close

तत्काल परिवर्तन गर्नैपर्ने कम्प्युटरका ‘डिफल्ट’ ८ सेटिङ, यस्तो छ तरिका

टेकपाना टेकपाना

असोज १६, २०७८ १२:२८

तत्काल परिवर्तन गर्नैपर्ने कम्प्युटरका ‘डिफल्ट’ ८ सेटिङ, यस्तो छ तरिका

काठमाडौं । विण्डोज ११ आफ्नै बाटोमा छ । तर विद्यमान अवस्थामा एक अर्बभन्दा बढी कम्प्युटरमा विण्डोज १० नै प्रयोग भइरहेको छ । तर धेरै प्रयोगकर्तालाई त्यस्ता डिफल्ट सेटिङको विषयमा जानकारी हुँदैन, जसले उनीहरूको जानकारी संकलन गरिरहेको हुन्छ ।

यसले तपाईंको सूचना अनावश्यक रुपमा संकलन मात्र भइरहेको हुँदैन, सँगसँगै बढी विज्ञापन र नोटिफिकेसन देखिनुका साथै कम्प्युटरलाई स्लो समेत तुल्याइरहेको हुन्छ । यदि तपाईं विण्डोज १० प्रयोगकर्ता हो भने यी डिफल्ट सेटिङमा नजर लगाउन केवल केही मिनेटको समय मात्रै दिए पुग्छ ।

यदि अन छन् भने आफ्नो गोपनीयता जोगाउन, स्पिड बढाउन र सहज बनाउन यस्ता सेटिङ अफ राख्न सक्नुहुन्छ । आज हामी तपाईंलाई विण्डोज १० का अफ गर्नुपर्ने यस्ता आठ सेटिङको बारेमा बताउँदै छौँ, जुन सुरुवाती तवरमा अन रहेका हुन्छन् ।

१. फायल शेयरिङ अपडेटः

विण्डोज १० मा थप भएको एउटा फिचर हो अप्टिमाइज्ड अपडेट डेलिभरी सिस्टम । जसले इन्टरनेटमार्फत अर्को विण्डोज टेन कम्प्युटरबाट अपडेट डाउनलोड गर्ने सुविधा दिन्छ ।

यसका लागि तपाईंको कम्प्युटरमा अपडेट शेयरिङ हब रहेको छ । डिफल्ट रुपमा अन रहने यो फिचर अफ गर्न सुरुमा कम्प्युटरको सेटिङ>अपडेट>सेक्युरिटी>एड्भान्स्ड अप्सन>डेलिभरी अप्टिमाइजेसनमा जानुहोस् र अलाउ डाउनलोड्स फ्रम अदर पीसीजको टोगल अफ गर्नुहोस् ।

२. दिक्क लाग्ने नोटिफिकेसन बन्द गर्नुहोस्ः

एपहरू, रिमाइन्डर, भर्खरै इन्स्टल गरिएको प्रोग्राम आदिको सबै नोटिफिकेसनमाथि सजिलै नियन्त्रण गर्न विण्डोज १० मा एक्सन सेन्टर रहेको छ । तर विण्डोज टिप्स जस्ता अनावश्यक नोटिफिकेसनको बाढीले प्रायः हैरान पार्न सक्छ ।

यसलाई नियन्त्रण गर्न सेटिङ>सिस्टम>नोटिफिकेसन्स एन्ड एक्सनमा जानुहोस् र गेट टिप्स, ट्रिक्स एन्ड सजेसन्स ह्वेन यू युज विन्डोज अथवा शो मि दि विण्डोज वेलकम एक्सपिरियन्स आफ्टर अपडेट्स एन्ड अकेजनल्ली ह्वेन आई साइन इन टु हाइलाइट ह्वाट्स न्यु एन्ड सजेस्टेड र छुट्टा छुट्टै एपको नोटिफिकेसनलाई के गर्ने तय गर्नुहोस् ।

३. स्टार्ट मेनु एड्सः

सम्भवतः तपाईंले स्टार्ट मेनुमा अनेक एप देख्दा पनि त्यहाँबाट कहिल्यै डाउनलोड गर्नुहुन्न । तर पनि माइक्रोसफ्टले आफ्नो विण्डोज स्टोरमा रहेका एपहरू पठाइरहन्छ ।

सुझावको आधारमा देखिने यस्ता एपहरू वास्तवमै विज्ञापन हुन् । यस्ता अनावश्यक एपको विज्ञापन बन्द गर्न सेटिङ>पर्सनलाइजेसन>स्टार्ट>शो सजेसन अकेजनल्ली इन स्टार्टमा जानुहोस् ।

४. थर्ड-पार्टी एपबाट आउने लक्षित विज्ञापनः

माइक्रोसफ्टले विण्डोज १० मा तपाईंको प्राथमिकता र ब्राउजिङ बानीव्यहोराको आधारमा ट्याबहरू राख्ने गर्दछ । तैपनि तपाईंसँग एउटा मौलिक किसिमको विज्ञापन आईडी (तपाईंको माइक्रोसफ्ट अकाउन्टसँग आवद्ध भएको) हुन्छ, जसलाई कम्पनीले तपाईंलाई लक्षित विज्ञापन देखाउनका लागि प्रयोग गर्दछ ।

