close

दराजका एमडी भन्छन्ः हामी तत्कालै पैसा कमाउनेगरी आएका हैनौँ

टेकपाना टेकपाना

असोज २०, २०७८ १६:२

दराजका एमडी भन्छन्ः हामी तत्कालै पैसा कमाउनेगरी आएका हैनौँ

जर्मनीका नागरिक लिनो अलरिङ दराज नेपालका प्रबन्ध निर्देशक हुन् । दराज नेपाल भित्रिएदेखि नै अलरिङले त्यसको नेतृत्व गरिरहेका छन् । अलरिङसँग नेपाल आउनुअघि विभिन्न देशमा ई–कमर्सको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव पनि छ । दराज नेपालको हालसम्मको अनुभव र समग्र नेपाली ई–कमर्सको वर्तमान अवस्थाबारे अलरिङसँग टेकपानाले गरेको अन्तर्वार्ताको अनूदित तथा सम्पादित अंशः 

१. दराज नेपालको नेतृत्यवदायी ई–कमर्स कम्पनी हो । नेपालका अन्य ई–कमर्स कम्पनीले पनि दराजलाई उदाहरण मान्छन् । दराज यहाँसम्म आइपुग्दाको चुनौती र उपलब्धीको बारेमा बताइदिनुस् न । 

यो उपलब्धीप्रति हामी गर्व गर्छौं । यो उपलब्धीले थप जिम्मेवारी पनि थपेको छ । देशकै ठूलो ई–कमर्स कम्पनी बनेपछि यसको ईकोसिस्टमको विकासको नेतृत्व गर्नु पनि हाम्रो दायित्व हो । त्यसकारण यो उपलब्धीसँगै हामीलाई ठूलो जिम्मेवारी पनि छ । 

विशेषगरीः पछिल्ला तीन वर्षमा हामीले धेरै काम पनि गरेका छौं । तीन वर्षअघि पनि यहाँ ई–कमर्स कम्पनीहरू थिए । तर पछिल्लो समय यो क्षेत्रको व्यावसायिकतामा सुधार भएको तपाईंले पनि अनुभव गर्नु भएकै होला । कोभिड सङ्कटका कारण ई–कमर्सको व्यावसायिकतामा थप सुधार भएको छ । 

हामी हरेक वर्ष शतप्रतिशत वृद्धिको लक्ष्य राख्छौँ

सन् २०१८ र अहिलेको अवस्था तुलना गर्दा दराजको बिक्रीदर १२०० प्रतिशतले बढेको छ । बिक्रीको हिसाबले यो वृद्धि एकदमै राम्रो हो । व्यवसायका हिसाबले पनि यो वृद्धि ठूलो हो र अहिले पनि हरेक वर्ष हामी तीन अङ्कको वृद्धिदर हासिल गर्ने लक्ष्य राख्छौँ ।

हामी हरेक वर्ष शतप्रतिशत वृद्धिको लक्ष्य राख्छौँ । यसले हाम्रो महत्वकांक्षा पनि दर्शाउँछ । हामी यत्तिमा मात्रै चित्त बुझाउने पक्षमा भने छैनौँ ।हो, लकडाउनका कारण हामी एक कदम पछि हट्यौं होला । तर त्यसपछि हामी दुई कदम अघि बढ्न सक्छौँ । हामी धेरैथोक गर्न चाहन्छौं । 

तपाईंलाई थाहै छ, दराज एउटा प्लेटफर्म हो । त्यसकारण हामीसँग धेरैजना आवद्ध हुनुहुन्छ । हामीसँग बिक्रेता हुन्छन्, क्रेता हुन्छन्, लजिस्टिक साझेदार छन्, पेमेन्ट पार्टनर हुन्छन् । हामीसँगै उनीहरूले पनि सफलता हासिल गरिरहेका छन् । 

भुक्तानी क्षेत्र अहिले धेरै सुधारिएको छ । तीन वर्षअघिको कुरा गर्ने हो भने करिब करिब शतप्रतिशत नगद भुक्तानी हुन्थ्यो । तर, अहिले नगद र डिजिटल भुक्तानी करिब ५०/५० प्रतिशतको हाराहारीमा छ । यो तथ्यले पनि धेरै कुरामा सुधार आएको संकेत गर्छ । लजिस्टिक कम्पनीहरू पनि फस्टाइरहेका छन् र देशका हरेक कुनाकन्दरामा पुग्न थालिसकेका छन् । 

बिक्रेताको पक्षमा पनि धेरै कुरा सुधारिएका छन् । उनीहरू धेरै व्यावसायिक भएका छन् । यद्यपि उनीहरूले धेरै कुरा सुधार्न बाँकी छ । यो प्रष्ट हो, ई–कमर्सको इकोसिस्टमसँगै सबै जना अघि बढिरहेका छन्, हुर्किरहेका छन् । हामीले यसैगरी अघि बढ्ने सुनिश्चितता गर्नुपर्छ । 

अबको तीन वर्षपछि पनि हामी पछि फर्केर हेर्नेछौँ । त्यसबेला भन्न सकौँ– फेरि पनि हामीले एकदमै राम्रो काम गर्‍यौँ । यसरी काम गरौँ कि हामीले एकदमै राम्रो सफलता हासिल गर्न सक्छौँ । 

मलाई राम्रो लाग्ने अर्को पक्ष भनेको दराजमा हामी युवाको टिम छ । हामीसँग हाम्रो पहिलो दिनदेखि काम गर्नु भएका साथीहरू हुनुहुन्छ । दराजसँगै उहाँहरूको वृद्धि देख्दा पनि मलाई ज्यादै खुशी लाग्छ ।

मलाई नेपालको भविष्य नेपालीले नै बनाउन सक्छन् भन्नेमा पूर्ण विश्वास छ । हाम्रो करिब सात सय जनाको टिममा म मात्रै एक्लो विदेशी हुँ । यो कारणले पनि मलाई यो देशको भविष्यप्रति निकै आशावादी बनाउँछ ।

२. नेपालमा अहिले पनि धेरै उपभोक्ताहरू पसलमै गएर सामान किन्न रुचाउँछन् । उपभोक्ताको यो व्यवहार परिवर्तन गरी उनीहरूलाई दराजले कसरी ई–कमर्सतर्फ आकर्षित गर्न सक्छ ? 

