close

आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असोज ५, २०७८ १०:७

आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । एप्पलले सोमबार मात्रै आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ (आफ्नो आईफोनमा आईओएस १५ डाउनलोड गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । एक पटक तपाईंले यो ठूलो अपडेट गराएसँगै थुप्रै नयाँ फिचर प्रयोग गर्न पाउनु हुनेछ ।

त्यसमध्ये केही फिचरले तपाईंको आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । यहाँ हामी तपाईंलाई आईओएस १५ को अपडेटसँगै त्यसमा आएका नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ ।

१. ध्यानमग्न वा एकाग्र भएर आफ्नो काम गर्नुहोस्ः

नयाँ आईओएसमा आएको सबैभन्दा महत्वपूर्ण फिचर मध्येको एउटा हो, फोकस मोड । जुन तपाईंले मुख्य सेटिङ मेनुमै पाउन सक्नुहुन्छ । यो ‘डु नट डिस्टर्ब’ जस्तै फिचर हो ।

तर यसबाट तपाईंले घरमा भएको, काममा रहेको वा बिदामा बसेको अवस्थाका लागि नोटिफिकेसन प्राप्त हुने आफ्नै किसिमका नियम राखेर मिलाउन  सक्नुहुनेछ । यसबाट तपाईंले म्यासेज गर्ने व्यक्तिलाई समेत आफ्नो नोटिफिकेसन अफ रहेको जानकारी दिने विकल्प समेत पाउनु हुनेछ ।

२. आफूसँग शेयर गरिएको जानकारी हेर्नुहोस्ः

फोटोज, सफारी, एप्पल न्युज, एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभी सहित एप्पलको आईओएसमा रहेका अनेकौँ एपमा तपाईंले ‘शेयर्ड विथ यु’ नाम दिइएको नयाँ सेक्सन देख्नुहुनेछ ।

जुन तपाईंको सम्पर्कमा रहेका व्यक्तिले पठाएका म्यासेज तथा जानकारी प्राप्त गर्ने निकै सहज तरिका हो । यी एपभित्रैबाट त्यस्ता म्यासेजको प्रतिक्रिया समेत दिन सकिन्छ ।

३. नोटिफिकेसनको सारांशको प्राप्त हुने शेड्युल मिलाउनुहोस्ः

फोनमा आउने नोटिफिकेसनले पक्कै पनि तपाईंको दैनिक जीवनलाई सहज बनाइरहेका हुन्छन् । सेटिङ भित्र रहेको नोटिफिकेसन्समा तपाईंले अब ‘शेड्युल्ड समरी’ विकल्प पाउनु हुनेछ ।

जसको सहयोगमा तपाईंले नोटिफिकेसनलाई सीमित गर्न एप छनौट गर्ने र आफूले निर्धारण गरेको समयमा त्यसलाई प्राप्त गर्नेगरी मिलाउन सक्नुहुनेछ । ता कि यस्ता नोटिफिकेसन तपाईंलाई तुरुन्तको तुरुन्तै आउने भन्दा पनि तोकिएको समयमा मात्रै प्राप्त हुनेछन् ।

४. फेसटाइममा पोट्रेट मोडः

तपाईंले आईफोनको क्यामेराबाट फोटो खिच्दा ब्याकग्राउन्ड ब्लर हुने ‘पोट्रेट मोड’ अब फेसटाइमको कलमा समेत प्रयोग गर्न सकिने भएको छ । यसका लागि कलको दौरान ठूलो आकारमा हेर्न आफ्नो भिडिओ थम्बनेलमा ट्याप गर्नुहोस् र माथिल्लो बायाँ कुनामा देखिने पोट्रेट मोड आईकनमा दबाउनुहोस् । यसबाट तुरुन्तै तपाईंको ब्याकग्राउन्ड ब्लर हुन थाल्छ ।

५. आफ्नो स्वास्थ्यको जानकारी शेयर गर्नुहोस्ः

त्यसो त कुनै पनि व्यक्तिको स्वास्थ्य सम्बन्धी जानकारी उसको निजी मामिला हो । तर कहिले काहीँ आफ्नो जीवन साथी तथा पार्टनर र पाका अभिभावकसँग यस्ता जानकारी शेयर गर्नु राम्रो मानिन्छ ।

