close

अनलाइन परीक्षा गर्न समस्या प्रविधिमा होइन, सोचमा छ

अर्पना आले मगर अर्पना आले मगर

भदौ ४, २०७८ १९:५७

अनलाइन परीक्षा गर्न समस्या प्रविधिमा होइन, सोचमा छ

कोरोना महामारीको असर सुरु भएदेखि नै शैक्षिक वृत्तमा अनलाइन कक्षा सम्बन्धी विभिन्न छलफल तथा विवाद हुँदै आइरहेका छन् । अनलाइन कक्षाकै माध्यमबाट अब अगाडि बढ्नुपर्छ भन्ने धारणा एकातिर छ भने अर्कोतिर नेपाल जस्तो सबैतिर आवश्यक पूर्वाधार नपुगेको देशमा अनलाइन माध्यम प्रयोगमा ल्याउनु समस्याको विषय हुने तर्क पनि रहेको छ । हालै मात्र भौतिक उपस्थितिमा गरिने परीक्षाको विरोधमा प्लस टु र स्नातक तहका विद्यार्थीहरूले सामाजिक सञ्जालमा ट्रेन्डिङ नै सुरु गरे । अनलाइन कक्षा सञ्चालन गर्न सकिने तर, अनलाइन परीक्षा सञ्चालन किन गर्न नमिल्ने भन्ने विद्यार्थीहरूको तर्क छ । तर उता सरकार भने देशभर सबैतिर आवश्यक पूर्वाधार नहुदाँ केही सीमित विद्यार्थीको पहुँच हेरेर मात्र अनलाइन परीक्षा सञ्चालन गर्न नसकिने बताउँछ । यसैबीच देशमा अनलाइन कक्षा र परीक्षाको सम्भावना र चुनौतीको विषयसँग सम्बन्धित रहेर काठमाडौं विश्वविद्यालयको स्कूल अफ इञ्जिनियरिङअन्तर्गतको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका डिन प्रा. डा. मनिष पोखरेलसँग टेकपानाका लागि अर्पना आले मगरले गरेको कुराकानी । 

गत वर्षदेखि सुरु भएको कोरोना महामारीको असर अझै पनि उस्तै छ । यस्तोमा काठमाडौं विश्वविद्यालयले पठनपाठन कसरी सञ्चालन गरिरहेको छ ?

गत वर्ष लकडाउन सुरु भए लगत्तै हामीले अनलाइन माध्यमलाई उपयोग गर्नुपर्छ भनेर आवश्यक निर्णय लिइसकेका थियौँ । हुन त यो महामारीको कारण लगाइएको लकडाउन हामी सबैका लागि नयाँ परिस्थिति थियो र हामी पनि अनलाइन शिक्षा लगायतका विषयहरूमा त्यति जानकार थिएनौं ।

यद्यपि हामीले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने स्थिति नभइसकेपछि अनलाइन माध्यमबाटै जानुपर्छ भन्ने विषयमा निश्चिन्त भइसकेका थियौं । त्यसपछि हामीले जुम, मिट, माइक्रोसफ्ट टिम्स लगायतका विभिन्न माध्यमहरू ‘एक्सप्लोर’ गर्‍यौँ ।

तर इन्जिनियरिङको विषयमा चाहिँ फिल्डमा नै गएर प्रयोगात्मक परीक्षा दिनुपर्ने हुँदा केही समस्या भयो । तर पनि स्वास्थ्य मापदण्ड पालना गरेर सम्भव भएसम्म त्यो पनि गर्‍यौँ ।

त्यस बेला काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टले अनलाइनबाट पढाउने मात्र होइन परीक्षा लिएर मूल्याङ्कन पनि गर्न थाल्यो । हामीले पठाएका प्रश्नावलीमा रहेर विद्यार्थीले जवाफ लेखेर फोटो खिचेर पनि पठाए ।

हामीले हाम्रो शैक्षिक शत्र नबिग्रिने हिसाबले अनलाइन कक्षा सञ्चालन गरेका थियौँ । गत वर्षसम्म मैले स्कुल अफ इन्जिनियरिङको डिन पद सम्हालिसकेको थिइनँ ।

चैत १ गते पदभार ग्रहण गरेपछि चैत २ गते मिटिङ राखेर भारतमा आएको दोस्रो लहरले नेपाललाई पनि छुने संकेत देखिएकाले हामी अहिलेदेखि नै तयार रहनुपर्छ भनेर त्यतिखेरै हाम्रा प्रयोगात्मक गतिविधि, वर्कशप आदिलाई पहिले नै सक्ने हिसाबले अन्य कक्षा अनलाइनमा गर्ने सहमतिका साथ अगाडि बढ्यौँ ।

