close

के हो ब्याण्डविथ अन डिमान्ड ? यस्तो छ नेपालको अवस्था

अर्पना आले मगर अर्पना आले मगर

भदौ २५, २०७८ १३:५६

के हो ब्याण्डविथ अन डिमान्ड ? यस्तो छ नेपालको अवस्था

काठमाडौं । अहिलेको समयमा इन्टरनेट ब्याण्डविथ सञ्चारको सबैभन्दा ठूलो संसाधन हो । जसलाई सामान्यतः मासिक रुपमा बिक्री गरिन्छ । ग्राहकले महिनाको हिसाबले आफूलाई उपयुक्त प्याकेज छनौट गर्दछन् ।

तर मानिसहरूले आफ्नो आवश्यकता अनुसार अतिरिक्त रुपमा समेत ब्यान्डविथ खरिद गर्दछन् । जसलाई ब्याण्डविथ अन डिमान्ड भन्ने गरिन्छ । ब्यान्डविथ अन डिमान्ड एउटा यस्तो तरिका हो, जसमा तपाईंले इन्टरनेटमा धेरै ट्राफिक हुँदा समेत बिना व्यवधान काम गर्न सक्नुहुन्छ । ब्याण्डविथ अन डिमान्डको बढी प्रयोग वाइड एरिया नेटवर्क (वान) मा गरिन्छ ।

ता कि आवश्यक परेको अवस्थामा ब्याण्डविथको क्षमता बढाउन सकियोस् । यो तरिका प्रयोग गरेर एउटा शेयर्ड टेलिकम्युनिकेसन नेटवर्कमा ब्याण्डविथको क्षमता बढाउन सकिन्छ । ग्राहकले केवल त्यति मात्रै ब्यान्डविथिको भुक्तानी गर्दछ, जति उसले खपत गरेको हुन्छ ।

सेवाप्रदायकले दिने यस्तो कनेक्सनमा अतिरिक्त ब्याण्डविथ क्षमता समेत हुने गर्दछ । उदाहरणका लागि तपाईंले ५० एमबीपीएस गतिको इन्टरनेट कनेक्सन लिनु भएको छ । तर त्यसमा १०० एमबीपीएस गतिसम्मको क्षमता हुने गर्दछ ।

तपाईंले चाहेको खण्डमा ५० एमबीपीएस गतिभन्दा बढी समेत प्रयोग गर्न सक्नुहुन्छ । त्यसो त कतिपय समय सेवाप्रदायकले बिना शुल्क अतिरिक्त ब्याण्डविथ समेत उपलब्ध गराइरहेका हुन्छन् ।  अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने धेरैजसो सेवाप्रदायक यस्तो सेवा आफ्ना प्रयोगकर्तालाई दिइरहेका हुन्छन् ।

क्लाउड कम्प्युटिङ, अनलाइन भिडियो सर्भिस, मोबाइल ब्रोडब्यान्ड आदिको प्रयोग बढेपछि ब्याण्डविथको आवश्यकता पनि बढ्दै गएको छ । फरक हिसाबले बढेको मान्छेको आवश्यकतालाई त्यसै गरी सम्बोधन गर्नको लागि ब्याण्डविथ अन डिमान्डको धारणा आएको हो ।

यो सेवाले प्रयोगकर्तालाई ब्याण्डविथको राम्रो पहुँच त दिन्छ नै, यसले सेवाप्रदायकहरूलाई पनि रियल टाइममा नेटवर्क प्रयोगमा नियन्त्रण गर्न सहयोग समेत गर्दछ । यसले सेवाप्रदायकलाई डाइनामिक ब्याण्डविथ दिन मद्दत गर्छ भने प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार अस्थायी रुपमा ब्याण्डविथ अपग्रेड गर्ने सुविधा दिन्छ । 

यो सेवा विशेष गरी दुई प्रकारका हुन्छ, एउटा तत्काल प्राप्त हुन्छ भने अर्को सेड्युल हुन्छ । तत्काल पाउने सेवामा तपाईंले आफूलाई जुन बेला मन लाग्यो, त्यही बेला आवश्यक ब्याण्डविथ थप गर्न सक्नुहुन्छ ।

