close

१०० एमबीपीएस माथिको फास्ट इन्टरनेटमा कुन छ सस्तो ?

टेकपाना टेकपाना

असोज २५, २०७८ १२:२७

१०० एमबीपीएस माथिको फास्ट इन्टरनेटमा कुन छ सस्तो ?

काठमाडौं । आजको दिनमा इन्टरनेट अपरिहार्य आवश्यकताको विषय बनिसकेको छ । अझ कोभिड–१९ पश्चात् अनलाइन कक्षा, वर्क फ्रम होम लगायतका बाध्यताले पनि इन्टरनेटको महत्व अझ बढाएको छ ।

यसैबीच सरकारले पनि इन्टरनेटलाई आधारभुत सेवाको  रुपमा सूचीकृत गरिसकेको अवस्था छ । यसरी इन्टरनेट सेवा अत्यावश्यक बनिरहँदा सेवाप्रदायक पनि ग्राहकलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिस्पर्धामा छन् ।

ठूलो व्यापारिक घराना चौधरी ग्रुपले कर बाहेक नौ सय ९९ रुपैयाँमा १२० एमबीपीएस इन्टरनेट प्याकेज सँगै बजारमा प्रवेश गरेपछि इन्टरनेटको गतिमा छुट्टै रौनक छाएको छ । सिजी नेटले १२० एमबीपीएसको इन्टरनेट सुरु गरेसँगै बजारमा अन्य कम्पनीले पनि आफ्ना ग्राहकलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागि परेका छन् ।

गतिसँगै बजारमा ‘प्राइस वार’ (सस्तो मुल्यमा इन्टरनेट उपलब्ध गराउने बजार प्रतिस्पर्धा) नै सुरु भएको छ । प्रयोगकर्ताको हिसाबले यो परिदृश्य पक्कै पनि खुशीको विषय हो ।

हुनसक्छ, कम्पनीहरूले भने जस्तै ग्राहकलाई सेवा उपलब्ध गराउन सकेका छैनन् । तर, पनि सस्तो मूल्यमा धेरै गतिको इन्टरनेट प्रयोग गर्ने विकल्प भने बजारमा काफी मात्रामा उपलब्ध भइसकेका छन् ।

बजारमा यस्ता धेरै सेवा प्रदायक छन्, जसले सय एमबीपीएसदेखि माथिको इन्टरनेट उपलब्ध गराउँदै आइरहेका छन् । जसमा वर्ल्डलिंक, भायानेट, सुबिसु, क्लासिकटेक, सिजीनेट र डिशहोम छन् । यी कम्पनीले उपलब्ध गराएको  उच्च गतिको इन्टरनेट (१०० एमबीपीएसभन्दा माथि) को प्याकेजको मूल्यलाई आधार मानेर हामी यहाँ कसको इन्टरनेट सस्तो भन्ने विषयमा चर्चा गर्ने प्रयास गर्दैछौँ । 

सेवाप्रदायकले भनेको जति इन्टरनेट स्पिड ग्राहकलाई दिन्छन् दिँदैनन्, ग्राहक सेवा कस्तो छ, सर्भिस तथा मेन्टिनेन्स कति प्रभावकारी छ, लोकल ब्यान्डविथ र अन्तर्राष्ट्रिय ब्यान्डविथ कति चुस्त छ, पिङ कसको घटीबढी छ जस्ता विषयहरूलाई हामीले यसमा समेटेका छैनौँ । कम्पनीले उपलब्ध गराइरहेका प्याकेजको मूल्य र गतिको आधारमा हामीले कुन सस्तो पर्न आउँछ भन्ने विषयमा कुरा गर्दै छौँ ।