त्यतिबेला हाम्रो होस्टेलमा एकजना विद्यार्थीलाई कोभिड संक्रमण पनि भएको थियो र उसलाई तत्कालै अस्पताल लगेर उपचार गरायौँ र अन्य विद्यार्थीको पनि परीक्षण गर्‍यौं । त्यसबेला परिस्थिति नियन्त्रणमै रह्यो ।

पहिलो लकडाउन भन्दा दोस्रो लकडाउनमा हामीलाई अनलाइन कक्षा सञ्चालन गर्न निकै सजिलो भयो ।  त्यो बेलादेखि हामी अहिले सम्म पनि अनलाइन कक्षामै निर्भर छौँ ।

सिकाइको हिसाबले भौतिक उपस्थितिमा हुने कक्षा र अनलाइन कक्षामा कत्तिको फरक महसुस गर्नुभयो ?

हुन त भौतिक जस्तो अनलाइन कक्षा प्रभावकारी हुँदैन । विशेषगरी विद्यार्थीको हिसाबले हेर्दा उनीहरू पढ्नको लागि मात्र कलेज जाने होइन । उनीहरू त नेटवर्किङको  लागि पनि कलेज जान्छन् ।

अनलाइन कक्षामा टिमवर्कको रुपमा काम गर्न पाउँदैनन् । यसरी हेर्दा अनलाइन कक्षा भन्दा भौतिक कक्षा नै प्रभाविकारी देखिन्छ । तर त्यसो भन्दैमा अनलाइन कक्षा प्रभावकारी छैन भन्ने चाहिँ होइन । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई अनलाइन कक्षा झनै प्रभावकारी लाग्यो ।

कक्षाकोठामा गएर परम्परागत तरिकाले पढ्ने भन्दा अनलाइनमा घरमै बसेर मोबाइल, ल्यापटप, ट्याबमा पढ्न पाउँदा विद्यार्थीहरूमा पनि छुट्टै उत्साह देखियो । अनि हाजिरी पनि शतप्रतिशत नै हुन थाल्यो ।

त्यस्तै पहिले पहिले विषयसँग सम्बन्धित अन्य सामग्रीहरू विभिन्न वेबसाइटमा छन् है, घर गएर हेर्ने गर्नु भन्नुपर्थ्यो । तर अहिले स्थिति त्यस्तो छैन । विषयसँग सम्बन्धित अन्य सामग्रीहरू तत्कालै अनलाइन कक्षाकै बीचमा मैले विद्यार्थीहरूलाई शेेयर गर्न सक्छु ।

यस हिसाबले चाहि शिक्षकको रुपमा पढाउन मलाई सजिलो भएको छ । सिकाइको कुरा गर्ने हो भने दुई प्रकारको हुन्छ; एउटा शिक्षकको आधारमा र अर्को विद्यार्थीको रुपमा । शिक्षकको आधारमा विद्यार्थीले शिक्षकले पढाएको आधारमा परीक्षामा लेख्छ र पास हुन्छ ।

तर विद्यार्थीको रुपमा हुने सिकाइमा विद्यार्थीले शिक्षकले पढाएको भन्दा पनि बढी आफैँले खोजेर पढेर आफ्नो ज्ञानको दायरा बढाइरहेका हुन्छन् । कहिलेकाहिँ त विद्यार्थीले शिक्षकले भन्दा पनि बढी सिकिरहेको हुन्छ । अनलाइन कक्षाले यो दायरलाई झन् धेरै बढाइदिएको छ ।

अनलाइनबाट पढ्दा सिकाइ कम हुने भन्ने हुँदैन । हाम्रै केही शिक्षकहरूले अनलाइनमा म्याथम्याटिक्स (गणित) पढाउन गाह्रो भयो भन्नुहुन्छ । तर शिक्षकहरूले पनि त नयाँ माध्यमबाट पढाउन सक्नेगरी आफूलाई अपडेट गर्नुपर्‍यो नि ।

अनलाइन क्लास त जसोतसो चलिरहेकै छन् । तर अनलाइन परीक्षाको विषयलाई भने धेरैले असम्भव जस्तो ठानिरहेको देखिन्छ । यहाँहरूले  चाहिँ यो विषय कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

अनलाइन कक्षाको कुरा गर्नुपर्दा मलाई लाग्छ हामीले अहिलेसम्म पनि वास्तवमा अनलाइन कक्षा भनेको के हो भनेरै बुझ्न सकेका छैनौँ । अनलाइन भनेको भौतिक कक्षामा हामीले जे पढाउछौँ, त्यही कुरालाई अनलाइनको माध्यमबाट पढाउने भन्ने होइन ।

