close

ईसेवामा बैंक खाता लिंक गर्दा आईफोन १२ मिनी जित्ने अवसर, यस्तो छ लिंक गर्ने तरिका

टेकपाना टेकपाना

साउन ३२, २०७८ १०:१५

ईसेवामा बैंक खाता लिंक गर्दा आईफोन १२ मिनी जित्ने अवसर, यस्तो छ लिंक गर्ने तरिका

काठमाडौं । भुक्तानी सेवाप्रदायक लिंक ईसेवाले बैंक तथा वित्तीय संस्थाको खाता ईसेवामा लिंक गर्दा आकर्षक अफर सञ्चालनमा ल्याएको छ । २३ वटा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट आफ्नो बैंक छानी अकाउन्ट लिंक गर्न सकिने ईसेवाले जनाएको छ ।

यो अफरअन्तर्गत भाग्यशाखली विजेताले आईफोन १२ मिनी (६४ जीबी) जित्न सक्नेछन् । त्यस्तै तीन जोडीले पोखराको यात्रा र हरेक दिन २ जनाले रु. ५०० बराबरको फुड भौचर पाउनेछन् । कम्पनीले अकाउन्ट लिंक गर्दा तुरुन्तै रु. ५० क्यासब्याक दिने जनाएको छ ।

अहिले बैंक खाता लिङ्क गराउन सकिने बैंक तथा वित्तीय संस्थाको संख्या २३ पुगेको छ । क्रमशः अन्य बैंकहरुलाई समेत यसमा जोड्दै लगिने कम्पनीले जनाएकाे छ ।

त्यसो त मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा रहेको रकम ईसेवामा लोड गर्न सकिने र ईसेवामा भएको रकम विभिन्न बैंकमा रहेको खातामा पठाउन सकिने सुविधा यसअघि देखि नै उपलब्ध छ ।

यस्तो अवस्थामा ईसेवामा बैंक खाता लिङ्क गराउनुको के अर्थ ? पक्कै पनि तपाईंको मनमा पनि यस्तै प्रश्न हुनसक्छ ।

मुख्यतः अकाउन्ट लिङ्क गराउँदा तपाईंले तीन वटा लाभ उठाउन सक्नुहुन्छ । पहिलो आफ्नो ईसेवामा रकम लोड गर्न एकदमै सजिलो हुन्छ । दोस्रो कुरा ईसेवामा भएको रकम एकै पटकमा एक लाख रुपैयाँसम्म बैंक खातामा ट्रान्सफर गर्न सकिन्छ ।

अनि यसको अर्को फाइदा भनेको अन्य बैंक खातामा एक हजार रुपैयाँसम्म निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अवस्थामा लिङ्क गरिएको खातामा भने पाँच हजार रुपैयाँसम्म निःशुल्क पठाउन मिल्छ ।

यसबाहेक राष्ट्र बैंकले वालेटमा २५ हजार रुपैयाँभन्दा बढी रकम एक दिनभन्दा बढी (ओभर नाइट) राख्न नपाउने व्यवस्था गरेको छ । तर, त्यसभन्दा बढी रकम वालेटमा भए पनि के गर्ने भन्ने विषयमा अन्यौलता छ ।

यस्तोमा प्रयोगकर्ताको बैंक खाता यकिन गरी निश्चित सीमाभन्दा बढी रहेको रकम स्वतः ट्रान्सफर हुने व्यवस्थाका लागि समेत वालेटमा बैंक खाता लिङ्क गराउन थालिएको कम्पनीले जनाएकाे छ ।

ईसेवाले यो फिचरबाट फास्ट (छिटो), सेक्योर (सुरक्षित) र कन्भिनियन्ट (सहज) रुपमा भुक्तानी सुविधा प्रयोग गर्न सकिने बताउँदै आएको छ । यसको अर्थ बैंक खाता लिङ्क गरेपछि ईसेवामा तुरुन्तै रकम लोड गर्न सकिन्छ ।

रकम लोड गर्न आफ्नो मोबाइल बैंकिङ एप लगईन गर्नै पर्दैन । ईसेवामा ‘लोड मनी’ अप्सनमा रकम उल्लेख गरी पिन राखेकै भरमा बैंक खातामा रहेको रकम ईसेवामा लोड हुन्छ । यसले बैंक खाताबाट वालेटमा रकम लोड गर्दा भुलबस अर्कै व्यक्तिको खातामा जाने जोखिम समेत नहुने कम्पनीले जनाएकाे छ ।

ईसेवामा बैंक खाता लिङ्क गर्न के चाहिन्छ ?

