close

के तपाईंलाई थाहा छ, ३१ वर्षअघि आजकै दिन सार्वजनिक विश्वकै पहिलो सर्च इन्जिन कुन थियो ?

टेकपाना टेकपाना

भदौ २५, २०७८ १९:१४

के तपाईंलाई थाहा छ, ३१ वर्षअघि आजकै दिन सार्वजनिक विश्वकै पहिलो सर्च इन्जिन कुन थियो ?

काठमाडौं । सर्च इन्जिन भन्ने बित्तिकै सबैको दिमागमा सबैभन्दा अगाडि आउने नाम हो, गुगल । हामी मध्ये कतिपयलाई त गुगल नै पहिलो सर्च इन्जिन हो भन्ने पनि लाग्न सक्छ । तर वास्तवमा विश्वको सबैभन्दा पहिलो सर्च इन्जिनको नाम ‘आर्ची’ हो ।

विश्वकै पहिलो सर्च इन्जिनको सुरुवात भएको आज ३१ वर्ष पुगेको छ । क्यानडाको मोन्टेरियलमा अवस्थित म्याकगिल विश्वविद्यालयका विद्यार्थी एलन इम्टेजले आफ्नो स्कुल प्रोजेक्टको रुपमा सन् १९९० को सेप्टेम्बर १० मा आर्ची सार्वजनिक गरेका थिए ।

डिजिटल आर्कियोलोजी सँगको अन्तर्वार्ताका अनुसार इम्टेज सन् १९८९ मा उक्त विश्वविद्यालयको सूचना प्रविधि विभाग अन्तर्गत स्नातक तहमा पढ्दै थिए । उनले विश्वविद्यालयका अन्य विद्यार्थी र विभागका विद्यार्थीहरूको लागि एउटा सफ्टवेयर बनाउनु पर्ने थियो ।

यसैबीच उनले विश्वकै सबैभन्दा पहिलो सर्च इन्जिनको विकास गरेका थिए । बिल हिलन र पिटर डोइचको पनि त्यसमा उत्तिकै योगदान रह्यो । इम्टेजले कोडिङ गरेपछि बिल र पिटरले प्रयोगकर्ताका लागि सर्च इन्जिन प्रयोग गर्न लगअनको स्क्रिप्ट तयार गरेका थिए ।

हामीले आज प्रयोग गर्ने विभिन्न सर्च इन्जिनभन्दा आर्ची  एकदमै भिन्न छ । प्रयोगकर्ताले यो सर्च इन्जिनमा लगअन गरेपछि पूर्ण रुपमा टेक्स्टमा मात्र आधारित सामग्रीहरू देखा पर्दछन् ।

अहिलेको जस्तो कुनै विज्ञापन अथवा ग्राफिक्सहरू यसमा केही पनि थिएनन् । इन्टरनेटको सुरुवात हुँदै गर्दा आर्ची फाइल ट्रासफर प्रोटोकल (एफटीपी) साइटहरूको इन्डेक्सको रुपमा परिचित थियो ।

कम्प्युटरहरू बीचमा एफटीपीले फाइलहरू ट्रान्सफर गर्ने काम गर्छ । तपाईंले खोजेको कुरा आर्चीमा भेटिएपछि त्यसभित्र के छ भनेर थाहा पाउन फाइल डाउनलोड गर्नुपर्ने हुन्थ्यो ।

हामीले प्रयोग गर्ने भाषाहरूको ठ्याक्कै किवर्ड नहुने हुँदा आर्चीमा कुनै पनि आवश्यक कुरा खोज्न तपाईंले चाहेको कुराको शब्द ठ्याक्कै राखेर खोज्नुपर्थ्यो । जस्तै यदि तपाईं बिल क्लिन्टनको तस्वीर खोज्न चाहनुहुन्छ र तपाईंले बिल मात्र टाइप गर्नुभयो भने बिल क्लिन्टनको फोटोको ठाउँमा अन्य बिल अर्थात् रसिदका फोटोहरू आउनसक्छन् ।

आर्चीपछि बजारमा आएका दुई सर्च इन्जिनहरू जगहेड र वेरोनिका हुन् । यसलगत्तै सन् १९९५ मा याहू र १९९७ मा गुगल सर्च सुरु भए । तीन दशकको यो अन्तरालमा हामीले प्रयोग गर्ने सर्च इन्जिनमा धेरै परिवर्तन आइसकेको छ । यस्ता सर्च इन्जिनले हाम्रो जीवनलाई धेरै नै सहज बनाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५