यो प्राकृतिक रुपमा विकास हुने कुरा हो । मेरो आफ्नो देशमा (जर्मनी) पनि धेरैले अफलाइन शपिङ गर्न मन पराउँछन् । यो कुनै नराम्रो कुरा होइन । तर, हामीले गर्ने भनेको सकेसम्म धेरै भन्दा धेरै मानिसलाई अनलाइन प्लेटफर्ममा ल्याउने र जतिसक्दो धेरै अफलाइन शपिङको परिमाण घटाउने हो ।

यसको लागि निश्चित रुपमा कोभिड महामारीले पनि सहयोग गरेको छ । मलाई लाग्छ, यो बेलामा नेपालमा पनि धेरैले पहिलो पटक अनलाइन शपिङ गरेका छन् ।

पहिला कहिल्यै अनलाइनबाट सामान नकिनेका बुबाआमा, हजुरबुबाहजुरआमा पुस्ताले पहिलो पटक अनलाइन शपिङ गर्नुभएको छ । कोभिड जस्तो बाह्य पक्षले पनि मानिसलाई अनलाइन शपिङको लागि प्रेरित गर्छ । तर यो मात्र पर्याप्त होइन ।

यसकारण, मानिसलाई शपिङमा आकर्षित गर्नको लागि उनीहरूलाई राम्रो अनुभूति गराउनुपर्छ । यसको अर्थ हो, हामीले बिक्रेता र लजिस्टिक पार्टनरहरूलाई अझ बढी व्यावसायिक बनाउन सक्नुपर्छ ।

किनकि अन्त्यमा, सबैभन्दा महत्वपूर्ण कुरा भनेको विश्वास नै हो । शुरुमा कसैले पनि विश्वास गरिहाल्दैन । मेरो विचारमा विश्वभर जहाँसुकै पनि यही नियम लागू हुन्छ । उनीहरूको विश्वास हासिल गर्नु हाम्रो काम हो ।

मेरो विचारमा विश्वास हासिल गर्नका लागि दुई ओटा तत्व महत्वपूर्ण हुन्छन् । पहिलो, उनीहरूलाई अनलाइन शपिङको अभ्यास गर्न प्रोत्साहित गर्नु ।

यसको लागि सेल्स क्याम्पेनहरू हुनसक्छन्, कसैसँग व्यक्तिगत रुपमा कुराकानी गर्ने वा शपिङका लागि भौचर उपलब्ध गराउने काम हुन सक्छ । मानिसलाई कुनै लाभ दिएर ल्याउनु पनि एक प्रकारको बाह्य प्रभाव नै हो ।

जसरी कोभिडका कारण मानिसले अनलाइन शपिङ गरेका थिए । मानिस आफ्नो घरबाहिर जान नसकेर अनलाइन शपिङ गर्नु पर्ने बाध्यता थियो ।

त्यसकारण मेरो विचारमा लाभ दिएर ल्याउनु एउटा महत्वपूर्ण तत्व हो र दोस्रो महत्वपूर्ण तत्व भनेको उपभोक्तालाई अनलाइन शपिङको राम्रो अनुभवको अनुभूति गराउनु हो । उपभोक्तालाई राम्रो अनुभव दिने कुरा हाम्रो हातमा हुन्छ ।

यस्तो अनुभव प्रदान गर्नको लागि बिक्रेता र लजिस्टिकको दक्षता मिल्नुपर्छ । यी दुवै पक्ष सँगसँगै आएमा उपभोक्तामा विश्वास बन्छ । इमानदार भएर भन्नुपर्दा, यी दुवै पक्षको संयोजन भनेको सधैँ भइरहने प्रक्रिया हो र यो कहिल्यै सकिन्न ।

भारतमा भएका अमेजन र फ्लिपकार्ट पनि सधैं यो संयोजन मिलाउने प्रक्रियामै हुन्छन् । उपभोक्ताको गुनासो त्यहाँ पनि छ । हामी यसको लागि अरुलाई दोष दिन्नौँ, उपभोक्तालाई अनलाइन शपिङको राम्रो अनुभव प्रदान गर्ने कुरालाई हामी गम्भीर रुपमा लिन्छौँ ।

केही गरी बिक्रेताले गल्ती गरे पनि त्यसलाई सच्याउने हाम्रो दायित्व हो । यसको लागि हामीले बिक्रेतालाई दक्ष बनाउनुपर्छ । हामीले अरुलाई औँला देखाउन सक्छौँ । तर नेतृत्वकर्ताको हिसाबले हामीले सुधार गर्नेतर्फ लाग्नुपर्छ ।

मलाई लाग्छ, अहिले अवस्था धेरै सुधारिएको छ । तैपनि हामीले अझैँ लामो यात्रा तय गर्न बाँकी छ । यो क्षेत्रलाई अघि बढाउँदाको आनन्द छुट्टै छ । मलाई लाग्छ, विशेषगरी कोभिडपछि धेरै मानिसले ई–कमर्सको बारेमा सुनेका छन् र उनीहरूको चेतना पनि बढ्दै गएको छ ।

अब ग्रामीण क्षेत्रका मानिससँग पनि ई–कमर्सको बारेमा कुराकानी गर्न र यसले कसरी काम गर्छ भनेर बुझाउन सजिलो हुन्छ । कुनै न कुनै दिन यो कुरा बुझाउनै पर्छ । ई–कमर्सको सुन्दरता भनेकै यो ठूला सहरमा मात्रै केन्द्रित हुन्न, यसले ससाना सहर र ग्रामीण क्षेत्रमा समेत सेवा पुर्‍याउन सक्छ ।

यसका लागि उपभोक्तासँग सोझै संवाद गर्न आवश्यक छ । आगामी दिनमा यस्ता संवाद थप बढ्नेछन् । यसको लागि धेरै कुराको सम्मिश्रण आवश्यक छ । तैपनि हामी यसलाई सार्थक तुल्याउनेछौँ ।

 ३. नेपालमा ई–कमर्सको लागि नियामक वातावरण चाहीँ कस्तो छ ? 

