close

कर भुक्तानीमा अनिवार्य ‘ई-टीडीएस रिटर्न’ पेश गरी भेरिफाइ गर्न विभागको आग्रह

टेकपाना टेकपाना

भदौ १९, २०७८ ९:१२

कर भुक्तानीमा अनिवार्य ‘ई-टीडीएस रिटर्न’ पेश गरी भेरिफाइ गर्न विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई कर भुक्तानीमा अनिवार्य ‘ई-टीडीएस रिटर्न’ पेश गरी भेरिफाइ गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै विभागले आयकर ऐन २०५८ को परिच्छेद १७ बमोजिम कर भुक्तानी गर्न सम्पूर्ण करदातालाइ आग्रह गरेको हो ।

नेपालमा स्रोत भएका रोजगारीबाट प्राप्त आय, व्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिसन, अवकाश भुक्तानी लगायत अन्य प्रतिफल वा रकम भुक्तानी गर्दा तोकिए बमोजिम कर कट्टी गरी विद्युतीय माध्यमबाट ई-टीडीएस रिटर्न ( eTDS Return) पेश गरी भेरिफाइ (Verify) गर्नुपर्ने कानूनी व्यवस्था छ ।

तर कतिपय सरकारी निकाय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, निजी क्षेत्रका संघसंस्थाले तोकिए बमोजिम कर कट्टी गरेको, तर तोकिएको ढाँचामा ई-टीडीएस रिटर्न पेश गरी भेरिफाइ नगरेको विभागले जनाएको छ ।

त्यस्तै कतिपय निकाय वा संस्थाहरुले ई-टीडीएस रिटर्न पेश गरे तापनि स्थायी लेखा नम्बर उल्लेख नगरी विवरण पेश गरेका कारण सम्बन्धित करदाताहरुले आय विवरण पेश गर्दा उक्त टीडीएस रकम रकम दावी गर्न नसकेको भन्ने गुनासोसमेत आएको छ ।

‘यसले गर्दा आय विवरण पेश गर्न करदातालाई झन्झट सिर्जना भएको छ । तसर्थ भुक्तानी गर्दा स्रोतमा कट्टी गरी दाखिला गरिएको करको विवरण, भुक्तानी गरिएको अवधि, राजस्व शीर्षक नम्बर, सम्बन्धित करदाताको स्थायी लेखा नम्बर आदि विवरणहरु समावेश गरी तोकिएको ढाँचामा ई-टीडीएस रिटर्न पेश गरी भेरिफाइ गर्नु/गराउनु हुन सम्बन्धित सबैमामा अनुरोध छ,’ विभागकाे सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३