close

सकियो वाइम्याक्सको अस्तित्व, फ्रिक्वेन्सी फिर्ता गर्दै टेलिकम

टेकपाना टेकपाना

असोज ८, २०७८ १३:०

सकियो वाइम्याक्सको अस्तित्व, फ्रिक्वेन्सी फिर्ता गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले गाउँगाउँसम्म जीएसएम तथा फोरजी सेवाको विस्तार भएसँगै आफ्नो पुरानो प्रविधि वाइम्याक्समा पूर्णरुपमा बन्द गरेको छ । वर्ल्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रोवेभ एक्सेस (वाइम्याक्स) फोरजीमै आधारित इन्टरनेट सेवा हो ।

टेलिकमले २०६९ कात्तिक २७ देखि सुरु यसको सुरुवात गरेको थियो । यो प्रविधि २०७३ कात्तिकसम्म देशका ७५ ओटै जिल्लामा पुगेको पनि थियो । तर, २०७४ मै कम्पनीले वाइम्याक्सलाई विस्थापन गर्ने घोषणा गर्‍यो । विश्व बजारमा वाइम्याक्सका लागि आवश्यक पूर्वाधार निर्माण नै बन्द भइसकेको र नयाँ प्रविधिको रुपमा फोरजी नेपालमा भित्रीसकेको अवस्थामा टेलिकमले वाइम्याक्सलाई बन्द गर्ने निर्णय गरेको थियो ।

त्यही रणनीति अनुरूप कम्पनीले पछिल्ला वर्षहरूमा यसको विस्तार पूर्ण रुपमा बन्द गर्दै आएको छ । भने, वाइम्याक्स प्रविधिमा आधारित इन्टरनेट सेवा प्रयोग गर्ने प्रयोगकर्तालाई पनि नयाँ विकल्पहरूमा रूपान्तरण गर्ने काम गरिरहेको छ । चालु आव २०७८/०७९ मा पनि टेलिकमले वाइम्याक्स प्रयोगकर्ता त्यसको विकल्पमा फोरजी सीपीई उपलब्ध गराउने कार्यक्रम राखेको छ ।

वाइम्याम्सलाई फोरजीमा रूपान्तरण गर्ने यो नै अन्तिम वर्ष बनाउने योजना टेलिकमको रहेको छ । ‘हामीले चालु आवमा वाइम्याक्स रूपान्तरणको कार्यक्रम राखेको छौं,’ टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘यो नै अन्तिम वर्ष हुन सक्नेछ । त्यसैले वाइम्याक्स प्रयोगकर्तालाई फोरजी सीपीईमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने काम भइरहेको छ ।’

सोही अनुरूप टेलिकमले हाल वाइम्याक्समा प्रयोग भइरहेको फ्रिक्वेन्सी सरकारलाई फिर्ता गर्ने भएको हो । टेलिकमले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमा ताररहित उच्च गतिको इन्टरनेट वाइम्याक्स सञ्चालन गरेको थियो । त्यसमध्ये २० मेगाहर्ज फ्रिक्वेन्सी सरकारलाई फिर्ता गर्ने निर्णय गरी प्राधिकरणलाई जानकारी समेत गराइ सकेको छ ।

टेलिकमले दिएको उक्त निवेदनकै आधारमा प्राधिकरण बोर्डले पनि टेलिकमले वाइम्याक्समा प्रयोग गर्दै आएको फ्रिक्वेन्सी फिर्ता लिने निर्णय गरेको छ । केही समय अघिमात्रै बसेको प्राधिकरण बोर्ड बैठकले टेलिकमसँग रहेको २३ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फिर्ता लिने निर्णय गरेको प्राधिकरणको स्रोतले जनाएको छ ।

बाँकी रहेको १० मेगाहर्ज फ्रिक्वेन्सी भने सीमित मात्रामा रहेको वाइम्याक्स प्रयोगकर्तामा रूपान्तरण नहुँदासम्म इन्टरनेटको निरन्तरताका लागि प्रयोग हुने अधिकारीले जानकारी दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१