अहिले अवस्था निकै फरक छ । तीन वर्षअघिको अवस्थालाई हेर्ने हो भने जब दराज नेपाल आयो, तब हामीले फरक फरक नीति पछ्याउनुपर्ने अवस्था थियो । ई–कमर्सको लागि भनेर कुनै नीति नियम थिएन । तर, त्यो अवस्था अहिले धेरै फेरिएको छ ।

उदाहरणको लागि भन्नुपर्दा, कोभिड अघिदेखि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ई–कमर्सलाई निकै ध्यान दिइरहेको छ । कोभिडपछि नियामक निकायहरू झन् चनाखो भएका छन् । यो निकै सुखद् कुरा हो ।

किनकी हामी ई–कमर्स नीतिलाई चुनौतीको रुपमा नभई अवसरको रुपमा लिन्छौं । ई–कमर्समा हामी विश्वासको कुरा गरिरहेका हुन्छौँ । यहाँ अहिले पनि धेरै फेसबुक र इन्स्टाग्राम पसल छन् । धेरै ठगी पनि भइरहेको छ ।

तर, नियमन भएका क्षेत्रमा यस्तो ठगी हुँदैन । त्यसकारण नियमन गर्न आवश्यक छ । पूर्णरुपमा कार्यान्वयन भइनसके पनि सरकारले लिएको अग्रसरता सही दिशामा छ । अघिल्लो सरकारले लिएको अग्रसरतालाई नयाँ सरकारले पनि निरन्तरता दिएमा यसले सफलता पाउँछ ।

इमानदार रूपले भन्दा, हामी नियमनको पक्षमा छौँ । यसको लागि सरकारसँग मिलेर पनि काम गरिरहेका छौँ । हामीसँग अन्य बजारमा समेत काम गरेको धेरै अनुभव भएकाले सरकारसँग मिलेर काम गर्नु हाम्रो जिम्मेवारी पनि हो ।

पहिला यो क्षेत्रमा नियमन नै थिएन भने अहिले यो क्षेत्रको राम्रो नियमन भइरहेको छ । तर, अझै सुधारका धेरै ठाउँ बाँकी छन् । एउटा सुखद् पक्ष के हो भने नियामक निकायले यसअघि ध्यान नै नदिएको क्षेत्रमा पनि ध्यान दिन थालेको छ ।

यसले गर्दा आगामी महिनाहरूमा यो क्षेत्रले फस्टाउने अवसर पाउँछ । तर, प्रष्ट रुपमा भन्नुपर्दा, कहिलेकाही भने हामीलाई पनि गाह्रो परिरहेको हुन्छ । लकडाउनकै कुरा गर्ने हो भने पनि विश्वका अन्यत्र भन्दा यहाँ ई–कमर्समा धेरै कडाइ गरियो । यो सधैँ तर्कसंगत हुँदैन ।

भनौं न, अत्यावश्यक वस्तुको परिभाषा समय सापेक्ष थिएन । तपाईंको लागि लकडाउनमा मोबाइल फोन वा कम्युटर पनि अत्यावश्यक हुन सक्छ । तर, सरकारको सूचीमा यी वस्तु थिएनन् ।

यो विषयमा अहिले पनि हामी छलफल गर्न प्रयास गरिरहेका छौँ । किनकि लकडाउन फेरि पनि हुन सक्छ । मानिसहरू घरमै बसेपनि अर्थतन्त्रलाई चलायमान राख्नका लागि ई–कमर्सले सघाउँछ । हामी सबैले यो कुरा बुझून् भन्ने सुनिश्चितता गर्न चाहन्छौँ ।

४. ई-कमर्स सञ्चालनका लागि धेरै सरोकारवालाहरू मिलेर काम गर्नुपर्छ । तपाईँको विचारमा, नेपालका भुक्तानी सेवाप्रदायक र लजिस्टिक पार्टनरहरूले अपेक्षित रुपमा काम गर्न सकेका छन् ? 

ई–कमर्स एक्लैले सबैथोक गर्न सक्दैन । यो स्वभाविक पनि हो । मलाई लाग्छ, यो सबै काम हामी एक्लै गर्न पनि चाहन्नौँ । हामीले नोभेम्बर ११ को अभियानको तयारी गरिरहेका छौं । हामी हाम्रो टिमले मात्रै व्यवस्थापन गर्न सक्दनौँ ।

हामीले आफ्नै कुरियर कम्पनी दराज एक्सप्रेस पनि बनायौँ । यो नेपालको पहिलो ई-कमर्स डेलिभरी कम्पनी हो, जसले अन्य कम्पनीको लागि एउटा मापदण्ड तय गरेको छ । यो कुरियर सेवा शुरु गर्दा धेरैले हामीलाई गर्न सक्दैनौ भनेका थिए ।

हामीले आत्मविश्वासका साथ गरेर देखायौँ । यो कम्पनीले लजिस्टिक उद्योगलाई व्यावसायिक बनाउन सहयोग गरेको छ । अहिले अन्य धेरै कम्पनीहरू पनि उदाएका छन् । उपभोक्तालाई राम्रो अनुभव दिने गरी उनीहरूले नयाँ प्रविधि पनि भित्र्याएका छन् ।

लजिस्टिक, बिक्रेता र भुक्तानी, सबैतिर राम्रो भइरहेको छ । बैंकहरूको हकमा पनि तीन वर्षअघि उनीहरूलाई अनलाइनमा जान मनाउनु पर्ने अवस्था थियो । अनलाइन कारोबारको लागि धेरै कार्डहरू एक्टिभेट भइसकेका थिएनन् ।

बैंकका ग्राहकको लागि पनि अनलाइन कारोबार उपयोगी हुन्छ भनेर मनाउनुपर्ने अवस्था थियो । मलाई लाग्छ, अहिले सबै बैंकहरूले यसको महत्व सही अर्थमा बुझिसके । बैंकहरूलाई अनलाइनमा जानुपर्ने पर्ने बाध्यता पनि आइपर्‍यो ।

किनकि एफवान सफ्ट, ई-सेवाजस्ता नयाँ कम्पनीहरूले बजारमा परिवर्तन ल्याइरहेका छन् । अहिले बजारमा खल्ती, आइएमई पेजस्ता धेरै वालेटहरू पनि आएका छन् । यदि बैंकहरूले नयाँ अन्वेषण गरेनन् भने उनीहरूले बजार आधार गुमाउनेछन् ।

जसरी हामीले परम्परागत खुद्रा व्यवसायमा परिवर्तन ल्याइरहेका छौँ, त्यसैगरी भुक्तानी प्रणालीमा परिवर्तन आउन यस्ता कम्पनीको प्रवेश महत्वपूर्ण हुन्छ । मलाई लाग्छ, यो प्रक्रिया कहिल्यै सकिन्न । यो अवस्था सुधारिँदै जान्छ । तर शतप्रतिशत भने कहिल्यै पनि हुँदैन ।

बैंकहरू थप डिजिटल बन्न सक्छन् । लजिस्टिक कम्पनीले थप प्रविधिमैत्री हुन सक्छन् । बिक्रेताहरू थप व्यावसायिक बन्न सक्छन् । तर यो प्रक्रियामा कहाँ रोकिने भन्ने हुन्न । सबैतिर परिवर्तन भइरहनु पर्छ । यी सबै क्षेत्रमा थप काम गर्न बाँकी छ । र, सबैलाई एकै स्थानमा ल्याउनु हाम्रो काम पनि हो ।

५. दराजले अहिले नेपालका ४७ भन्दा बढी सहरमा डेलिभरी सेवा दिइरहेको छ । नेपालजस्तो भूगोल भएको मुलुकमा सबैतिर डेलिभरी पुर्‍याउनु साँच्चिकै गाह्रो काम हो । यसको व्यवस्थापन कत्तिको चुनौतिपूर्ण छ ? 