कुनै पनि विषय भौतिक रुपमा पढाउँदा र अनलाइन माध्यमबाट पढाउदा बिल्कुलै फरक तरिकाबाट पढाउनुपर्छ । जुम, मिट, टिम्सबाट पढाउनु भनेको एउटा माध्यमबाट पढाएको जस्तै हो ।

तर वास्तविक अनलाइन कक्षा भनेको फरक हुन्छ । दिगो रुपमा हेर्ने हो भने अनलाइन कक्षाको व्यवस्था र प्रणालीको बारेमा बुझ्न जरूरी छ र काठमाडौँ विश्वविद्यालयले यो कुरालाई मनन गरेर अहिले डिजिटल लर्निङ इकोसिस्टम सेन्टरको स्थापना गरेको छ ।

यो सेन्टरले विशेष गरेर विषयसँग जानकार शिक्षक र सिकाइ सम्बन्धी शिर्षकलाई एकै ठाउँमा ल्याएर विद्यार्थीले कुन विषयको बारेमा अनलाइन माध्यमबाट कसरी प्रभावकारी रुपमा पढाउन सकिन्छ भनेर योजना बनाउने तथा कार्यान्वयन गर्ने काम गर्दछ । यो सेन्टरलाई हामी छिट्टै नै सञ्चालनमा ल्याउँदैछौँ ।

यसमा शिक्षकहरूले आफ्नो विषयसँग सम्बन्धित विभिन्न भिडिओ सामग्रीहरू बनाएका हुन्छन् । देशभर छरिएर रहेका हाम्रा विद्यार्थीहरूलाई हामी त्यो रेकर्ड गरेको भिडिओ पठाउछौँ । अनि कक्षा मात्र होइन, विद्यार्थीहरूको मूल्याङ्कन गर्न पनि सजिलो भएको छ ।

अनलाइन शिक्षाको मूल्याङ्कन गर्ने विभिन्न तरिकाहरू छन् । त्यस मध्ये एक हो ‘रिमोट प्रोक्टरिङ सिस्टम’ । यो प्रणाली आर्टिफिसियल इन्टलिजेन्समा आधारित प्रणाली हो ।

यसले परीक्षाको समयमा क्यामेरा अगाडि बसेको विद्यार्थीले गरेको सम्पूर्ण गतिविधि निगरानी राख्नसक्छ । उसले टाउको हल्लाएको देखि लिएर उसले आखाँ मात्र चलाएको छ भने पनि त्यो मसिनले डिटेक्ट गर्नसक्छ ।

यो प्रणालीले वरिपरिको आवाज पनि डिकेक्ट गर्नसक्छ । यो प्रणाली बजारमा सजिलै गरी उपलब्ध छ ।

अब डिजिटलको जमानामा हामीले यस्ता प्रविधिहरूको बारेमा बुझ्न जरुरी छ । यो धेरै महँगो नपर्ने भएको हुदाँ परीक्षाहरूको लागि हामीले यो प्रणाली सहज रुपमा प्रयोग गर्न सक्छौँ ।

प्रविधि समस्या होइन, समस्या भनेको हाम्रो सोच हो । हामीले आफूलाई परिवर्तन गर्ने अठोट गर्‍यौँ भने प्रविधि आफैँ आउँछ । हामीले कुनै काम गर्न सक्दैनौँ र त्यो सम्भव छैन भनेर बस्यौँ भने त्यो कहिल्यै पनि पुरा हुँदैन ।  

काठमाडौं विश्वविद्यालय त अलिक सम्पन्न अथवा मध्यम वर्गीय विद्यार्थीहरूले पढ्ने विश्वविद्यालय हो र सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरू पनि सहर केन्द्रीत नै छन् । अनि विद्यार्थी संख्या पनि कम छ । त्यसैले नै काठमाडौं विश्वविद्यालयको अनुभव अरुका लागि सान्दर्भिक छैन भन्ने पनि छन् नि !

