close

आखिर को हो सामाजिक सञ्जालमा एकाएक भाइरल “रामबहादुर” ?

अर्पना आले मगर अर्पना आले मगर

भदौ ४, २०७८ २०:५७

आखिर को हो सामाजिक सञ्जालमा एकाएक भाइरल “रामबहादुर” ?

काठमाडौं । सामाजिक सञ्जाल विशेष गरेर ट्वीटरमा बिहीबारदेखि एउटा नाम एकदमै चर्चित भइरहेको छ “राम बहादुर” । ट्वीटरको हालको ट्रेन्डिङमा राम बहादुर भन्ने नाम छ । यता फेसबुकमा पनि राम बहादुरको नामका पोस्ट शेयर भइरहेका छन् ।

यतिबेला सामाजिक सञ्जालका केही प्रयोगकर्ता राम बहादुरको नाममा विभिन्न ट्रोल र पोस्टहरू शेयर गरिरहेका छन् भने केही प्रयोगकर्ता रामबहादुर को हो र एकाएक यो नाम सामाजिक सञ्जालमा कसरी आयो भनेर अचम्मित बनेका छन् । यसको वास्तविकता कुरा सुरु हुन्छ सञ्जय सिलवाल गुप्ताको पोडकास्ट भिडियोबाट ।

बुधबार गुप्ताले ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतिसँगको अन्तरर्वार्ता आफ्नो युट्युब च्यानलमा राखेका थिए । यो समाचार तयार पार्दासम्म सो भिडियो २५ हजारभन्दा बढीले हेरिसकेका छन् ।

तर त्यही भिडिओ अन्तर्वार्तामा बोलेको ‘रामबहादुर’को प्रसंग अहिले सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । यससँगै अहिले रामबहादुर ट्वीटरको ट्रेन्डिङमा छ । बुधबार प्रसारण भएको “मेक इन नेपाल” शीर्षकको यो भिडियोको एउटा सानो अंश गुप्ताले युट्युबको स्टोरीमा राखेका थिए ।

जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेष गरेर त्यो नाम जुन सौरभ ज्योतीले कार्यक्रममा लिएका थिए ।

देशको व्यापार घाटाको विषयलाई लिएर गुप्ताले देशमै बनेका उत्पादनहरू र आयातित वस्तुमा कसरी सन्तुलन ल्याउन सकिन्छ भनेर गरेको प्रश्नमा ज्योतीले देशकै सामान प्रयोग गर्नुपर्ने कुरालाई जोड दिदैँ “रामबहादुर” को नाममा एउटा उदाहरण दिएका थिए  । 

“नेपालीलाई नै नेपाली उत्पादनको बारेमा सचेतना छैन । हामीले हाम्रो सोच बदल्नुपर्छ,” यति भनेर उदाहरण दिँदै उनी थप्छन्, “रामबहादुर भन्ने एउटा साधारण नेपाली, अलार्म क्लक बज्छ, उठ्छ अनि निभाउँछ । त्यो अलार्म क्लक चीनमा बनेको हो ।”

“किचनमा जान्छ र आफ्नो लागि अमेरिकामा बनेको केलोक्सको सिरेल बनाएर खान्छ । लिभाइसको जिन्स लगाउँछ अनि बङ्गलादेशको शर्ट लगाउँछ । अनि जापानमा बनेको मोटरसाइकल चढ्छ र जागिर खोज्नको लागि निस्किन्छ ।”

दिनभर जागिर खोजेर थाकेर रामबहादुर घर फर्केपछिको कथा उनी यसरी सुनाउँछन्, “थाकेर घर फर्किएपछि उ मलेसियामा बनेको सोफामा बस्छ । फ्रान्समा बनेको वाइन गिलासमा हाल्छ र ब्राजिलमा बनेको चप्पल लगाउँछ । चीनमा बनेको टेलिभिजन हेर्छ र उ आफ्नो लागि राम्रो आम्दानी हुने जागिर नेपालमा किन पाइएन भनेर सोच्छ ।” 