वास्तवमा यो निकै चुनौतिपूर्ण छ । सन् २०१८ मा जब हामीले नोभेम्बर ११ क्याम्पेन गर्‍यौँ, त्यस बेला हामीलाई धेरै अर्डर आएका थिए । तर लजिस्टिक (डेलिभरी) पूर्वाधार तयार थिएन । त्यो बेलाको घटनाबाट हामीले धेरै पाठ सिक्यौँ । अहिले तीन वर्षपछिको अवस्था फरक छ ।

अहिले हामीलाई ठूला क्याम्पेन कसरी प्रभावकारी रुपमा व्यवस्थापन गर्ने भनेर थाहा छ । अरुबेला एक महिनामा आउने अर्डर क्याम्पेनको बेलामा एक दिनमै आउँछ । यसको लागि ठूलो तयारी गर्नुपर्छ । यसमा सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको अन्वेषण हो ।

मानिसलाई आकर्षित गर्नु छ भने एउटै काम मात्रै गरेर हुँदैन । यसको लागि हामीले लाइभ स्ट्रिम हेरेर सामान किन्ने सुविधा ल्याएका छौँ । दशैँ र नोभेम्बर ११ को लागि नयाँ भुक्तानी अफरहरू ल्याउँदै छौँ । यो त मार्केटिङ पक्षको कुरा भयो ।

अर्कोतर्फ तपाईंसँग पूर्वाधार पनि तयारी अवस्थामा हुनुपर्छ । विज्ञापन गर्न त सजिलो छ, तर पूर्वाधार तयारी अवस्थामा भएन भने बर्बाद हुन्छ । त्यसकारण हामी पूर्वाधारमा लगानी गर्छौँ । इमानदार भएर भन्नुपर्दा हाम्रो आम्दानीको अधिकांश हिस्सा लजिस्टिकमा जान्छ ।

त्यसकारण हामीले दराज एक्सप्रेस ल्याएका हौँ, जुन हाम्रो कुरियर वा डेलिभरी सेवा हो । नोभेम्बर ११ को लागि मात्रै हामी एक हजार जनशक्ति नियुक्त गर्दैछौँ । यो निकै ठूलो सङ्ख्या हो । गत वर्ष पनि हामीले करिब यस्तै सङ्ख्यामा जनशक्ति नियुक्त गरेका थियौँ ।

हरेक वर्ष हाम्रो वृद्धि भइरहेको छ र यो वर्ष पनि नोभेम्बर ११ को लागि नियुक्त हुने जनशक्तिको सङ्ख्या बढेको छ । उहाँहरूले हामीलाई डेलिभरी र अपरेसनमा सघाउनु हुनेछ भने त्यसबाट ग्राहक सेवा र बिक्रीमा पनि सहयोग पुग्नेछ ।

हामी मात्रै तयारी अवस्थामा रहने होइन कि हाम्रा साझेदारहरू पनि तयारी अवस्थामा होऊन् भन्ने सुनिश्चितता गरिरहेका छौँ । त्यसकारण, हामीले मात्रै नभएर, हामीसँग जोडिएका कम्पनीहरूले पनि थप जनशक्ति परिचालन गर्ने तयारी गरिरहेका छन् ।

किनकि सबै सहरमा हामीले मात्रै डेलिभरी गर्ने होइन । हामीलाई यसका लागि सघाउने अन्य कम्पनी पनि छन् । सबैजना तयारी अवस्थामा छन् । हरेक वर्ष हामी लजिस्टिकको लागि मात्रै लाखौँ डलर खर्च गरिरहेका छौँ । किनकि, कुनैकुनै बेला मानिसलाई ई–कमर्स ज्यादै सजिलो लाग्छ ।

अनलाइनमा विज्ञापन गर्नुस्, कसैले सामान किन्छन् अनि डेलिभरी गरिदिनुस् र काम फत्ते हुन्छ भनिरहेका हुन्छन् । तर, ठूलो आकारमा ई–कमर्स सञ्चालन गर्ने हो भने यो काम त्यति सजिलो छैन । बलियो प्रविधि र पूर्वाधारको लागि लगानी गर्नुपर्छ ।

यस्ता प्रविधि पूर्वाधारको सहयोगमा विभिन्न सरोकारवालालाई जोड्न सकिन्छ । यस्ता पूर्वाधार नहुने हो भने तपाईं एउटा तहसम्म त पुग्न सक्नु हुन्छ, तर त्यसपछिको वृद्धि रोकिन्छ ।

हाम्रो बलियो पक्ष भनेको अलिबाबाका कारण हामीसँग सबै सरोकारवालालाई एक ठाउँमा ल्याउने प्रविधि छ । हामीसँग त्यसको लागि सिकाइ र अनुभव पनि छ । त्यसकारण, हामीसँग संरचनागत रुपमा अघि बढ्न सक्ने आत्मविश्वास छ ।

६. दराजले साना तथा मझौला व्यवसायलाई सघाउन एउटा कार्यक्रम पनि ल्याएको छ । त्यसको प्रभावकारिता कस्तो छ ? 