पहिलो कुरा त काठमाडौं विश्वविद्यालयमा सम्पन्न घरका विद्यार्थीहरू मात्र पढ्छन् भन्ने कुरा नै होइन । हामीसँग सहरका भन्दा पनि ६० देखि ७० प्रतिशत विद्यार्थी गाउँबाट आएका छन् ।

अर्को कुरा भनेको यो तर्क फुटबल खेलाडीले म धेरै दर्शक भएको भन्दा थोरै दर्शक भएको ग्राउन्डमा राम्रोसँग खेल्न सक्छु भने जस्तै हो । दर्शक कति छन् भन्ने कुराले राम्रो खेलाडीको खेलमा असर गर्दैन ।

अनलाइन कक्षा र परीक्षा पनि त्यस्तै हो । बरु प्रविधिले झनै सहज बनाइदिएको छ । देशमा भएका विविध कारणलाई देखाएर काम गर्न सक्दैनौँ भनेर हामी जहिले पनि बहाना मात्र खोज्छौँ । 

तर प्रविधिको कुरा गर्ने हो भने अहिले देशको मोबाइल पेनिट्रेसन १३५ प्रतिशत छ भने करिब ७० देखि ७५ प्रतिशत मान्छेको हातमा स्मार्टफोन छ । यो धेरै राम्रो कुरा हो । अहिलेको स्मार्टफोनको क्षमता हेर्ने हो भने नासाले १९६९ मा चन्द्रमामा यान पठाउन प्रयोग गरेको कम्प्युटर भन्दा पनि धेरै शक्तिशाली छ ।

तर हामी स्मार्टफोन म्यासेज लगायत सञ्चारमा मात्र प्रयोग गर्छौं । यदि त्यही स्मार्टफोन हामीले शैक्षिक कार्यको लागि प्रयोग गर्ने हो भने इन्टरनेट गाउँगाउँमा पनि पुग्नसक्छ र यो असम्भव पनि छैन । हामीले सक्दैनौँ भनेर बस्यौँ भने कहिले पनि सक्दैनौँ । तर हामीले यो सक्छौँ भनेर अगाडि बढ्यो भने पो गर्न सकिन्छ । पूर्वाधार समस्या नै होइन ।  

तर अनलाइन कक्षाका लागि समेत आवश्यक पूर्वाधार पर्याप्त नरहेको अवस्थामा नेपालको सन्दर्भमा अनलाइन परीक्षा त्यति सान्दर्भिक नदेखिएको पो हो कि ?

पहिलो लकडाउन लगत्तै एउटा प्यानल डिस्कसन भएको थियो । जसमा नेपालबाट मैले सहभागिता जनाएको थिएँ भने अन्य सहभागीहरूमा जापानका एक प्रोफसेर र फिनल्याण्डबाट त्यहाँको शिक्षा मन्त्री लगायत अन्य सहभागिहरू पनि थिए ।

जापान जस्तो प्रविधिमा सम्पन्न देशको राजधानी टोकियोमा पनि हरेक विद्यार्थीसँग ल्यापटप नभएको कुरा ती प्रोफेसरले बताएका थिए । यसको अर्थ पूर्वाधारको समस्या नेपालमा मात्र होइन, जापानमा पनि छ ।

त्यस्तै फिनल्याण्ड जस्तो शैक्षिक क्षेत्रमा अब्बल भएको देशको शिक्षा मन्त्रीले पनि अचानक देशमा लकडाउन गर्ने भने पछि अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा धेरै अन्यौल उत्पन्न भएको सुनाएका थिए । यसको अर्थ समस्या नेपालमा मात्र छैन ।

तर समस्याको सही पहिचान गरेर त्यसलाई सम्बोधन गर्नुपर्ने काम हामीले गरेनौँ । त्यसैले हुनसक्छ देशको ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच राम्रो छैन । तर काठमाडौंमा मै पनि त इन्टरनेटको उपलब्धता राम्रो छैन ।

एकचोटी म मेलम्चीको एकदमै दुर्गम गाउँ मानेखर्कमा गएको थिएँ । एक विहान एउटा बुढो बुबा हलो जोत्दा जोत्दै पोल्टोबाट फोन झिक्नुभयो र केही बेर स्क्रिनमा हेरेर बोलेर फोन राख्नु भयो ।

पछि हामीले सोधेपछि थाहा पायौँ, उहाँको नातीले मलेसियाबाट फोन गरेको रहेछ । अरु केही चलाउन नआए पनि हरियो थिचे पछि फोन उठ्छ भन्ने उहाँलाई थाहा छ र यसरी नै उहाँ आफ्नो नातिसँग स्काइपमा भिडियो कल गर्नुहुन्छ ।

यसको अर्थ हाम्रो शैक्षिक व्यवस्था नै ठिक छैन । हामीले प्रविधि प्रयोग गर्न सिकाउने हो । कतिपय कुराहरू हामी आफैँले सिक्यौं ।