तपाईंले ईसेवामा आफ्नो बैंक खाता लिङ्क गराउनु अघि केही पूर्वशर्त पुरा गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंको ईसेवा अकाउन्ट भेरिफाइड हुनुका साथै तपाईंकै नामको बैंक खाता समेत जरुरी छ । यति मात्र होइन, तपाईंले मोबाइल बैंकिङ सेवा समेत लिएको हुनुपर्छ ।

यदि तपाईंले यी सबै शर्त पुरा गर्नुभएको छ भने ईसेवामा आफ्नो बैंक खाता लिङ्क गराउने प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ ।

अनि अर्को कुरा बैंक खातामा उल्लेख भएको नम्बर र ईसेवा खातामा रहेको नम्बर समेत एउटै हुनुपर्छ । यदि नम्बर फरक छ भने पनि चिन्ता नलिनुहोस् । तपाईंले बैंक खातामा रहेको नम्बरलाई ईसेवामा ‘सेकेण्डरी’ नम्बरको रुपमा राखेपछि यो समस्या पनि समाधान हुन्छ ।

यसका लागि आफ्नो ईसेवा खोल्नुहोस् र बायाँ कुनामा रहेको प्रोफाइल आइकनमा जानुहोस् ।

त्यहाँ तपाईंले डिभाइसेस एण्ड क्रेडेन्सियल (Devices & Credentials) अप्सन देख्न सक्नुहुनेछ । त्यसभित्र दोस्रोमा रहेको क्रेडेन्सियल (Credentials) मा तल दायाँतर्फ रहेको प्लस (+) आइकनमा गएर आफ्नो बैंक खातामा रहेको मोबाइल नम्बर र नाम थप (Add) गरेर प्रोसिड गर्नुहोस् ।

अब मोबाइलमा आएको ओटीपी कोड राखेर प्रमाणीकरण (Verify) गर्नुहोस् । यति गरेसँगै तपाईंको बैंक खातामा रहेको नम्बर ईसेवामा सेकेन्डरी नम्बरको रुपमा रहन्छ ।

तपाईंले आवश्यकता अनुसार यसरी ५ वटा मोबाइल नम्बरलाई सेकेन्डरी नम्बरको रुपमा राख्न सक्नुहुन्छ । 

अब लिङ्‍क गर्ने कसरी ?

आफ्नो बैंक खाता लिङ्क गर्न सुरुमा आफ्नो ईसेवा एप खोल्नु होस् । 

लोड मनीमा जानुहोस् र सुरुमा रहेको प्लस (+) आइकनमा थिचेर बैंक अकाउन्ट लिङ्क गर्ने प्रक्रिया थाल्नुहोस् । 

यसका लागि अर्को उपाय पनि छ । जसअनुसार माथि बायाँ कुनामा रहेको आफ्नो प्रोफाइलहुँदै माई बैंक अकाउन्ट (My Bank Account) मा जानुहोस् । 

अब तल रहेको लिङ्क बैंक अकाउन्ट (Link Bank Account) मा थिच्नुहोस् ।

त्यहाँ रहेको सूचीबाट आफ्नो खाता रहेको बैंक छनौट गर्नुहोस् । 

बैंक खाता उल्लेख गर्नुहोस् र प्रोसिड (Proceed) मा दबाउनुहोस् । 

त्यसपछि तपाईंको खाता रहेको बैंकको पेज खुल्छ । त्यसमा आफ्नो मोबाइल नम्बर र मोबाइल बैंकिङको पासवर्ड राखेर लगईन गर्नुहोस् । 

अब तपाईंको मोबाइलमा आएको ओटीपी कोड राख्नुहोस् र पुनः लगईन गर्नुहोस् । यति गरेसँगै तपाईंको बैंक खाता ईसेवामा लिङ्क हुन्छ ।

ईसेवाबाट रकम ट्रान्सफर गर्दा कति लाग्छ शुल्क ?

ईसेवाबाट कुनै पनि बैंक खातामा दैनिक १००० रुपैयाँको दरले अधिकतम १० पटकसम्म (१०,०००) र मासिक ५० पटकसम्म (५०,०००) रकम ट्रान्सफर गर्दा शुल्क लाग्दैन । तर लिङ्क गरिएको बैंक खातामा निःशुल्क रुपमा पाँच हजार रुपैयाँसम्म रकम ट्रान्सफर गर्न सकिन्छ । 

ईसेवाबाट अन्य बैंक खातामा प्रति कारोबार अधिकतम २५ हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्न सकिन्छ । जसमा दैनिक २० पटकसम्म र मासिक ५० पटकसम्म रकम ट्रान्सफर गर्न सकिने भए पनि कारोबार रकमको सीमा भने दैनिक अधिकतम एक लाख रुपैयाँ र मासिक अधिकतम पाँच लाख रुपैयाँ रहेको छ ।

लिङ्क गरिएको बैंक खातामा ट्रान्सफर गर्न सकिने रकमको अधिकतम सीमा अन्य खाता सरह रहे पनि एकै पटकमा ट्रान्सफर गर्न सकिने रकम भने फरक छ । लिङ्क गरिएको बैंक खातामा एकै पटक एक लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

जसले गर्दा लिङ्क गरिएको बैंक खातामा रकम ट्रान्सफर गर्दा तुलनात्मक रुपमा सस्तो समेत पर्न जान्छ । उदाहरणको लागि तपाईंले लिङ्क गरिएको खातामा एक लाख रुपैयाँ ट्रान्सफर गर्दै हुनुहुन्छ भने ७५ रुपैयाँ मात्र लाग्छ ।

तर त्यति नै रकम अन्य खातामा पठाउन चार पटक यो प्रक्रिया दोहोर्‍याउनु पर्ने हुन्छ । यसका लागि २०० रुपैयाँ शुल्क लाग्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१