उनले बोलेको यही कुराले नै अहिले सामाजिक सञ्जाल तताएको हो । सामाजिक सञ्जालमा साधारण नेपाली भनेर जुन रामबहादुरलाई चिनाइएको छ, त्यो वास्तविक रामबहादुरसँग मेल नखाने भन्दै उनको आलोचना पनि भइरहेको छ ।

अनेका नामक एक प्रयोगकर्ताले ज्योतीको भिडिओ ट्वीटरमा शेयर गर्दै लेखेकी छन्, “म दुविधामा छु, कुन चाहीँ साधारण बेरोजगार नेपालीले लेभाइसको जिन्स लगाउछ र दिनभर मोटरबाइकमा जागिर खोज्न गएर नपाएपछि घर फर्कन्छ र फ्रेन्च वाइन खान्छ ?”

नेपालमा होन्डा बाइकको आधिकारिक विक्रेता ज्योती ग्रुपलाई व्यङ्ग्य गर्दै अस्मिता प्रधान लेख्छिन, “के हामी होन्डा र बास्किन रोबिन्स भन्दै नेपाली उत्पादनको प्रबर्द्धन गरिरहेका छौं ? तपाईंले जे देखिरहनु भएको छ, म पनि त्यही देखिरहेको छु । एउटा महङ्गो मोटरबाइकको साथमा रामबहादुर । ”

ज्योतीलाई गिज्याउदै थुप्रै मिमहरू पनि ट्वीटर र फेसबुकमा शेयर भएका छन् भने टिकटकमा विभन्न भिडियोहरू बनेका छन् ।  त्यति मात्र होइन, ज्योतीले पूर्व गृहमन्त्री रामबहादुर थापा को उदाहरण दिएको भन्दै उनको फोटो सहितको मिम पनि आइरहेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो ट्रोल र मिम शेयर भएपछि शौरभ ज्योतीले फेसबुक मार्फत आफ्नै ट्रोल गरिएको फोटो शेयर गर्दै आफ्नो भनाईको स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, “धेरैजनालाई हाँसो लागिरहेको छ र थोरैले मात्र मैले दिन खोजेको सन्देश बुझेका छन् ।”

“मेरो भनाईंमा म थप स्पष्ट हुनुपर्ने कुरा पनि म आफैँले महसुस गरेको छु । जुन कार्यक्रममा म थिएँ, त्यसले लक्षित गरेको केही निश्चित समूहको उदाहरण दिएर हामीले (म सहित) हाम्रो दैनिकीमा नेपाली उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो सन्देश थियो । हामी सबै सचेत भएर नेपालमै बनेको उत्पादन र सेवालाई प्रबर्द्धन गर्नुपर्छ ।” 

केहीले भने हामी सबै रामबहादुर हौँ भन्दै ज्योतीको समर्थन पनि गरेका छन् । पेशल के लम्साल ज्योतीको भिडिओ शेयर गर्दै आफ्नो ट्वीटमा लेख्छन्, “देशबाहिर हामी सबै राम बहादुर हौँ । यद्यपि हाम्रो संघर्ष र भाग्यको आधारमा हाम्रो परिस्थिति फरक हुनसक्छ । तपाईं कुन रामबहादुर ?”

रामबहादुरको नामबाट सुरु भएको यो बहसले सामाजिक सञ्जालमा नेपाली उत्पादनको प्रयोग र प्रबर्द्धनको विषयलाई भने ऊर्जा दिएको छ । मान्छेहरू सामाजिक सञ्जालमा ज्योतीको ट्रोल बनाउने मात्र होइन, नेपाली उत्पादनको विषयमा आफ्नो धारणा पनि व्यक्त गरिरहेका छन् ।

स्वप्निल आचार्य लेख्छन्, “मजाक एकातिर छ तर नेपाली उत्पादन प्रयोग गर भन्नु र गर्नुमा फरक छ । किनभने नेपाली उत्पादन महँगा छन् ” उनको पोस्ट शेयर गर्दै सुयोग लेख्छन्, “सौरभ ज्योतीलाई व्यङ्ग्य गर्नुभन्दा यो विषयमा छलफल गर्नु राम्रो हो ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१