तर हाम्रो जस्तो अल्पविकसित देशमा प्रविधि बारे सचेतनाको नाममा सैद्धान्तिक कुराहरू मात्र सिकाइरहेका छौं । प्रविधिको प्रयोग गर्नै पर्छ भन्ने बाध्यता भयो भने आफैँ सिकिन्छ । प्रविधि छैन होला अथवा कनेक्टिभिटी छैन होला ।

तर त्यही समस्या हो भन्ने चाहिँ होइन । यदि छैन भने उपलब्ध गराउनु पर्‍यो नि । कोरोना महामारीको सबैभन्दा ठूलो पाठ भनेको नै प्रविधिको प्रयोग हो  ।

अबको जमाना भनेको प्रविधिको जमाना हो र ‍अब छैन भनेर हुँदैन । समस्या छ भने, कसरी सामाधान गर्ने भनेर सोचेर अगाडि बढ्नुपर्छ । यो महामारीले यसको लागि हामीलाई सम्झाइदिएको छ । अब पूर्वधार छैन, हामी सक्दैनौं भनेर हुँदैन ।  

यहाँहरूको अनुभवको आधारमा व्यवस्थित रुपमा अनलाइन परीक्षा सञ्चालन गर्न कस्तो किसिमको पूर्वाधार तथा प्रक्रिया आवश्यक देख्नुहुन्छ ? 

पहिलो कुरो हरेक विद्यालय अथवा विश्वविद्यालयले प्रविधिमा केन्द्रित भएर एउटा शैक्षिक केन्द्र बनाउनु जरुरी छ । त्यो केन्द्र भनेको एउटा मिनि डेटा सेन्टर जस्तो होस् । जसमा सबै विषयको डिजिटल सामग्री होस् ।

अहिले चलिरहेको जस्तो भौतिक कक्षामा प्रयोग हुने सामग्रीलाई डिजिटाइज गरेर अनलाइनमा देखाएर पढाएको जस्तो होइन । अनलाइनको छुट्टै नीति नियम पाठ्य सामग्रीहरू प्रयोग गरेर अनालाइन कक्षा सञ्चालन गर्नु आवश्यक छ ।

त्यसपछि पढाइको दुई ओटा माध्यम हुन्छ, सिन्क्रोनस र असिन्क्रोनस (सबैले एकै समयमा पढ्न सक्ने र सबैले फरक फरक समयमा पढ्न सक्ने) । यो प्रविधि प्रयोग गरेर पनि हामीले अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ ।

जसले सम्पूर्ण पाठ्य सामग्री स्टोर गरेर राख्छ । यसको लागि धेरै खर्च र ठूलो ठाउँको आवश्यकता पनि हुँदैन । यसले कक्षा सञ्चालनमा सहयोग पुर्‍याउँछ ।

त्यसपछि परीक्षाको लागि ‘प्रकटोरिङ मेकानिजम’ हुन्छ । यो पनि दुई किसिमको हुन्छ; ‘फरमेटिभ’ र ‘सम्मेटिभ’ । ‘फरमेटिभ’ भनेको वस्तुगत मूल्याङ्कन हो ।

जहाँ प्रकृया भन्दा जवाफलाई बढी प्राथमिकता दिइन्छ । ‘सम्मेटिभ’ भनेको पराम्पगत रुपमा गरिने मूल्याङ्कन भन्दा एकदमै फरक हो । वर्षभर पढेर तीन घण्टामा दिएको परीक्षाको आधारमा हुने मूल्याङ्कनले विद्यार्थीहरूको सही मूल्याङ्कन हुँदैन ।

मूल्याङ्कनको प्रकृया फरक हुने बित्तकै हाम्रो परीक्षाको प्रकृया पनि परिवर्तन भैहाल्छ । त्यसैले अनलाइन परीक्षा सम्भव छ । तर यसको लागि गर्न सकिन्न भन्ने बाहना भन्दा पनि गर्न सकिन्छ भन्ने सोच राख्न जरुरी छ । 

आन्तरिक परीक्षाहरू त अन्य विश्वविद्यालय तथा कलेजले पनि सञ्चालन गर्दै आइरहेकै छन् । तर यहाँहरूसँग फाइनल लेभलको कुनै परीक्षा अनलाइनबाट गरिसकेको अथवा गर्ने तयारीमा रहेको त्यस्तो केही अनुभव छ ? 

