close

विपद जोखिम न्यूनीकरणका लागि फेलोशिप आह्वान, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ १२, २०७८ ९:२०

विपद जोखिम न्यूनीकरणका लागि फेलोशिप आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्रत्येक वर्ष नेपालमा प्राकृतिक र गैरप्राकृतिक प्रकोपका कारण धेरै मात्रामा मानवीय, भौतिक र पर्यावरणीय क्षति हुने गरेको छ । सम्भावित क्षति न्यूनीकरणका लागि समयमै नागरिकलाई सचेत बनाउनुका साथै उचित क्षति नियन्त्रण र व्यवस्थापनको जरुरी छ ।

विपद न्यूनीकरणका लागि बेलाबेला विभिन्न सचेतना कार्यक्रम हुँदै आएका छन् । विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका गतिविधिलाई प्रभावकारी ढंगले सहयोग गर्न नेपाल सरकारले ‘बिल्डिङ इन्फर्मेसन प्लेटफर्म अगेन्स्ट डिजास्टर’ (BIPAD) नामक एकीकृत आपतकालीन सूचना प्रबन्धन प्रणाली विकास गरेको छ ।

हरेक स्थानिय निकायसँगको समन्वयमा तथ्याङ्कको संकलन गर्ने उद्देश्यले यस राष्ट्रिय अवधारणाको विकास गरिएको हो । यसैबीच जोखिम न्यूनीकरणका लागि युवालाई लक्षित गरी ‘युथ इनाेभेसन ल्याब नेपाल’ ले एक फेलोशिपको आयोजना गरेको छ ।

यूएसएड नेपालसँगकाे सहकार्यमा युथ इनाेभेसन ल्याबले ल्याएकाे उक्त फेलोशिपमा युवा इन्जिनियर एवं जोखिम न्यूनीकरणमा स्नातक गरेका विद्यार्थीहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ ।

सहभागीहरुले विभिन्न सरकारी निकाय र स्थानीय निकायमा विपत व्यवस्थापन सम्बन्धी काम गर्नुपर्नेछ । यो अभियान नगरपालिका र सरकारको सहकार्य नभई यसले व्यक्तिगत र व्यवसायिकतामा पनि सघाउ पुर्‍याउने इनोभेसन ल्याबकी संयोजक गोमा कार्कीले बताइन् ।

जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सरकारलाई कार्ययोजना बनाउन र कार्यान्वयन गर्न युवाको भूमिका महत्वपूर्ण हुने उनकाे भनाइ छ ।

याे कार्यक्रमबाट युवाको क्षमता, प्रतिभा र अनुभवलाई परिचालन गरी प्रविधिलाई स्थानीय तहमा स्थानान्तरण गर्न र स्थानीय तहलाई क्षमतावान बनाउन र विपदपछिको समन्वयमा सहयोग पुग्ने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जनाए ।

फेलोशिपमा अप्लाई गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१