मार्केटप्लेसमा हाम्रो कुनै सामान हुने होइन । पर्याप्त बिक्रेता र सामान भए मात्रै मार्केटप्लेसले काम गर्छ । दराज मार्केटप्लेसमा अहिले दश लाख जति सामान छन् । अनलाइन कम्पनीको लागि ठूलो कुरा भनेको विविधता नै हो ।

कुनै सामानको लागि दराजमा सर्च गर्दा हरेक पटक सामानको सङ्ख्या बढ्दै जाओस् भन्ने हामी चाहन्छौँ । अहिले भएका दश लाख सामानको सङ्ख्या पनि धेरै हो । तर खोजेको सबैथोक भेटाउन यो नै पर्याप्त छ भन्ने होइन । यो संख्या अझै माथि जानुपर्छ ।

यसका लागि हामीलाई धेरै बिक्रेता चाहिन्छन् । ठूला ब्रान्ड मात्रै राखेर यो लक्ष्य पूरा हुँदैन । ठूला ब्रान्ड त अहिले पनि जोडिएका छन् । तर साना र मझौला खालका व्यवसाय पनि यसमा जोडिनु पर्छ । अस्ति भर्खरै मैले एक जना कफी बिक्रेतासँग कुरा गरेको थिएँ ।

सानो कफी पसल थियो । ती कफी पसलकी सञ्चालिकाले मलाई भनेकी थिइन्, यो महामारीमा अनलाइन बिक्री गर्न नपाएको भए उनको पसल टिक्दैन थियो । उनीहरूले यस्ता अवस्था भोग्नु राम्रो त होइन ।

तर हामी जस्ता अनलाइन प्लेटफर्मका लागि अप्ठ्यारो परेको बेलामा साना व्यवसाय सञ्चालनमा सहयोग पुर्‍याउन सक्नु हाम्रो लागि गौरवको कुरा पनि हो । त्यसकारण हामी यस्ता व्यवसायलाई सहयोग गर्न केन्द्रित छौँ । हामीले गत वर्ष सहयात्री नामक कार्यक्रमको सुरुवात गर्‍यौँ । यो कार्यक्रमले विशेषगरी साना र मझौला व्यवसायलाई कमिसन नतिरी दराजमा जोडिन सघाउँछ ।

दराजमा जोडिएपछि उनीहरूलाई मन पर्‍यो भने दीर्घकालिक रुपमा बस्न सक्छन् । उनीहरूले सँधै कमिसन नतिरी दराजमा बस्न पाउने त होइन । तर उनीहरूलाई लाभ दिएर जोड्न सकियोस् भनेर यो सुरुवात भएको हो ।

मैले भर्खरै भनेजस्तो, सुरुवातमा लाभ दिएर प्रयोगको लागि प्रेरित गर्ने र त्यसबाट उनीहरूलाई राम्रो अनुभव होस् भन्ने सुनिश्चितता गर्ने हो । अर्थतन्त्रलाई फेरि सामान्य लयमै ल्याउनमा हामी केन्द्रित छौँ । तर, यो काम हामी एक्लैले गर्न भने सम्भव छैन ।

हामीले सरकारसँग मिलेर यो काम गर्नुपर्छ । तर यसको लागि पनि साना तथा मझौला व्यवसाय सधैँ केन्द्रमा हुन्छन् । कुनै महामारी होस् वा नहोस्, हामी सकेसम्म धेरै व्यवसायलाई अनलाइनमा ल्याउन चाहन्छौँ ।

 ७. धेरैभन्दा धेरै ग्राहकलाई अनलाइनमा आकर्षित गर्नको लागि बिक्रेतादेखि लजिस्टिक पार्टनर सबैकाबीच समन्वय हुनुपर्छ भन्दैगर्दा यसलाई चुस्त राख्नको लागि दराजले केके गरिरहेको छ त ? 

हामी अहिले करिब ५० वटा सहरमा छौं । तर यो पर्याप्त होइन । ई–कमर्सको सुन्दरता भनेको यसले जहाँसुकैका मानिसलाई पनि जोड्न सक्छ । आगामी वर्ष हामी सहरी क्षेत्रभन्दा बाहिर जाने दिशामा केन्द्रित हुनेछौँ ।

तर एकै पटक सबै काम गर्न सकिँदैन । त्यसकारण निश्चित काममा केन्द्रित हुनुपर्छ । सबैको पहुँचमा हुनको लागि हामीले सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ । यसले बिक्रेतालाई देशभर सामान बिक्रीको अवसर दिन्छ भने क्रेतालाई पनि आफूले चाहेको सामान खरिदको अवसर दिन्छ ।

यसको लागि तपाईंले लजिस्टिक व्यवस्थापनलाई बलियो बनाउनुपर्छ र फेरि पनि यसको लागि प्रविधि महत्वपूर्ण हुन्छ । बलियो प्रविधिले मात्रै सबै साझेदारहरूलाई एउटै प्रणालीमा आवद्ध गर्न सक्छ ।

सबै साझेदारको ट्रयाक राख्न, अनुगमन गर्न र उनीहरूको कार्यदक्षता मापन गर्न आवश्यक छ । सँगसँगै उनीहरूलाई तालिम पनि दिनुपर्छ । प्रशिक्षण दिनको लागि तथ्याङ्कको आवश्यकता पर्छ । त्यसकारण हामी हरेक दिन र हरेक साता नियमित रुपमा तथ्याङ्कको विश्लेषण गरिरहेका हुन्छौँ ।

यसैको आधारमा हामीले आफ्ना साथीहरूलाई प्रशिक्षित गरिरहेका छौँ, अनुगमन गरिरहेका छौँ । र सँगसँगै नियमित रुपमा ग्राहकमार्फत सुझाव पनि लिइरहेका छौँ । यसैगरी, हाम्रा बिक्रेता र लजिस्टिक साझेदारलाई पनि हामीले अनुगमन गरिरहेका हुन्छौँ ।

सबैजना एकदमै कुशल हुनुपर्छ भन्ने छैन, तर आफूलाई सुधार्नुपर्ने भने हुन्छ । हामीले विश्वभर कमाएको अनुभवले हाम्रो व्यवस्थापन पक्षलाई बलियो बनाएको छ । तर, यसको लागि धेरै नै जनशक्ति र प्रतिबद्धता आवश्यक पर्छ भने लगानी पनि उत्तिकै चाहिन्छ । अन्यत्र अपनाए जस्तै काम यहाँ लागू गर्न गाह्रो पनि छ ।

ई–कमर्स हेर्दा सामान्य वेबसाइट जस्तो देखिन्छ । तर यसको सञ्चालनका लागि गोदाम बनाउने, सामान छुट्याउने ठाउँ बनाउने जस्ता धेरै काम हुन्छन् । नेपालजस्तो प्रकृति र भूगोल भएको देशमा यी सबै व्यवस्थापन गर्नु गाह्रो काम हो ।