काठमाडौं विश्वविद्यालयका सबै कक्षा र परीक्षा अनलाइन गरेका छौं र परीक्षाको तरिकाको लागि विषयगत शिक्षकलाई नै जिम्मा दिएका छौँ । उहाँहरूले आफ्नो विद्यार्थीको परीक्षा कुनै प्रस्तुति गर्न लगाएर, प्रोजेक्ट गर्न लगाएर, भाइभा लिएर अथवा अन्य कुनै माध्यमबाट कसरी मूल्याङ्कन गर्दा ठीक हुन्छ, त्यही हिसाबले विद्यार्थीको परीक्षा लिने जिम्मा दिइएको छ ।

जे गरे पनि अनलाइन माध्यमबाट गर्नुपर्छ । किन कि कोरोना संक्रमणको त्रास अझै पनि विद्यमान नै छ र भौतिक रुपमा परीक्षा लिदाँ एक जना मात्र विद्यार्थीलाई संक्रमण भयो भने पनि समस्या हुन्छ । त्यसैले शिक्षकलाई हामीले विश्वास गरेर परीक्षा सञ्चालन गर्न दिएका छौँ ।

यदि शिक्षकहरूलाई पढाउदा विश्वास गर्न सकिन्छ भने मूल्याङ्कन गर्दा किन नसक्ने ? यसरी शिक्षककै जिम्मामा हामीले परीक्षा सञ्चालन र मूल्याङ्कन गरिरहेका छौँ । प्रयोगात्मक परीक्षाको विषयमा भने स्थिति सहज भएको बेलामा भौतिक रुपमा नै सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने योजनामा छौँ । 

धेरै विद्यार्थी भएको खण्डमा त परीक्षा सञ्चालन गर्न असहज हुनसक्छ नि !

यस्तै कारणले १२ कक्षाको परीक्षा पनि स्थगित भएको छ । वास्तवमा भन्ने हो भने असहजता त हाम्रो शैक्षिक प्रणालीमा छ ।

शिक्षाको लागि देशमा कुनै कदम नचालिएको पनि होइन । चन्द्र शमशेरको समयमा नै त्रिचन्द्र कलेजको स्थापना भएको थियो ।

त्यसपछि १९५६/५७ तिर त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । काठमाडौं विश्वाविद्यालय १९९१ मा स्थापना भयो । यद्यपि हाम्रो शैक्षिक प्रणाली पढाउने भन्दा पनि परीक्षा लिनेमा नै केन्द्रित थियो र आज पनि छ ।

शिक्षकले कसरी पढाए र विद्यार्थीले राम्रोसँग सिके कि सिकेनन् भन्ने कुराको अनुगमन कहिल्यै गरेनौं । मात्र परीक्षा गरेर राम्रो मूल्याङ्कन गरिनुपर्छ भन्नेमा मात्र केन्द्रित भयौं ।

यसले गर्दा विद्यार्थीमा एक किसिमको तनाव पैदा गर्‍यो । जसले गर्दा उनीहरू परीक्षादेखि त्रसित हुन थाले । यसले गर्दा विद्यार्थी आफैँ पनि सिक्नुभन्दा पनि अङ्क ल्याउनुमा तल्लिन हुन्छ । उदाहरणको लागि पहिले पहिले एसएलसी परीक्षालाई फलामको ढोका भनिन्थ्यो ।

त्यसले नै विद्यार्थीलाई तनाव दिइरहको हुन्थ्यो । झन् त्यसमाथि घर परिवारले राम्रो अङ्क ल्याउनु पर्छ भनेर दबाब दिने, अरुको विद्यालयमा गएर परीक्षा दिनुपर्ने । त्यसमाथी प्रहरीहरूको निगरानी ।

यस्तो किसिमको वातावरणमा एउटा विद्यार्थीले राम्रोसँग परीक्षा दिन्छ भनेर हामीले कसरी अपेक्षा गर्न सक्छौँ ? हामी मात्र मूल्याङ्कनमा केन्द्रित छौं । यसको अर्थ मूल्याङ्कन नै हुनुहुदैँन भन्ने चाहिँ होइन । 

चाहे १२ कक्षाको होस् वा एसईई दिने विद्यार्थीहरूको, सबैको मूल्याङ्कन हुनुपर्छ । तर मूल्याङ्कन जसले पढाएको छ उसलै गर्ने हो । मैले विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूको परीक्षाको कपी मूल्याङ्कन गरेको छु ।

उसले लेखेको आधारमा मैले उसको मूल्याङ्कन गरिरहेको हुन्छु । जुन एकदमै गलत हो । तर यदि मैले आफैँले पढाएको विद्यार्थीको मूल्याङ्कन गरेँ भने मलाई थाहा हुन्छ कि को विद्यार्थीले कत्तिको पढ्न सक्छ ।

