close

ह्वाट्सएपका ५ नयाँ फिचर, के तपाईंले प्रयोग गर्नुभयो ?

टेकपाना टेकपाना

भदौ १, २०७८ १३:१०

ह्वाट्सएपका ५ नयाँ फिचर, के तपाईंले प्रयोग गर्नुभयो ?

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले पछिल्लो एक महिनामा एन्ड्रोइड तथा आईफोन प्रयोगकर्ताका लागि ५ नयाँ फिचर सार्वजनिक गरेको छ ।

म्यासेज स्वत: हट्नेदेखि ग्रुप कलसम्मका लागि ह्वाट्सएपले नयाँ फिचर ल्याएको हो । यी सबै फिचरका लागि प्रयोगकर्ताहरू लामो समयसम्म पर्खिरहेका थिए ।

१. जोइनेबल कल 

जुलाईको अन्त्यमा सार्वजनिक भएकाे यो फिचरबाट प्रयोगकर्तालाई चलिरहेको ग्रुप कलमा कुनै पनि बेला जोइन हुन मिल्छ ।

यदि तपाईंले कुनै पनि भिडिओ कलमा जोइन हुन छुट्नुभयो भने अब चिन्ता गर्नुपर्दैन । तपाईंले चाहेको बेला ग्रुप कलमा जोइन हुन सक्नुहुन्छ ।

योभन्दा अगाडि ह्वाट्सएपको ग्रुप कलमा कोही मान्छे ढिला जोइन भयो भने उसका लागि कल नै काटेर पुन: कल गर्नुपर्ने हुन्थ्यो ।

तर अब भने जुम र गुगल मिटमा जस्तो कुनै पनि बेला सहभागीले कल जोइन गर्न सक्नेछन् ।

त्यस्तै अब तपाईंले ग्रुप कलमा इन्भाइट गरिएको मध्ये कतिले कल जोइन गरे र कतिले जोइन गर्न बाँकी छ भनेर हेर्न पनि सक्नुहुन्छ ।

सुरुमा ग्रुप कल इग्नोर गरेको सहभागी पनि पछि कल चलिरहेकै बेलामा जोइन गर्न सक्नेछन् । अहिलेको समयमा सबैजना टाढा टाढा भएको बेला घर परिवार, साथीभाइहरूको ग्रुप कलबाट वञ्चित हुन नपरोस् भनेर यो व्यवस्था ल्याएको कम्पनीले जनाएको छ । 

२. स्मार्ट स्विच 

एन्ड्रोइडबाट आईओएस अथवा आईओएसबाट एन्ड्रोइडमा जाने बेलामा ह्वाट्सएपको अकाउन्ट परिवर्तन गर्नुपर्ने समस्या अब हुने छैन ।

ह्वाट्सएपले ल्याएको नयाँ फिचर स्मार्ट स्विचको प्रयोग गरेर तपाईंले सहजै एन्ड्रोइड र आईओएसबीच स्विच गर्न सक्नुहुनेछ ।

यही हप्तामात्र सार्वजानिक भएको यो फिचर हाललाई एन्ड्रोइड १० भएको सामसङका सबै फोनहरूमा लागू हुनेछ भने आउने दिनहरूमा सम्पूर्ण एन्ड्रोइड फोनहरूमा यो लागू हुनेछ । यस फिचरले तपाईंले फोन परिवर्तन गर्दा च्याट हिस्ट्रीहरू ब्याकअप गर्न सहज हुनेछ । 

३. मल्टी डिभाइस सपोर्ट 

अब तपाईंले ह्वाट्सएप चलाउनका लागि मोबाइल नै आवश्यकता पर्ने छैन । तपाईंले आफ्नो ल्यापटप अथवा डेस्कटपमा ह्वाट्सएप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

तर यसको लागि तपाईंको फोनसँग तपाईंको ल्यापटप अथवा डेस्कटप भने कनेक्ट भएको हुनुपर्छ । त्यस्तै अब तपाईंले आफूले प्रयोग गरिरहनु भएको फोन सहित चारवटा फोनमा सोही नम्बरबाट प्रयोग गर्न सक्नुहुनेछ ।

तपाईंले प्रयोग गर्नुभएको सबै डिभाइसमा तपाईँका च्याट हिस्ट्री, कल हिस्ट्री लगायतका डेटा हुनेछन् । 

भिउ वान्स म्यासेज 

ह्वाट्सएपमा अब तपाईंले पठाउनुभएको वा प्राप्त गर्नुभएको म्यासेज एक पटक सिन (seen) भइसकेपछि त्यो आफैं हटेर जानेछ । अस्थायी म्यासेज जस्तै पासवर्डहरू पठाउनका लागि यो फिचर उपयोगी हुने कम्पनीको दाबी छ ।

अब तपाईंले पठाउनुभएको फोटो तथा भिडिओ पाउने मान्छेले एकपटक हेरेपछि स्वत: हटेर जानेछ ।

यस्तो प्रकारको म्यासेज गर्नका लागि पहिले जस्तै सुरुमा फोटो अथवा भिडि‌ओ छनौट गर्नुहोस् र स्क्रिनको तल पट्टि दाहिनेमा भएको “1” बटन क्लिक गर्नुहोस् । 

अर्काइभ च्याट अपडेट 

यो महिनामा ह्वाट्सएपले ल्याएको अर्को नयाँ फिचर हो, तपाईंको च्याट अर्काइभ गर्ने व्यवस्था ।

योभन्दा अगाडि तपाईंले अर्काइभमा हाइड गरेर राख्नुभएको कोही एक जना व्यक्तिको च्याट होस् वा ग्रुप च्याट, त्यसमा नयाँ म्यासेज आउने बित्तिकै सो च्याट बक्स तपाईंको मेन च्याट टपमा आएर बस्थ्यो । तर अब भने यो समस्या हटेको छ ।

अब तपाईंले अर्काइभमा राख्नुभएको च्याट लुकेर नै बस्ने छ र कुनै नयाँ म्यासेज आएपनि तपाईंलाई नोटिफिकेसन आउने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१