आईओएस १५ सँगै ‘एप्पल हेल्थ एप’ले मुटुको स्वास्थ्य देखि समग्र गतिविधि मध्ये कुन प्रकारको जानकारी मेडिकल आईडी मार्फत शेयर गर्ने भनेर छनौटको सुविधा दिन्छ । जुन तपाईंले कुन सम्पर्क व्यक्तिसँग शेयर गर्ने भन्ने विकल्प पनि हुन्छ ।

६. आफू कत्तिको सोझो भएर हिँड्नुहुन्छ, चेक गर्नुहोस्ः

आईओएस १५ को ‘हेल्थ एप’ मा तपाईंले ‘वाकिङ स्टेडिनेश’ नामक फिचर समेत देख्न सक्नुहुन्छ । यसले तपाईं कत्तिको ठाडो अर्थात सोझो किसिमले हिँड्नुहुन्छ भन्ने कुरा मापन गर्छ ।

यसको नामबाट यसले आफ्नो अर्को वर्षको अवस्था अन्दाज गर्न सक्नुहुन्छ । यदि तपाईंको हिँडाईमा परिवर्तन हुँदैछ भने यो एपले तपाईंलाई नोटिफिकेसनमार्फत चेतावनी समेत दिने गर्दछ ।

७. ‘आईक्लाउड प्राइभेट रिले’ प्रयोग गर्नुहोस्ः  

यदि आईक्लाउडका लागि पैसा तिर्ने गर्नु भएको छ भने तपाईंले आईओएस १५ सँगै आईक्लाउड प्लसका केही फिचर पाउनु हुनेछ । जसमा ‘आईक्लाउड प्राइभेट रिले’ समेत छ ।

यो एकप्रकारले भीपीएन राउट जस्तै हो र यसले तपाईंको सतर्कता र सुरक्षाका लागि सम्पर्कलाई इन्टरनेटमा इन्क्रिप्ट गरिदिन्छ । आोफ्नो आईफोनबाट आईक्लाउड  हुँदै ‘प्राइभेट रिले’मा गएर यो फिचर फेला पार्न सक्नुहुनेछ ।

८. ‘नट टु लस योर डिभाइस’ प्रयोग गर्नुहोस्ः

आईओएस १५ सँगै ‘फाइन्ड माई’ एपमा छुट्टै अलर्टको रुपमा नयाँ फिचर आएको छ । यो जस्तो सुनिन्छ, ठ्याक्कै त्यस्तै प्रकारको सुविधा हो । जब आईफोन म्याक, एप्पल वाच वा एयरट्याग जस्ता अन्य डिभाइसबाट अलग हुन्छ, त्यतिखेर यसले अलर्ट दिने गर्दछ ।

यसका लागि ‘फाइन्ड माई’ एपमा रहेको इन्ट्रीमा जानुहोस् र ‘नोटिफाई वेन लेफ्ट बिहाइन्ड’ नोटिफिकेसन अप्सन खोज्नुहोस् । जुन चाहिँ कम्प्याटिबल अर्थात यो फिचर सपोर्ट गर्ने डिभाइसमा देखा पर्नेछ ।

९. अक्षर पढ्न आफ्नो क्यामेराको सहयोग लिनुहोस्ः

आईओएस १५ मा थपिएको अर्को नयाँ फिचर हो लाइभ टेक्स्ट । जुन चाहिँ क्यामेरा र फोटोज् एपमा देख्न सकिन्छ । यो फिचरले कुनै पनि फोटोबाट अक्षर स्क्यान गर्न सक्छ । जसलाई तपाईंले सर्च गर्न वा कपी गर्न सक्नुहुन्छ ।

यसका लागि क्यामेरा प्रिभ्युमा गएर तल दायाँ तर्फ रहेको ‘लाइभ टेक्स्ट’ बटनमा ट्याप गर्नुहोस् । यो अप्सन क्यामेराको फ्रेममा अक्षर देखिएको अवस्थामा मात्रै खुल्ने गर्दछ ।