यदि राम्रो विद्यार्थीले पनि फाइनल परीक्षामा राम्रो प्रस्तुति गर्न सकेन भने उसको कक्षाको पफर्मेन्सको आधारमा मैले उसको मूल्याङ्कन गर्छु । अहिलेको अवस्थाामा सरकारले १२ कक्षाको परीक्षा स्थगित गर्नु एकदमै राम्रो कदम हो ।

यसको मूल्याङ्कनको लागि अनलाइन माध्यमहरू पनि छन् । यदि सम्भव छैन भने आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीलाई अङ्क दिने कुरामा हामीले शिक्षकहरूलाई विश्वास त गर्नै पर्छ । अब भौतिक रुपमै कक्षामा गार्ड राखेर परीक्षा गराउनै पर्छ भन्ने जमाना गइसक्यो । 

नेपालको जस्तो पूर्वाधार संरचना रहेको मुलुकमा अनलाइन परीक्षा सञ्चालन गर्दा त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउने विषयमा पनि अन्यौलता रहेको पाइन्छ । यसमा चाहिँ तपाईंको बुझाई के छ ?

यो एकदम गलत हो । अहिलेको विश्व नै कोरोना महामारीबाट प्रभावित छ । विश्वको कुनै पनि देशको शैक्षिक क्षेत्रमा यो महामारीको असर परेको छैन भन्न मिल्दैन ।

विश्वभर नै शिक्षाको लागि अनलाइन माध्यम प्रयोगमा आएको छ । गत वर्ष मात्रै म आफैँले रिकमेन्डेसन गरेको विद्यार्थीहरूले विदेशका राम्रा विश्वविद्यालयमा आफूलाई इनरोल गरेर यहीँबाट अनलाइन कक्षा लिइरहेका छन् ।

कतिको त पहिलो सेमेस्टर पनि सकिसक्यो । त्यसैले हाम्रो ग्रेडिङ मान्य हुँदैन भन्ने कुरा गलत हो । 

अनलाइन कक्षाको यति धेरै सम्भावना हुँदाहुदै पनि हाम्रो देशमा अझै पनि यसलाई विवादको विषय बनाइएको छ । यसमा तपाईंको धारणा के छ ? 

यो विवाद गर्नुपर्ने विषय होइन । यो त हामीले छलफल गरेर अगाडि बढ्ने विषय हो । अहिले समाज परिवर्तन भइसकेको छ ।

कोरोना महामारीले त झन अनलाइन माध्यमको दायरालाई बढाइदिएको छ । परिवर्तित समयसँगै हामी पनि परिवर्तन हुनुपर्छ ।

म आफैँलाई पनि यो भन्दा अगाडि जुमबारे थाहा थिएन । तर अहिले यो मेरो बानी भइसकेको छ । कोरोनाले शिक्षा लगायत स्वास्थ्य, पर्यटन, वैदेशिक नीति जस्ता क्षेत्रहरूमा जुन परिवर्तन ल्याएको छ, त्यसलाई हामीले अंकमाल गर्नैपर्छ ।

तर सुरुमै हामी सक्दैनौँ, यो अनलाइन माध्यममा जान सक्दैनौँ भन्ने सोच लिएर हिड्यौँ भने त्यो कहिल्यै पनि गर्न सक्दैनौँ । त्यसैले यसमा प्रविधि समस्या हुँदै होइन । हामीसँग भएको प्रविधि प्रशस्त छ । मात्र त्यसको सही उपयोग गर्‍यौँ भने व्यवस्थित रुपमा अनलाइन परीक्षा सम्भव छ ।   

हामी अहिले कोरोनाको तेस्रो लहरको चरणमा छौँ । तत्कालको गर्जो टार्ने उपायको रुपमा सुरु भएको अनलाइन कक्षा तथा वैकल्पिक सिकाइ अब त नियमित अभ्यास जस्तो बनिसकेको छ । यस्तोमा अब अनलाइन कोर्षकै तयारीमा लाग्नुपर्ने बेला भएन र ?

