव छ । उमेर हदका कारण धेरै प्रविधिहरूलाई अलि ढिलो गरेर मात्रै उपयोग गर्न पाएको उनी बताउँछिन् ।

आजका प्रविधिहरू आफ्नो सुरुवातको समयमा भइदिएका भए तुलनात्मक रुपमा चाँडो सिकाई हुनसक्ने र संघर्ष पनि कम हुनसक्ने उनको ठम्याई छ । तिवारी भन्छिन्- ‘मैले लेखनमा चार ओटा चरणको अभ्यास गरेको छु, सुरुसुमा मैले पेन्सिलले लेखेर पछि त्यसैलाई कलमले कपी गरेपछि मात्र पत्रिकासम्म पठाउने गर्थेँ ।

पछि टाइपिङको जमाना आयो । सुरुसुरुमा आफूलाई टाइपिङ नआउँदा हातैले लेखेर जान्ने मान्छेलाई टाइपिङ गर्न लगाएँ । अहिले आएर म आफै टाइपिङ गर्छु । केही साथीहरूले बोलेर टाइप गर्नपनि सुझाव दिन्छन् । तर त्यो चाहिँ मैले गरेको छैन ।

बोलेर टाइप गर्दा लेखाइ अलि अनियन्त्रित हुनसक्छ जस्तो मलाई लाग्छ ।’ कपी वा डायरीलाई मोडेर ‘ड्राफ्ट’ लेखाईमा छुट्टै अनुपमता महसुस हुने भन्दै तिवारी थप्छिन्- ‘निबन्धका कोणहरू र झट्ट बिर्सिन सकिने विषयवस्तुलाई नोटप्याडमा टिप्छु । तर अझैपनि कविताको पहिलो खेस्रा मैले पेन्सिलले नै लेख्ने गरेकी छु ।’

प्रविधिमा भएको विकासको भरपुर फाइदा आफूले लिएको कुरालाई तिवारी यसरी सुनाउछिन्- ‘धेरै लेखक साथीहरु र पाठकहरू मलाई काठमाडौं भित्रै छ भन्ने ठानेर त्यहाँका क्याफेहरूमा भेटघाटको लागि निम्त्याउनु हुन्छ ।’

‘राजधानीको परिधिभन्दा बाहिर रहेर राष्ट्रियस्तरको लेखनमा हस्तक्षेप गर्न सकेकी छु र म राजधानीमै भएको महसुस गराउन सफल छु । र यो सबै सम्भव भएको प्रविधिले नै हो ।’ ‘म त इलेक्ट्रोनिक मिडियामा आएको परिवर्तन र आजको प्रविधिसँग एकदम सन्तुष्ट छु ।

हिजो लेख लेखेर हुलाकबाट पठाउनुपर्ने हुन्थ्यो । प्रकाशन हुने/नहुने निश्चित हुँदैन थियो । सम्पादकलाई मनपर्‍यो वा चित्त बुझ्यो भने पत्रिकामा आउँछ । पाठकको प्रतिक्रिया लिन र आफूलाई निखार्न कम चुनौतीपूर्ण थिएन । कति लेख/रचनाका खामहरू त खोलेर हेरिँदैन थिए  ।

आज दुई अक्षर मात्र पनि सोसल साइटमा राख्यो भने त्यसको छुट्टै महत्व हुन्छ, प्रतिक्रिया आउँछन् । नकारात्मक टिप्पणी पनि हुन्छन । तर त्यसलाई पनि समाजको एउटा विचार हो, यस्तो धारणा पनि पाइन्छ भनेर स्वीकार गर्नसक्नु पर्छ ।’

तिवारी भन्छिन् – ‘पछिल्लो पाँच वर्षलाई मात्र हेर्दा पनि लेखनको दायरा व्यापक भएको छ । लुकेर प्रहार गर्नेहरूको सम्भावना बढेको छ ।  तर उनीहरूबाट सजग रहन पनि सचेत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team