त्यस्तै फोटोज एपबाट आईओएसमा कुनै पनि स्थानमा भएको टेक्स्टमा ट्याप गर्न सक्नुहुन्छ । ‘लाइभ टेक्स्ट’ फिचर टाइप गरिएका र हस्तलिखित दुवै किसिमका अक्षरका साथै विभिन्न भाषामा काम गर्न सक्छ ।

१०. एप्पल म्यापमा थप विवरण हेर्नुहोस्ः

एप्पल म्यापमा केही निश्चित ठूला सहरमा जुम गर्नुहोस् । त्यहाँ तपाईंले गोल्डेन गेट ब्रिज जस्ता केही सुन्दर थ्रीडी ल्यान्डमार्क देख्न सक्नुहुनेछ । यो फिचरको वास्तविक सुविधा महसुस गर्न सान फ्रान्सिस्को, लस एन्जल्स, न्यु योर्क र लन्डन जस्ता सहर तपाईंका लागि राम्रो छनौट हुन सक्छन् ।

११. हिँड्दै गर्दा प्रभावशाली दिशानिर्देश प्राप्त गर्नुहोस्ः

यदि यो फिचरले सपोर्ट गर्ने सहरमा तपाईं हुनुहुन्छ भने एप्पल म्यापमा हिँड्ने बाटोको रुट लोड गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा वरिपरिको दृश्य स्क्यान गर्ने विकल्पका साथै प्रभावशाली एआर नेभिगेसन समेत पाउनु हुनेछ ।

१२. सफारी एक्सटेन्सन इन्स्टल गर्नुहोस्ः

जब तपाईं ब्राउजर एक्सटेन्सनको विषयमा सोच्नुहुन्छ, सामान्यतया तपाईंले सम्झिने भनेकै गुगल क्रोम हुन्छ । तर सफारीले पनि यो शर्टकटलाई सपोर्ट गर्न थालेको छ । आईफोनका लागि सफारीमा एक्स्टेन्सन उपलब्ध हुन थालेका छन् ।

सेटिङमा गएर सफारी हुँदै एक्स्टेन्सन्स मा जानु भयो भने तपाईंले पहिले देखि नै के के इन्स्टल गरिएका छन् भन्ने जानकारी पाउनु हुनेछ । जुन एक्सटेन्सन चाहिँ भर्खरै उपलब्ध गराइएका हुन् ।

त्यसपछि थप एक्स्टेन्सनको लागि ‘मोर एक्स्टेन्सन’ मा जानुहोस् र थप केही नयाँ प्लगईन खोजेर सूचीमा थप गर्नुहोस् ।

१३. सफारीमा ग्रुप ट्याबः

आईओएस १५ सँगै सफारीमा आएको अर्को नयाँ सुविधा भनेको ग्रुप ब्राउजर ट्याब हो । जसले ब्राउजिङलाई व्यवस्थापन गर्न थप सहज बनाउँछ ।

तल दायाँ तर्फ रहेको दुई ओटा आयाताकार देखिने बटन अर्थात टुलबार बटनमा ट्याब गर्नुहोस् र स्क्रिनको तल देखा पर्ने ‘ट्याब्स’ लाई छनौट गर्नुहोस् । त्यसपछि तपाईंले नयाँ ट्याब ग्रुप तयार पार्न सक्नुहुन्छ । यति गरेसँगै नयाँ ग्रुप तयार नपारेसम्म तपाईंले खोल्ने हरेक वेबपेज यसमा थपिँदै जानेछन् ।

१४. सफारीलाई रिफ्रेश गर्ने नयाँ तरिकाः

सानो तर सफारीका लागि उपयोगी नयाँ फिचर हो तानेर रिफ्रेश गर्ने सुविधा । जसले तपाईंलाई स्क्रिनको माथिल्लो भागमा ट्याप गरेर तलतर्फ ठेलेर वेबसाइट रिफ्रेश गर्ने सुविधा दिन्छ । सही तरिकाले खुल्न नसक्दा वेबपेज पुनः लोड गर्नका लागि यो फिचर उपयोगी छ ।

