काठमाडौं । कोरोना महामारी सुरु भएपछि वर्क फ्रम होम र अनलाइन क्लास नियमित अभ्यास बनेको छ । जसले गर्दा बजारमा ट्याब्लेटको माग बढेपछि नोकियाले समेत यसमा हात हालेको हो ।
नोकियाको मातृ कम्पनी एचएमडी ग्लोबलले बुधबार नोकिया टी २० ट्याब्लेट घोषणा गरेको छ । एन्ड्रोइडमा आधारित प्रारम्भिक तहको ट्याब्लेटको रुपमा आएको नोकिया टी २० को मूल्य २५० डलर अर्थात करिब ३० हजार रुपैयाँदेखि सुरु हुनेछ ।
सस्ता र राम्रा एन्ड्रोइड ट्याब्लेटसँग प्रतिस्पर्धा गर्न कम्पनीले आफ्नो नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको हो । टी २० एउटा यस्तो दोस्रो एन्ड्रोइड ट्याब्लेट हो, जसले नोकियाको ब्रान्ड प्रयोग गरेको छ ।
यसअघि फिनल्याण्डको कम्पनीले सन् २०१४ मा नोकिया ‘एनवान’ नामक ट्याब्लेट बजारमा ल्याएको थियो । १०.४ इन्चको टुके (2K) डिस्प्ले र ठूलो ब्याट्री राखिएको यो ट्याब्लेटबाट नोकियाले सात घण्टासम्मको भिडिओ कल गर्न सकिने दाबी गरेको छ ।
भिडिओ कलको कुरा गर्दा यसको अगाडि भागमा पाँच मेगापिक्सेलको क्यामेराको साथमा दुई ओटा माइक्रोफोन र स्टेरियो स्पिकर दिइएका छन् । त्यस्तै यसको पछाडि भागमा आठ मेगापिक्सेलको क्यामेरा छ ।
एन्ड्रोइड इलाभेनका साथ बजारमा आउने यो ट्याब्लेटमा नोकियाले दुई वर्षसम्म एन्ड्रोइड ओएस (अपरेटिङ सिस्टम) को अपडेट दिनेछ । यति मात्र होइन, तपाईंले यसमा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट समेत पाउन सक्नुहुनेछ ।
यस्तो छ स्पेसिफिकेसनः
अपरेटिङः एन्ड्रोइड ११
प्रोसेसरः टी ६१० अक्टा-कोर प्रोसेसर
मेमोरीः ३जीबी/४जीबी
स्टोरेजः ३२ जीबी/६४ जीबी
डिस्प्लेः १०४ इन्च, १२००x२०००, ४०० निट्स
क्यामेराः ८ मेगापिक्सेल रियर, ५ मेगापिक्सेल फ्रन्ट,
त्यस्ता व्यक्तिहरू जसले आफ्ना बालबालिकालाई आफ्नो ट्याब्लेट दिने गर्दछन्, उनीहरूको सहजताका लागि टी २० मा गुगल किड्स स्पेस समेत हुनेछ । यो फिचरले तपाईंलाई ट्याब्लेटमा आफ्ना बालबालिकाको गुगल अकाउन्ट सेटअप गर्न र किताब र भिडिओ सुझाउने अनुमति दिनेछ ।
गुगल फेम्ली लिङ्कको माध्यमबाट तपाईंले आफ्ना बालबालिकाको गुगल अकाउन्ट समेत व्यवस्थापन गर्न सक्नुहुनेछ । तर ख्याल राख्नुहोस्, यदि आफ्नो पेशागत प्रयोग वा कामको लागि हो भने यसले तपाईंको एप तथा सूचना राख्छ भन्ने कुरा नभुल्नुहोस् ।
त्यसैले सकेसम्म आफ्नो व्यक्तिगत प्रयोग वा कामसँग जोडिएको ट्याब्लेट बालबालिकालाई दिनु त्यति राम्रो भने होइन । नोकिया टी २० अमेरिकी बजारमा आगामी नोभेम्बर १७ देखि उपलब्ध हुनेछ । तर नेपाल लगायतका अन्य देशमा कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुरा अहिले नै यकिन भने भइसकेको छैन ।