close

पठाओ नेपालको ३ वर्ष पुरा, हजारौंलाई रोजगारी, लाखौंलाई डिजिटल सवारी सेवा

टेकपाना टेकपाना

असोज ९, २०७८ १९:५५

पठाओ नेपालको ३ वर्ष पुरा, हजारौंलाई रोजगारी, लाखौंलाई डिजिटल सवारी सेवा

काठमाडौं । समयक्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउने उद्देश्यसहित नेपालमा सेवा विस्तार गरेको राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले तीन वर्ष पुरा गरेको छ ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड शेयरिङमार्फत पठाओले सेवा सुरु गरेका थियो । नेपालजस्तो विकासोन्मुख देशमा पठाओमार्फत दुई पाङ्ग्रे सवारीमै हजारौंलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफूहरु अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात् ट्याक्सी सेवा मात्र जोडिएन, यसले क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बर्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ ।

अहिले राजधानीका ५० प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आवद्ध भएको बस्न्यात बताउँछन् ।

राइड शेयरिङ सुरु गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरु गरेको थियो ।

पठाओ फुड सुरु गरेको एक वर्षमै लोकप्रिय फुड डेलिभरी ब्राण्ड बनेको दाबी गर्दै बस्न्यातले यसको श्रेय आम उपभोक्तालाई नै जाने बताए । पठाओ फुड सुरु भएसँगै साइकल भएका व्यक्तिसमेतले फुडम्यानको रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड शेयरिङमा नेपालमै पहिलोपटक एभरेस्ट इन्स्योरेन्स सँगको सहकार्यमा बीमाको सुरुवात समेत गरेको छ ।

‘पार्टटाइम काम गर्न चाहनेलाई पनि पठाओले अवसर सिर्जना गरेको छ,’ बस्न्यात थप्छन् ‘विदेशतिर सानै उमेरमा विद्यार्थीहरु पार्टटाइम काम गरेर आत्मनिर्भर हुने प्रवृत्ति छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले नेपालमा पनि विद्यार्थीहरुले पठाओमा आफ्नो समयको सदुपयोग गर्दै अर्थोपार्जन गरिरहनुभएको छ।’

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरुपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि पठाओ बजार सुरु गरिएको थियो ।

हालै पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुवैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आईफोन १२ प्रो जित्ने मौका रहेको छ ।

पठाओ नेपालको यात्रा तेस्रो वर्ष पुरा गरेको यो खुशीको अवसरमा विज्ञप्ति जारी गर्दै बस्न्यात भन्छन् ‘नेपालको उत्कृष्ट राइड शेयरिङ कम्पनी बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण सेवाग्राही, मिडियाका साथीहरू, साझेदार कम्पनी, राइडर-क्याप्टेन र फुडम्यान साथीहरू तथा कार्यालयका साथीहरू प्रति कृतज्ञ छौं । यहाँहरुको साथ र सहयोग बिना यो यात्रा संभव थिएन। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१