close

नेटफ्लिक्सको शेयरमा इन्साइडर ट्रेडिङ गरी ३५ करोड कमाएको भन्दै पूर्वकर्मचारी विरुद्ध मुद्दा

टेकपाना टेकपाना

भदौ ४, २०७८ १२:४५

नेटफ्लिक्सको शेयरमा इन्साइडर ट्रेडिङ गरी ३५ करोड कमाएको भन्दै  पूर्वकर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । नेटफ्लिक्सका तीन सफ्टवेयर इन्जिनियरहरूमाथि ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोप लागेको छ । कम्पनीको आन्तरिक जानकारी बिक्री गरी ३० लाख अमेरिकी डलर (करिब ३५ करोड ४० लाख रुपैयाँ) आम्दानी गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा चलाइएको हो । 

एक पूर्व कर्मचारीसहित दुई अन्य जनाको नाम अदालतमा दाखिल गरिएको छ । उनीहरूले नेटफ्लिक्स सब्स्क्राइबर वृद्धि सम्बन्धी  संवेदनशील तथा गोप्य तथ्यांक दुरुपयोग गरेको यूएस सेक्युरिटी एक्सचेन्ज कमिसनको आरोप छ । 

नेटफ्लिक्सको उक्त जानकारी कम्पनीको  शेयर बिक्रीमा समेत उपयोग भएको एसईसी (यूएस सेक्युरिटी एक्सचेन्ज कमिसन) को दाबी छ । कम्पनीका पूर्व-कर्मचारी सुङ मो जुनमाथि गैरकानुनी ढङ्गले ग्राहक वृद्धि सम्बन्धी तथ्यांक पटकपटक दुरुपयोग गर्दै आएको आरोप छ ।

संवेदनशील जानकारीको उपयोग गरी उनले लामो समयदेखि अवैध रुपमा शेयर कारोबार गर्दै आएको कम्पनीको ठहर छ । बीबीसीमा प्रकाशित समाचार अनुसार कम्पनीमा कार्यरत रहँदा सन् २०१६ र २०१७ मा उनले सार्वजनिक गर्न नहुने गोप्य सूचनाहरू आफ्नो साथीभाइलाई बाँडेका थिए ।

उक्त सूचनाको आधारमा उनीहरूले आम्दानी सम्बन्धी नेटफ्लिक्सका घोषणाहरू आउनु अगावै व्यापारमा प्रयोग गरेका थिए । सुङ मो जुनले कम्पनी छोडेपछि उनले ग्राहक-वृद्धि सम्बन्धी संवेदनशील जानकारीहरू हासिल गरेको एसईसीको आरोप छ । 

नेटफ्लिक्स कर्मचारी र उनका सहयोगीहरू गोप्य सूचना हिनामिना गरी करोडौँ डलर नाफा कमाउने योजनामा  रहेको एसईसीको सान फ्रान्सिस्को क्षेत्रीय कार्यालयका निर्देशक एरिन स्नाइडरले जनाएका छन् । डेटा-विष्लेषण गर्ने उपकरणको प्रयोग गरी यस्तो शंकास्पद योजना पत्ता लगाइएको एसईसीले जनाएको छ ।

वाशिंगटनको पश्चिमी जिल्ला अदालतमा चारै प्रतिवादीहरूमाथि मुद्दा चलाइसकिएको छ र उनीहरूमाथि कानुन अनुसार कारबाहीका साथै जेल चलान समेत हुनसक्ने देखिएको छ । 

के हो इन्साइडर ट्रेडिङ ? 

सूचिकृत कम्पनीको शेयर, अथवा अन्य सेवा सम्बन्धी गोप्य सूचना र सर्वसाधारणको पहुँचभन्दा बाहिरका सूचनाहरूको खरिद बिक्री गर्ने काम नै इन्साइडर ट्रेडिङ हो । युरोप, अमेरिका लगायतका अन्य मुलुकहरूमा इन्साइडर ट्रेडिङलाई गैरकानुनी मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१