काठमाडौं । स्मार्टफोन कम्पनी ओप्पोले फाइभजी प्याटेन्ट उल्लंघन गरेको भन्दै टेलिकम्युनिकेसन कम्पनी नोकियाविरुद्ध मुद्दा दायर गरेको छ ।
ओप्पोले चीन र युरोपमा नोकिया विरुद्ध एकै पटक विभिन्न मुद्धा दर्ता गराएको हो । दर्ता भएका सबै मुद्दा फाइभजीसँग सम्बन्धित छन् ।
यसअघि नोकियाले पनि आफ्नो बौद्धिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै ओप्पोविरुद्ध मुद्दा दर्ता गराएको थियो ।
चिनियाँ ब्राण्ड ओप्पोले अनुमति सकिएपश्चात पनि कतिपय पेटेन्ट प्रयोगमा ल्याएको भन्दै नोकिया त्यसबेला अदालत पुगेको थियो ।
पेटेन्टको दुरुपयोगको विषयमा नोकियाले युरोपका साथै एसियाली देशमा पनि मुद्दा दर्ता गराएको थियो । जसमा छिमेकी राष्ट्र भारतमा समेत ओप्पोविरुद्ध मुद्दा दर्ता भएको थियो ।
नोकियाले दर्ता गराएका कतिपय पेटेन्टका साथै कम्पनीको इन्टरफेस, सेक्युरिटी फिचर बिना अनुमति ओप्पोले प्रयोगमा ल्याएको आरोप कम्पनीको थियो ।
नोकियाले आफू विरुद्ध मुद्दा दर्ता गराएको विषयको प्रतिशोधको रुपमा ओप्पोले हाल फाइभजीमा नोकिया विरुद्ध मुद्दा दर्ता गराएको हुन सक्ने आँकलन गरिएको छ ।
ओप्पोले हालेको मुद्दाका विषयहरू भने हालसम्म बाहिर आएको छैन ।