close

त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन सुरु

टेकपाना टेकपाना

भदौ २१, २०७८ ९:५९

त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ४७औं दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आवेदन फारम संकलन सुरु गरेको छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअन्तर्गत सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पी.एच.डी) तह पुरा गर्नेहरूले मात्र भर्न पाउने छन् ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ । दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।

कसरी भर्ने ?

अनलाइनबाट दीक्षान्त समारोहको आवेदन भर्न सुरुमा यहाँ क्लिक मा क्लिक गर्नुहोस् र आवश्यक विवरण भर्नुहोस् ।

आवेदन फाराम भर्दा एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टहरूको स्क्यान कपी अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ । अनलाइन आवेदन सब्मिट गर्दा सम्पूर्ण पीडीएफ डकुमेन्टहरू प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भएपश्चात गाउन स्कार्फ लिन आउँदा सो कागजात परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नुपर्नेछ ।

अनलाइनबाटै आवेदन शुल्कः दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीले आवश्यक शुल्क समेत अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि नेपाल बैंक र ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङ प्रयोग गर्नुपर्नेछ ।

स्नातक तहका लागि दुई हजार दुई सय रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि दुई हजार सात सय रुपैयाँ र विद्यावारिधिका लागि तीन हजार २०० रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क तोकिएको छ भने गाउन एवम् स्कार्फका लागि १५०० रुपैयाँ तिर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३