यतिमात्र होइन, तपाईंले आफ्नो जानकारी शेयर गर्न नरोकेसम्म माइक्रोसफ्टले यस्तो विज्ञापन आईडी प्रोफाइल विण्डोज स्टोरमा रहेका अन्य थर्ड-पार्टी एपहरूलाई पनि प्रदान गर्दछ । यसलाई बन्द गर्न सेटिङ>प्राइभेसी>जनरल>लेट्स एप युज एड्भर्टाइजिङ आईडी टु मेक एड्स मोर इन्ट्रेस्टिङ टु यू बेस्ड अन योर एप एक्टिभिटी (यसलाई बन्द गरेपछि तपाईंको आईडी रिसेट हुन्छ) ।

५. कोर्टाना ‘गेटिङ टु नो यू’:

कोर्टाना विन्डोज १० मा रहेको उपयोगी पर्सनल असिस्टेन्ट (निजी सहयोगी) हो, जसले तपाईंका लागि संकलन गर्ने सूचनाले यसलाई अझ धेरै व्यक्तिगत बनाएको छ । कोर्टाना ‘गेट्स टु नो यू’ मार्फत बोली तथा हातले लेख्ने ढाँचा र टाइपिङ हिस्ट्री आदिको आधारमा सूचना संकलन गर्दछ, जसलाई तपाईंले अलिकति डरलाग्दो रुपमा समेत हेरिरहनु भएको हुनसक्छ ।

तपाईंले ‘गेटिङ टु नो यू’ मार्फत कोर्टानालाई बन्द गर्न सक्नुहुन्छ र आफ्नो उपकरणबाट सूचनाहरू सफाचट पार्न सक्नुहुन्छ । यसका लागि सेटिङ>प्राइभेसी>इंकिङ एन्ड टाइपिङमा जानुहोस् र टोगलको विकल्पलाई बन्द गरिदिनुहोस् ।

६. ब्याकग्राउन्डमा चलिरहेका एप बन्द गर्नुहोस्ः

विन्डोज १० को ब्याकग्राउन्डमा थुप्रै एप चलिरहेका हुन्छन् । यसको अर्थ तपाईंले ती एप खोल्नु भएको छैन भने पनि आफैँ डिफल्ट रुपमा चालु हुने गर्दछन् ।

यस्ता एपले सूचना प्राप्त गर्ने, नोटिफिकेसन पठाउने, अपडेट डाउनलोड तथा इन्स्टल गर्ने मात्र होइन, तपाईंको इन्टरनेट ब्यान्डविथ र ब्याट्री लाइफ समेत खाइदिने गर्दछन् । यदि तपाईंले इन्टरनेटका लागि मोबाइल डिभाइस वा डेटा प्रयोग गरिरहनु भएको छ भने यो फिचर बन्द गराउन सक्नुहुन्छ ।

यसका लागि सेटिङ>प्राइभेसी>ब्याकग्राउन्ड एप्समा जानुहोस् र लेट एप्स रन इन दि ब्याकग्राउन्डको टोगल बन्द गरिदिनुहोस् । यसमा तपाईंले कम्प्युटरमा रहेका एपलाई रोजेर एक एक गरेर समेत ब्याकग्राउन्डमा चल्न दिने कि नदिने भनेर तय गर्न सक्नुहुन्छ ।

७. स्वचालित सिंकिङ बन्द गर्नुहोस्ः

विन्डोज १० समग्र रुपमा सिंकिङ हुने सिस्टममा आधारित छ । तपाईंका साइन-ईन भएका डिभाइसहरूको बीचमा सिस्टम सेटिङ, थिमहरू, पासवर्डहरू, सर्च हिस्ट्री लगायतका सबै चिज डिफल्ट किसिमले सिंक भइरहेका हुन्छन् ।

तर तपाईं हामी धेरैले आफ्नो सबै सर्च हिस्ट्री आफ्नो फोनबाट कम्प्युटरसँग सिंक गर्न चाहँदैनौँ । यसलाई (थिम तथा पासवर्डसहित) बन्द गर्न सेटिङ>अकाउन्ट>सिंक योर सेटिङमा जानुहोस् । त्यहाँबाट तपाईंले सिंकिङ सेटिङलाई अफ गर्न अथवा निश्चित किसिमले सिंकिङ सेटिङ मिलाउन सक्नुहुन्छ ।

८. अटोमेटिक अपडेटः

विन्डोज १० ले अपडेटलाई स्वतः डाउनलोड तथा इन्स्टल गर्ने काम गर्दछ र तपाईंले वास्तवमा त्यसलाई रोक्न पनि सक्नुहुन्न । इमान्दारीपूर्वक भन्नुपर्दा तपाईंले त्यसलाई बन्द गर्नु पनि हुँदैन ।

किन भने ‘अप टु डेट’ अपरेटिङ सिस्टम नै सुरक्षित अपरेटिङ सिस्टम हो । तर पनि तपाईंले कुनै कारणले गर्दा कम्प्युटरमा विन्डोज १० को अटोमेटिक अपडेटलाई बन्द राख्नुपर्ने हुनसक्छ ।

यस्तोमा सम्भवतः म्यानुअल किसिमकले अपडेट डाउनलोड र इन्स्टल गर्न पनि सक्नुहुन्छ । साथै तपाईंले अपडेटलाई निश्चित समयमा अपडेट हुने गरी रोकेर राख्न पनि सक्नुहुन्छ । यसका लागि सेटिङ>अपडेटस्>एड्भान्स अप्सन्समा जानुहोस् र पज अपडेट्सको मुनी रहेको अर्को ३५ दिनको मिति छान्नुहोस् । तर तपाईंले उक्त मितिपछि अपडेट नगरीकन पुनः त्यसलाई रोक्न भने सक्नुहुने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५