तर सेड्युल सेवामा भने तपाईंलाई एक हप्ता पछाडिको लागि अथवा अन्य कुनै प्रयोजनको लागि धेरै ब्याण्डविथ चाहिएको छ भने एक हप्ता अगाडि नै आफूलाई चाहिने अवधिभरका लागि इन्टरनेट ब्यान्डविथ थप गर्न सक्नुहुन्छ । यी दुवै सेवा प्रयोगकर्ताको लागि सस्तो र सुलभ हुन जान्छन् । 

यसबाट सेवा प्रदायकलाई के हुन्छ फाइदा ?  

  • प्रयोग नभएका नेटवर्कको क्षमतालाई उपयोग गर्न सकिन्छ 
  • आफ्नो आम्दानीको स्रोत बढाउन सकिन्छ 
  • आफ्ना ग्राहकरहरूको व्यक्तिगत आवश्यकता पुरा गर्न सकिन्छ

ग्राहकलाई हुने फाइदा 

  • अस्थायी रुपमा आवश्यक परेको समयमा मात्रै ब्यान्डविथ प्रयोग गर्न सक्ने सुविधा हुन्छ 
  • सस्तो मूल्यमा राम्रो र छिटो ब्रोडब्याण्ड प्रयोग गर्न सकिन्छ 
  • छिटो र सहज सेवा उपलब्ध हुन्छ    

ब्रोडब्याण्ड अन डिमान्डका विशेषता 

  • प्रयोगमा नआएका नेटवर्क अथवा पिक आवरभन्दा बाहिरको समयमा प्रयोग नहुने नेटवर्क कम ब्याण्डविथ प्रयोग गर्ने प्रयोगकर्तालाई आवश्यकता अनुसार अस्थायी रुपमा अतिरक्त मूल्यमा उपलब्ध गराउन सकिन्छ 
  • ब्याण्डविथ अन डिमान्ड अन्तर्गत विभिन्न प्याकेज जस्तै गेमिङ, स्टेडियम अथवा कुनै ठूलो कन्फ्रेन्सको लागि भनेर इन्टनेट उपलब्ध गराउन सकिन्छ  
  • भिडियो कन्फ्रेन्स लगायत मौसमी कार्यक्रमको लागि छुट्टै ब्याण्डविथ थप गरेर छिटो इन्टरनेट प्रयोग गर्न सकिन्छ 
  • सेवा प्रदायकको प्रमोसनको लागि केही सीमित ग्राहकहरूलाई पिक आवरभन्दा बाहिरको समयमा निश्चित समयको ब्याण्डविथ बुस्ट गर्न पनि सकिन्छ 
  • यसले गर्दा नेटवर्क कन्जेसन अर्थात साँघुरोपन नियन्त्रण गर्न सकिन्छ 
  • नेटवर्क हाइब्रिड मोडमा प्रयोग हुन्छ 

संसारभर धेरैजसो देशहरूमा यो सेवा प्राथमिकताका साथ लागू भएको पाइन्छ । छिमेकी राष्ट्र भारतमा पनि ब्यान्डविथ अन डिमान्ड सेवा एयरटेल, युब्रोडब्याण्ड लगायतका सेवाप्रदायकले अफर गरिरहेका छन् । 

गत वर्ष म्याक्सिमाइज मार्केट रिसर्च ले गरेको एक अध्ययन अनुसार ब्रोडब्राण्ड अन डिमान्ड सबैभन्दा बढी शिक्षा क्षेत्रमा प्रयोग भएको देखिन्छ भने दोस्रोमा गेमिङ र तेस्रोमा सूचना-प्रविधि क्षेत्र रहेको छ । त्यस्तै चौथोमा एरोस्पेस र पाँचौंमा कानूनी क्षेत्र रहेको छ । 

बजारको हिसाबले हेर्दा ब्याण्डविथ अन डिमान्डको सबैभन्दा ठूलो बजार उत्तर अमेरिका हो । युरोप, एसिया-प्यासिफिक, मध्य-पूर्वी तथा अफ्रिका र ल्याटिन अमेरिका क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

अध्ययन अनुसार विश्वबजारमा बेलायतको टेलिकम कम्पनी बीटी ग्रुपको सेवा सबैभन्दा राम्रो मानिन्छ । त्यस्तै दोस्रोमा अमेरिकाको सियना कर्पोरेसन र तेस्रोमा क्यानडाको कोर्सा टेक्नोलोजी रहेको छ ।    

के छ नेपालको अवस्था ?