१५. सुधार गरिएको फोटो मेमोरिज् हेर्नुहोस्ः

फोटोज एपको मेमोरिजमा पनि तपाईंले अनेकौँ सुधार देख्न सक्नुहुन्छ । स्वचालित रुपमा तयार हुने स्लाइडशोमा अब एप्पल म्युजिकबाट सुझाईएको गीत समेत आउनेछ । जुन हेर्दा समेत एकदमै ताजा देखिन्छ ।

यसअघि भन्दा थप अन्तरक्रियात्मक र टेम्प्लेट पनि यसमा पाउन सकिन्छ । साथै मेमोरिजका लागि आईओएस १५ मा थप नयाँ क्याटेगोरी समेत उपलब्ध भएका छन् ।

१६. प्राइभेसीका लागि एपमाथि थप नियन्त्रण कायम गर्नुहोस्ः

यसका लागि आईओएस १५ मा अपग्रेड भइसकेपछि सेटिङमा गएर ‘प्राइभेसी’ लाई चयन गर्नुहोस् र तलतर्फ स्क्रोल गर्नुहोस् । त्यसको अन्त्यमा तपाईंले ‘रेकर्डेड एप एक्टिभिटी’को अप्सन फेला पार्नुहुनेछ ।

एक पटक अन गरिसकेपछि यो फिचरले कुन एपले लोकेसन, फोटो, कन्ट्याक्ट्स, क्यामेरा र माइक्रोफोनको अनुमति प्रयोग गरिरहेका छन् भन्ने विषयमा सात दिनसम्मको लग राख्ने गर्दछ । कुनै नराम्रो किसिमको व्यवहार देखाउने एप छ भने यो सूचीमा देख्न सकिनेछ ।

१७. ईमोजीमा थप विकल्पः

सामान्यतया आईओएस अपडेटसँगै थप इमोजी फिचर समेत विस्तार भएर आउने गर्दछ । यो क्रम आईओएस १५ मा पनि लागू भएको छ ।

म्याकबुक खुल्दै गरेको देखिने स्टिकर सहित एप्पलले विभिन्न नयाँ इमोजी थप गरेको छ । यसका साथै केही एक्सेसिबिलिटी फिचर समेत देख्न सकिन्छ ।

१८. आफ्नो ड्राइभिङ लाइसेन्स एप्पल वालेटमा राख्नुहोस्ः

यदि तपाईं अमेरिकामा हुनुहुन्छ र तपाईं रहेको राज्यले यसलाई साथ दिएको छ भने तपाईंले आफ्नो ड्राइभिङ लाइसेन्स एप्पल वालेटमा डिजिटल रुपमा राख्न सक्नुहुन्छ ।

यो सुविधा प्रयोग गर्ने तरिका एप्पल वालेटमा क्रेडिट कार्ड र ट्रान्जिट पास राखे जस्तै हो । यसका लागि स्क्रिनको अघिल्तिर रहेको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् र प्राप्त विकल्पहरू पच्छ्याउँदै जानुहोस् । ड्राइभिङ लाइसेन्सका साथै स्टेट आईडीलाई समेत सपोर्ट गर्दछ ।

१९. फेसटाइममा सँगसँगै मुभी हेर्नुहोस्ः

आईओएस १५ मा आएको एउटा अर्को आकर्षक फिचर भनेको शेयरप्ले हो । फेशटाइमको यो नयाँ टुलले तपाईंलाई आफ्ना प्रियजनसँग भिडिओ कल गर्दै एप्पल टिभी प्लस वा एप्पल म्युजिक जस्ता एपमा सँगसँगै टिभी तथा मुभी हेर्ने सुविधा दिन्छ ।

एप्पलका अनुसार यो नयाँ फिचर आईओएस १५ मा थप हुने क्रममा रहेको छ । यो फिचर, केही प्रयोगकर्ताले यस अघि नै बेटा भर्सनमा परीक्षण गरिसकेको फिचर हो । आशा गरौं यो फिचर आउन अब धेरै समय लाग्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१