वास्तवमा हामीले अनलाइन कक्षाको महत्त्व बुझेर धेरै अगाडि देखि नै यसलाई कार्यन्वयन गर्नुपर्ने हो । तर हामी धेरै अबेला भइसक्यौँ । आफूलाई अपग्रेड गर्न कोरोनाले फेरि मौका दिएको छ ।

तर नेपालीहरूमा चाँडो बिर्सने बानी छ । २०७२ सालको भूकम्प पनि हामीले धेरै छिटो भुल्यौँ । हुन त त्यो एउटा विपद थियो । त्यसलाई भुल्नु राम्रो हो । तर त्यसले सिकाएको पाठ पनि हामी भुल्छौँ र अर्कोपटकको लागि तयारी गर्दैनौँ । 

यही कोरोनामा पनि पहिलो लहर पछि दोस्रो लहर आउँदासम्म मान्छेहरूले कोरोना नै भुलिसक्यौँ । त्यसैले त अहिले पनि बाटोमा हिँड्दा देखिने भिडले कोरोना छैन जस्तो लाग्छ । यसरी नै भोलि हामीले स्थिति सहज भएर भौतिक कक्षा सुरु गरिसकेपछि अनलाइनको बारेमा बिर्सिन्छौँ ।

भविष्यमा फेरि अर्को महामारी आउन सक्छ भन्ने कुरा नै भुल्छौं र भोलि आउने विपद्को लागि हामी तयारी नै गर्दैनौँ । उदाहरणका लागि ताइवानको ताइपेई विश्वविद्यालयले कोरोना महामारी सुरु भएपछि एकदिन पनि नरोकी अनलाइन कक्षा सञ्चालन गर्‍यो र संक्रमणको स्थिति सहज हुँदा पनि केही विषयहरूको लागि अनलाइन कक्षालाई नै निरन्तरता दियो ।

किनभने भोलिको दिनमा फेरिि यस्तै समस्या आयो भने अनलाइनमै जान पर्छ भन्ने सोचले प्रोफेसरहरूलाई तालिम दिनुपर्छ भनेर अनलाइन कक्षालाई निरन्तरता दिइरह्यो । त्यस्तै विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेको बेलामा सिङ्गापुरमा पढाइ मात्र होइन, त्यहाँको दैनिक गतिविधि एकदिन पनि रोकिएन ।

किनभने उनीहरूले सन् २००१ मा फैलिएको सार्स संक्रमणको बेला नै भविष्यमा फेरि यस्तै रोग आयो भने कसरी नियन्त्रण गर्ने भनेर तयारी गरिसकेका थिए । यसले गर्दा उनीहरूलाई धेरै विपद भएन ।

त्यसैेले हामीले पनि पहिलो लहर पछि नै दोस्रो लहरको तयारी गर्नुपर्थ्यो । अहिले पनि हामीले त्यसरी नै भोलि आउने दिनको लागि सम्झिएर तयारी भने गरिरहनुपर्छ । 

नेपाल जस्तो अल्पविकसित देशमा अनलाइन कक्षाको विषयमा उठेका विभिन्न समस्याहरूलाई कसरी सम्बोधन गर्न सकिएला ?

पहिलो कुरा हामीले हाम्रो स्कुलिङ नै परिवर्तन गर्नपर्छ । विद्यालयको शिक्षा भनेको आधार शिक्षा हो । जसको आधारमा कलेज अथवा विश्वविद्यालयको शिक्षा अगाडि बढ्छ । यसर्थ परिवर्तन भनेको सुरुदेखि नै गर्नुपर्छ ।

अर्को कुरा सरकार आफैँ पनि यो विषयमा स्पष्ट भइनसकेको हुन सक्छ । अनलाइन कक्षालाई वैकल्पिक शिक्षाको रुपमा लिइन्छ । तर वैकल्पिक भनेको अनलाइन माध्यमबाट पढ्नु मात्र होइन । यसको सम्पूर्ण प्रकृया नै फरक हुन्छ ।

जसको बारेमा सरकार आफैँ पनि स्पष्ट छैन । यसले गर्दा कक्षाहरू राम्रोसँग सञ्चालन हुन सकिरहेका छैनन् र परीक्षा पनि रोकिरहेको छ । यदि हामीले समयमै यसको सान्दर्भिकता, यसको फाइदा र बेफाइदाको विषयमा बुझेको भए यस्तो समस्या हुँदैन थियो ।

तर अझै पनि धेरै ढिला भइसकेको छैन । यो वैकल्पिक माध्यमलाई व्यवस्थित गरेर लान जरुरी छ । यदि ग्रामीण क्षेत्रमा कनेक्टिभिटी छैन भने पुर्‍याउनुपर्छ । फेरि आज भोलिको दिनमा मोबाइल नबोक्ने कोही पनि हुँदैन ।

यदि विद्यार्थीहरूसँग छैन भने पनि उनीहरूको लागि व्यवस्था गरिदिने नीति ल्याउनुपर्‍यो । त्यसैले मलाई अनलाइन कक्षा सम्भव छैन भन्ने चाहिँ लाग्दैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१