विगत केही समयदेखि निजी इन्टरनेट सेवप्रदायक कम्पनी भायानेटले आफ्ना प्रयोगकर्ताहरूका लागि अल्ट्राबुस्ट सेवा दिइरहेको छ । यो सेवा अन्तर्गत प्रयोगकर्ताले आफूले चाहेको समयमा निश्चित डेटा खरिद गरेर आफ्नो ब्याण्डविथ १०० एमवीपीएससम्म बढाउन सक्छन् ।

डेटाको आधारमा कम्पनीले विभिन्न तीन ओटा प्याकेज अफर गरेको छ । हाललाई नेपालमा यस्तो सेवा दिने कम्पनी भायानेट एक्लो हो । तर, नेपालमा यो नै पहिलो सुरुवात भने होइन । यसअघि वर्ल्डलिङ्कले पनि इन्टनेट बुस्ट अफर ल्याएको थियो ।

तर बजारमा ग्राहकले यो अफर त्यति नरुचाएपछि उसले बन्द गरेको थियो । वर्ल्डलिङ्कका सीटीओ समित जन ब्याण्डविथ अन डिमान्डको विषयमा राम्रोसँग जानकारी नभएका कारण पनि बजारमा यसको माग नभएको हुनसक्ने बताउँछन् ।

‘हुन त कम्पनीहरूले नै यसको राम्रोसँग प्रमोसन गर्न नसकेका पनि हुनसक्छन् । तर वास्तवमा भन्ने हो भने नेपालमा ब्याण्डविथ अन डिमान्डको त्यति आवश्यकता पनि छैन,’ उनी भन्छन्, “औषत प्रगोकर्ताको हिसाबले हेर्ने हो भने धेरै जसो ग्राहकहरू आवश्यकता भन्दा बढीको इन्टरनेट प्रयोग गरिरहेका हुन्छन् ।”

एउटा घरमा चारदेखि पाँच जनाको लागि प्रयोग हुने औषत ब्याण्डविथ नै आवश्यकता भन्दा बढी देखिन्छ ।’ नेपालमा धेरै जसो ब्याण्डविथ युट्युव, फेसबुक, अनलाइन कारोबार लगायत सामाजिक सञ्जालमै प्रयोग हुने गर्छ ।

यसले गर्दा ब्याण्डविथ अन डिमान्डको माग नेपालमा खासै नभएकाले पनि कम्पनीहरूले यतातिर केही योजना नबनाएको हुनसक्ने उनको बुझाई छ । ‘कम्पनीहरूले यो सेवा दिन नसक्ने भन्ने होइन । तर नेपालमा यसको खासै माग नभएका कारण पनि यो प्रचलनमा नआएको हो,’ समित भन्छन् ।   

भायानेटका अनुसार कम्पनीका कुल प्रयोगकर्ता मध्ये करिब पाँच प्रतिशत प्रयोगकर्ताले हाल अल्ट्रा बुस्ट सेवा प्रयोग गरिरहेका छन् ।

केही सीमित व्यक्तिहरूको आवश्यकतालाई मात्र सम्बोधन गर्नका लागि यो सेवा उपलब्ध गराइएको हुँदा कम्पनी यस विषयमा सकारात्मक रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ अफिसर सहिन श्रेष्ठ बताउँछन् । उनका अनुसार हाल तीनदेखि चार हजार प्रयोगकर्ताले अल्ट्राबुस्ट प्याकेज प्रयोग गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५