अबको पाँच वर्षमा दराज हरेक नेपालीको दैनिक जीवनमा समावेश भइसकेको हुनेछ । हामीसँग देशैभर त्यस्तो नेटवर्क हुनेछ, जहाँ कार र बाइक जान सक्छन्, त्यहाँ दराजको डेलिभरी हुनेछ । हामी ग्रामीण क्षेत्रमा पनि पुग्नेछौँ र ग्रामीण क्षेत्रका मानिसको पनि दराजमा पहुँच हुनेछ ।

यसको लागि धेरै प्रतिबद्धता आवश्यक पर्छ र हामी त्यही प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ, हामीले गरी पनि रहेका छौँ । त्यसको लागि हामी आगामी दिनमा ठूलो लगानी पनि गर्छौँ ।

७. दराजले सेवा विस्तार पनि गरिरहेको छ र तपाईंले अझै लगानी गर्दै जाने कुरा पनि सुनाउनु भयो । अबको पाँच वर्षमा दराजको स्थिति र भूमिका कस्तो हुन्छ होला ? 

हाम्रो लागि पाँच वर्षको समय भनेको अरु कम्पनीको लागि १० वर्षको समय हो । हामीले तीव्र रुपमा सेवा विस्तार गरिरहेका छौँ र हरेक वर्ष शतप्रतिशत वृद्धि हासिल गरिरहेका छौँ । मलाई लाग्छ, अबको पाँच वर्षमा दराज हरेक नेपालीको दैनिक जीवनमा समावेश भइसकेको हुनेछ ।

हामीसँग देशैभर त्यस्तो नेटवर्क हुनेछ, जहाँ कार र बाइक जान सक्छन्, त्यहाँ दराजको डेलिभरी हुनेछ । हामी ग्रामीण क्षेत्रमा पनि पुग्नेछौँ र ग्रामीण क्षेत्रका मानिसको पनि दराजमा पहुँच हुनेछ । अहिले हामी सुरुवाती चरणमा छौँ ।

अहिले हरेक महिना दश लाख नेपालीले दराज प्रयोग गरिरहेका छन् । त्यसकारण हाम्रो बजारको सम्भावना अझै धेरै छ । हामी ठूला सहरमा मात्रै केन्द्रित नभएर देशैभर विस्तार हुनुपर्छ । हामीसँगै हाम्रा साझेदार पनि पूर्णरुपमा व्यावसायिक र प्राविधिक हुनुपर्छ ।

हाम्रा लजिस्टिक साझेदारहरूमा धेरै सुधार आएको छ भने बिक्रेताहरू पनि निकै विश्वसनीय हुँदै गएका छन् । आगामी दिनमा उनीहरू थप सुधारिँदै जानेछन् ।

आगामी पाँच वर्षमा नेपालमा अन्य धेरै स्टार्टअप (ई–कमर्स) पनि आउनेछन् भन्ने मेरो विश्वास छ र यो पूरा इकोसिस्टम वृद्धि होस् भन्ने मेरो म चाहन्छु । अन्त्यमा यसले दक्ष जनशक्ति समेत सिर्जना गर्नेछ ।

अहिले नै हामीसँग करिब सात सय मानिस जोडिएका छन् । उनीहरूसँग सुरुमा कुनै अनुभव नभए पनि अहिले सबैजना आत्मविश्वासी छन् । आगामी वर्षमा पनि धेरै कम्पनीहरूले युवाहरूलाई परिष्कृत हुने अवसर दिनेछन् ।

दराजमा पनि पाँच वर्ष काम गर्नुपर्छ भन्ने छैन । आगामी पाँच वर्षमा यहाँका ८० प्रतिशत साथीहरूले आफ्नै काम सुरु गरुन् र त्यसको लागि कतै न कतैबाट लगानी पाउन सकून् । एक प्रकारले हामी सम्भावनाको उदाहरण बनेर देखाउन चाहन्छौँ ।

यहाँ भएका अन्य उद्यमीहरू पनि निकै क्षमतावान छन् र केही एकदमै राम्रा स्टार्टअप पनि उदाइरहेका छन् ।  तर, हामीलाई अब चाहिएको भनेको राम्रो नियमन हो, जसका कारण यो क्षेत्र लगानीमैत्री होस् ।

किनकि सबै कम्पनीको पछाडि अलिबाबा हुँदैन । हामी पनि अझै अघि बढ्न चाहन्छौँ र यो इकोसिस्टम थप व्यवसायिक होस् भन्ने चाहन्छौँ । यो क्षेत्रमा केही राम्रा उदाहरणीय काम पनि भइरहेका छन् ।

बंगलादेश र पाकिस्तानमा विदेशी लगानीकर्ताले इकोसिस्टमलाई बलियो बनाउन ठूलो परिमाणमा लगानी गरिरहेका छन् । मलाई लाग्छ, यो उदाहरणबाट नेपालले पनि धेरै सिक्न सक्छ । किनकि यहाँका मानिस निकै स्मार्ट र मेहनती छन् । मलाई लाग्छ, अहिले हामी सुरुवाती चरणमा छौँ र धेरै काम गर्न बाँकी छ ।

८. त्यसो भए, ई–कमर्स इकोसिस्टमलाई बलियो बनाउन सरकार र निजी क्षेत्रले केके भूमिका खेल्न सक्छन् ? 

मलाई लाग्छ, यसको लागि सबैभन्दा पहिला व्यवसायमैत्री वातावरण बनाउनुपर्छ । यसको लागि हामीले पनि सरकारी निकायसँग धेरै पटक छलफल गरेका छौं र राम्रो पक्ष भनेको यहाँको वातावरण सहज पनि बन्दै गइरहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) जस्ता संस्थाहरू पनि नयाँनयाँ आइडियामा काम गरिरहेका छन् । उनीहरूले नयाँनयाँ स्टार्टअपलाई प्रवर्द्धन गरिरहेका छन् ।

यसबाहेक, हामीले प्रत्यक्ष वैदेशिक लगानीको अनुगमनको लागि सहज व्यवस्था गरेर लगानी गर्न चाहनेलाई प्रक्रियागत झन्झट नहुने व्यवस्था गर्न सक्छौँ । कसैले लगानी गर्न चाहँदा महिनौँ वा वर्षदिन लाग्ने प्रक्रिया छोट्याउन सकियोस् ।

