close

विश्वभरबाट ५५ हजार कर्मचारी भर्ना गर्दै अमेजन

टेकपाना टेकपाना

भदौ १८, २०७८ २०:१९

विश्वभरबाट ५५ हजार कर्मचारी भर्ना गर्दै अमेजन

काठमाडौं । अमेजनले प्रविधि र कर्पोरेट अन्तर्गत विभिन्न पदहरूमा विश्वभरबाट ५५ हजार कर्मचारी थप गर्ने योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण अनलाइन व्यवसाय, डिजिटल एड्भरटाइजिङ र क्लाउड कम्प्युटिङ लगायतका क्षेत्रहरू अत्याधिक रुपमा फस्टाएपछि अमेजनले विश्वभर रहेको आफ्नो नेटवर्कमा कर्मचारी थप्न लागेको हो ।

गत जुलाईमा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले कम्पनीलाई द्रुत गतिमा अगाडि बढाउन विश्वभरका विभिन्न स्थानहरूमा कर्मचारी थप गर्ने बताएका थिए । विश्वभरका विभिन्न देशहरू मध्ये सबैभन्दा बढी ४० हजार जना कर्मचारी अमेरिकामा थपिने छन् ।

त्यस्तै करिब २५ सय कर्मचारी बेलायत र अन्य कर्मचारी भारत, जर्मनी र जापानमा थप गरिने कम्पनीले बताएको छ । बेलायतमा लन्डन, म्यानचेस्टर, क्याम्ब्रिज र एडिनबर्गको गोदाम र कार्यालयका लागि नयाँ कर्मचारी मागिएको छ ।

बेलायतकै अन्य नेटवर्कहरूमा भने आगामी दिनमा कर्मचारी थप गर्ने कम्पनीले जनाएको छ। यही मे महिनामा अमेजनले बेलायतमा मात्र करिब १० हजार कर्मचारी थप गर्ने बताएको थियो । तर पुराना कर्मचारीहरू फर्किने आशामा अमेजनले कर्मचारीको मागको मिति केही पर सारेको थियो । 

कर्मचारी माग गर्ने कुरा जेसीले आफ्नो पहिलो अन्तर्वार्तामा अन्तर्राष्ट्रिय एजेन्सी रोयटर्सलाई बताएका थिए । रिटेल, क्लाउड कम्प्युटिङ र विज्ञापन लगायत अन्य क्षेत्रहरूमा पनि बजारको माग बढेपछि कामलाई गति दिन कर्मचारी अभाव भएको उनले बताएका थिए ।

यस लगायत कम्पनीको ब्रोडब्यान्ड पहुँच बढाउनको लागि अन्तरिक्षमा कम्पनी आफैले भू-उपग्रह प्रक्षेपण गर्ने योजना समेत बनाएको छ, जसलाई प्रोजेक्ट कुपर नाम दिइएको छ । यसका लागि पनि थप प्राविधिक जनशक्तिहरू आवश्यक पर्ने उनको भनाई रहेको छ । 

कम्पनीका अनुसार माग गरिएका कुल कर्मचारी मध्ये २० प्रतिशत अर्थात दुई लाख ७५ हजार कर्मचारी प्रविधि र कर्पोरेट क्षेत्रमा काम गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३