तर, लामो प्रक्रिया भएमा लगानीकर्ताहरू अनिच्छुक हुन सक्छन् । सबै लगानीकर्ता हामीजत्तिकै प्रतिबद्ध नहुन सक्छन् । त्यसकारण हामीले लगानीको प्रक्रियालाई सहज बनाउनुपर्छ । 

स्टार्टअपहरूलाई पनि प्रोत्साहनको जरुरी छ । अहिलेको बजेटलाई हेर्ने हो भने त्यसमा केही व्यवस्था गरिएको छ । सरकारले स्टार्टअपलाई कसरी ऋण दिने भनेर पाइला चाल्नु राम्रो संकेत हो । यसैगरी, भर्खरै उदाएका केही कम्पनीहरूलाई कर छुट दिन सकिन्छ । 

सबैभन्दा मुख्य कुरा हामीले लगानीकर्ताका लागि सहज वातावरण बनाउनुपर्छ । त्यसपछि यो क्षेत्र बढ्छ र फैलन्छ ।

९. हाम्रै छिमेकी देशहरू पनि ई–कमर्सको हिसाबले हामी भन्दा धेरै अघि छन् । तपाईँले पनि धेरै देशका ई–कमर्सलाई बुझ्नुभएको छ । यहाँ ई–कमर्सको सुधारको लागि तपाईँका केही सुझाव छन् कि ?

नेपाल अन्यत्रको तुलनामा धेरै पछाडि छ भनेर म भन्दिनँ । तपाईँले भनेको कुरा केही हदसम्म सही हुन सक्छ । भारत, बंगलादेश र पाकिस्तानसँग तुलना गर्ने हो भने हामी थोरै पछाडि भने छौँ ।

चीन यो कुरामा धेरै विकसित छ । मेरो विचारमा यो कुनै नराम्रो अवस्था होइन । केही वर्षयता यहाँ पनि ई–कमर्सले गति लिँदै छ । हामीले लगानी भित्र्याउने, लगानीमैत्री वातावरण बनाउने र थप प्रतिस्पर्धाको अवस्था सिर्जना गर्नुपर्छ ।

ठगीलाई नियन्त्रणको लागि सही नियमन नीति बनाउन आवश्यक छ । हामीले पनि कहिलेकाही गल्ती गर्न सक्छौँ । तर हामी त्यसलाई सच्याउन इमान्दार छौँ ।

हामी प्रतिस्पर्धा मन पराउँछौँ । प्रतिस्पर्धाले हामीलाई थप बलियो बनाउँछ । प्रतिस्पर्धा नभए निकै सहज स्थिति सिर्जना हुन्छ । त्यसकारण, यो क्षेत्रलाई गति दिन लगानीमैत्री बनाउनु आवश्यक छ । 

ठगीलाई नियन्त्रणको लागि सही नियमन नीति बनाउन आवश्यक छ । हामीले पनि कहिलेकाँही गल्ती गर्न सक्छौँ । तर हामी त्यसलाई सच्याउन इमान्दार छौं ।

१०. त्यसो भए, हामीले ई–कमर्समा अहिलेसम्म हासिल गरेका उपलब्धि सन्तोषजनक छन् त ? 

अवश्य पनि । त्यस्तो अवस्था नभएको भए म नै यहाँ आउने थिइनँ । हामीले हरेक वर्ष शतप्रतिशतको वृद्धिदर हासिल गरिरहेका छौँ र पछिल्लो तीन वर्षको तथ्यांकमा हामीले १२ सय प्रतिशतको वृद्धिदर हासिल गरेका छौँ ।

झन्, डिजिटल भुक्तानीतर्फ नेपालको प्रगति यो क्षेत्रका अन्य देशको तुलनामा धेरै राम्रो छ । नियामक निकायले पनि स्टार्टअपलाई अनलाइनमा जानको लागि प्रेरित गर्नुपर्छ । यहाँ डिजिटल साक्षरतालाई पनि सहयोग गर्नुपर्छ ।

यो काम पनि ज्यादै महत्वपूर्ण हो । सरकारले ई–कमर्स सञ्चालनको लागि सहज वातावरण बनाउनुपर्छ ।

कहिलेकाँही हाम्रो लागि पनि प्रक्रियाहरू निकै झन्झटिलो हुन्छ । नियामक निकायले अहिलेसम्म यो विषयमा ध्यान नदिएरै यस्तो भएको हो । यदि दिने हो भने यस्ता समस्या समाधान गर्न गाह्रो छैन ।

११. समग्रमा नेपालको ई–कमर्स उद्योगको आकार चाहिँ कति ठुलो छ ? 

हामीलाई धेरैले यो प्रश्न सोध्ने गरेका छन् । मलाई लाग्छ, यो विषयमा कसैले अध्ययन नै गर्नुपर्छ । किनकि यसअघि कसैले यसबारे अध्ययन गरेकै छैनन् ।

तर, नगदलाई मात्रै नहेर्ने हो भने आगामी एक वर्षमा हामी एक सय मिलियन (१० करोड) डलर (करिब १२ अर्ब रुपैयाँ) को कम्पनी बन्ने छौँ । यो अहिलेको अहिल्यै बन्ने होइन । तर, मलाई विश्वास छ, एक वर्ष र त्यसपछिको केही अवधिमै हामीले यो लक्ष्य हासिल गर्ने छौँ ।

जीएमएस ग्रस मर्चन्डाइस भ्यालुमा यस्तो सङ्केत देखिन्छ । यो भनेको हाम्रो बिक्री होइन, सबैलाई एकीकृत गर्दाको तथ्याङ्क हो । हरेक वर्ष हामीले शतप्रतिशतको वृद्धि हासिल गरिरहेका छौँ । तपाईं आफैँ पनि हिसाब गर्न सक्नुहुन्छ ।

मलाई आशा छ, अरु कम्पनी पनि हामीलेजस्तै फैलिदै छन् । र, यो क्षेत्र व्यापक हुँदैछ । हामी मात्रै सय मिलियन डलरको हुने होइन, हामी यो इकोसिस्टम नै कयौँ मिलियन डलरको होस् भन्ने चाहन्छौँ ।

१२. त्यसो भए, नेपाली ई–कमर्समा दराजको हिस्सा चाहिँ कति छ त ? 

हामीसँग ठ्याक्कै त्यस्तो कुनै तथ्याङ्क त छैन । तर हामी अवश्य पनि यो बजारको नेतृत्व गर्ने कम्पनी हौँ । यसकारण मलाई लाग्छ, हामी ग्राहकलाई दिने अनुभवलाई कसरी राम्रो बनाउने भनेर आफैँमा केन्द्रित हुनुपर्छ ।

हामी अरुतिर के भइरहेको छ भनेर पनि हेर्छौँ । तर, मार्केटप्लेसलाई मात्रै हेर्ने हो भने धेरै छैनन् । मार्केटप्लेसहरू पैसा कमाउने उद्देश्यले खोलिएका हुन्छन् ।

तर, हामी अहिले नै पैसा कमाउन आएका होइनौँ । हाम्रो रणनीति दीर्घकालिक हो र कुनै समयमा मात्रै हामी नतिजा खोज्छौँ । तर, अहिले हाम्रो ध्यान नाफा कमाउनमा केन्द्रित छैन । अरुलाई हाम्रो सुझाव पनि यही हो ।

हामी अहिले नै पैसा कमाउन आएका होइनौँ । हाम्रो रणनीति दीर्घकालिन हो र कुनै समयमा मात्रै हामी नतिजा खोज्छौँ । अरुलाई हाम्रो सुझाव पनि यही हो । हामी अरु कम्पनीहरू आउँदा पनि खुशी हुन्छौँ ।

हामी अरु कम्पनीहरू आउँदा पनि खुशी हुन्छौँ । तपाईँले पनि याद गर्नुभयो होला, गत वर्ष धेरै ई–कमर्स कम्पनीहरू आए । तर, हराए पनि । किनकि उनीहरूले यो क्षेत्र कति महँगो र जटिल छ भन्ने बुझे ।

मलाई लाग्ने सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने कुनै कम्पनी यो क्षेत्रमा आए भने उनीहरूले आफ्नो बजार खोज्नु पर्छ । कोही फेसन, कोही लाइफस्टाइल, कोही स्पोर्टस् वा कोही खाद्यान्नमा केन्द्रित हुन सक्छन् । हरेक क्षेत्रमा आआफ्नै सम्भावना छन् ।

हामी सबै क्षेत्रमा विशेषज्ञ हुन सक्दैनौँ । हामीले अरु बन्नको लागि प्रयास गर्न सक्छौँ । तर हामी सधैँ सबै कुरा भेटिने मार्केटप्लेस नै रहन्छौँ । तर, तपाईँलाई एकदमै चाँडो खाद्यान्न चाहिएको छ भने भविष्यमा अन्यत्र तिर जान सक्नु हुन्छ ।

यो हाम्रो लागि पनि राम्रो हुन्छ । अहिले हामीले यस्ता धेरै क्षेत्रहरू छुटाइरहेका छौँ । मलाई लाग्छ, हामीले भविष्यमा यस्ता धेरै क्षेत्रमा प्रतिस्पर्धीहरू पाउनेछौँ । यो ठीक पनि हो । किनकि यसले यो उद्योगलाई राम्रो गर्छ ।

१३. तपाईँको विचारमा बजारमा दराजको प्रतिस्पर्धा चाहिँ कस्तो छ ? 

हाम्रा केही प्रतिस्पर्धी छन् । तर प्रतिस्पर्धी र हामीबीचको भिन्नता भने बढ्दै गइरहेको छ । मलाई लाग्छ, हाम्रा प्रतिस्पर्धीलाई हामीसँगको दूरी घटाउन लगानी चाहिन्छ । प्रतिस्पर्धा राम्रो हो । मेरो विचारमा, प्रतिस्पर्धी कम्पनी हामी भन्दा धेरै पछाडि छन् ।

तर यसको अर्थ छैन । किनकि यो अन्त्यमा सेवाको प्रतिस्पर्धा हुनेछ । र, हामीले हाम्रा उपभोक्तालाई सबैभन्दा राम्रो अनुभव प्रदान गर्नुपर्छ । यसका लागि उपभोक्तालाई नै निर्णय गर्न दिनुपर्छ, उनीहरूले नै निर्णय लिनुपर्छ ।

१४. त्यसो भए, तपाईँ नै कोही बलियो प्रतिस्पर्धी आओस् भन्ने चाहनु हुन्छ ? जसले गर्दा इकोसिस्टम पनि बलियो होस् र तपाईँलाई पनि चुस्त दुरुस्त सेवा दिने दबाब होस् ? 

यो अवस्था तपाईँले भारतमा देख्नु भएकै छ । त्यहाँ फ्लिपकार्ट र अमेजन एकदमै धेरै प्रतिस्पर्धामा छन् । र, यसले गर्दा एकदमै राम्रो अवस्था सिर्जना भएको छ । ती दुवै कम्पनी ग्राहकको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

हाम्रोमा भने अहिले बढी प्रतिस्पर्धा आफैँसँग र ग्राहकको लागि गर्नुपर्ने अवस्था छ । तर, भविष्यमा के हुन्छ, त्यो त हेर्नै पर्नेछ । कोही प्रतिस्पर्धी आए पनि हामी डराउँदैनौँ । हामी जहिले पनि प्रतिस्पर्धालाई इमान्दारितापूर्वक लिन्छौँ ।

मलाई लाग्छ, इकोसिस्टमलाई राम्रो बनाउने प्रतिस्पर्धासँग हामी डराउँदैनौँ । तर, अहिले भने हामी आफैँमा केन्द्रित छौँ । र, हामी हाम्रा उपभोक्तालाई राम्रो अनुभव दिएर मन जित्न चाहन्छौँ ।

१५. अनलाइन शपिङको  विषयलाई लिएर नेपाली उपभोक्ता र अन्यत्र देशका उपभोक्ताबीच स्वभावमा कुनै किसिमको भिन्नता अनुभव गर्नुभएको छ ? 

अवश्य पनि केही समानता र असमानता छन् । मैले पाकिस्तान र बंगलादेशमै काम गरेको अनुभवमा धेरै समानता देख्छु । तर, सबै कुरा समान छैनन् । तपाईँले गर्नुभएको प्रश्न बृहत् भएकाले मैले पनि बृहत् उत्तर दिनुपर्ने हुन्छ ।

त्यसकारण, अवश्य पनि यहाँ समानताहरू छन् । यहाँको विशेषता भनेको उपभोक्ताहरू ज्यादै सचेत छन् । यहाँका उपभोक्तालाई भारतमा के भइरहेको छ भन्ने पनि थाहा छ । यो राम्रो कुरा पनि हो किनकि उनीहरूले हामीबाट धेरै कुराको अपेक्षा गरिरहेका हुन्छन् र हामीले त्यसलाई पूरा गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५