त्यसका लागि सेवा प्रदायकले उपलब्ध गराएको इन्टरनेट स्पिडको मूल्य प्रति एमबीपीएसमा निकालेर सूचीबद्ध गर्ने प्रयास गरेका छौँ । यसको अर्थ प्रति एमबीपीएसका लागि ग्राहकले वार्षिक कति शुल्क बुझाउनुपर्छ भन्ने विषय यसले निर्धारण गर्नेछ । साथै, यसमा हामीले सम्बन्धित कम्पनीले उपलब्ध गराएका वार्षिक प्याकेजलाई मात्र समेटेका छौँ । 

वर्ल्डलिंक –३०० एमबीपीएस

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपाली इन्टरनेट प्रयोगकर्ता माझ हालसम्मकै उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । मेस वाई-फाईको रुपमा कम्पनीले तीन सय एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गराएको छ ।

जसको वार्षिक शुल्क २२ हजार रुपैयाँ रहेको छ । यस आधारमा ग्राहकले प्रति एमबीपीएसका लागि प्रति महिना ६.११ रुपैयाँ तिर्नुपर्ने देखिन्छ । यदि नेटटिभी आवश्यक छैन भने यो प्याकेज वार्षिक २१ हजार रुपैयाँमै पाउन सकिन्छ । जसमा मासिक प्रति एमबीपीएसका लागि झन् ५.८३ रुपैयाँ मात्रै पर्न आउँछ । 

यसका साथै यही शुल्कभित्र कम्पनीले तीनओटा नेटटिभी पनि ग्राहकलाई उपलब्ध गराउँछ । ग्राहकले यो इन्टरनेट प्याकेजको वार्षिक बाहेक मासिक र तीन महिने विकल्प समेत रोज्न सक्छन् ।

यसको वार्षिक प्याकेजमा डुअल ब्यान्ड राउटर र अप्टिकल फाइबर निःशुल्क छ । तर स्मार्ट इन्स्टलेसन र राउटरको डिपोजिटको रुपमा क्रमशः तीन हजार रुपैयाँ र पाँच सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । साथै यही प्याकेजमा मेश वाईफाई समेत चाहनुहुन्छ भने बिकन १.१ का लागि दुई हजार रुपैयाँ रेन्टल चार्ज तथा २५०० डिपोजिट गर्नुपर्ने हुन्छ । 

सीजी–१२० एमबीपीएस 

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सीजी नेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पीले बजारमा प्रवेश गर्दा नै नेपालकै सबैभन्दा बढी गतिको इन्टरनेट स्पिड ल्याएको थियो ।

कम्पनीले हालसम्म एउटा प्याकजमात्रै ग्राहकलाई उपलब्ध गराइरहेको छ । यसका लागि ग्राहकले एक महिना, तीन महिना, ६ महिना तथा एक वर्षमध्ये कुनै पनि प्याकेज लिन सक्नेछन् ।

१२० एमबीपीएस गतिको यो प्याकेजको वार्षिक शुल्क ११ हजार ९८८ रुपैयाँ रहेको छ ।  जसअनुसार प्रति महिना प्रति एमबीपीएसको मूल्य ८.३३ रुपैयाँ पर्न आउँछ । तर यसमा निःशुल्क भएपनि आईपीटिभी भने तपाईंले पाउनुहुने छैन । 

भायानेट– १४० एमबीपीएस

भायानेट कम्युनिकेसन्सले केही महिना अघिदेखि आईपीटिभी बन्डलिङसहित १४० एमबीपीएससम्मको इन्टरनेट सेवा दिँदै आएको छ । कम्पनीले १४० एमबीपीएस गतिको इन्टरनेट एक वर्षे प्याकेजको रुपमा मात्रै उपलब्ध गराएको छ ।

जसको मूल्य मासिक प्रति एमबीपीएस १२.८६ रुपैयाँ पर्न आउँछ । यसमा कम्पनीले तीन ओटा भायाटिभी सहित जडान समेत निःशूल्क गरेको छ ।

सुबिसु– १५० एमबीपीएस

सुबिसु केवल नेट लिमिटेड १५० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । २८ हजार ३१८ रुपैयाँ शुल्क रहेको यो इन्टरनेट अनलिमिटेड भने होइन ।

यसको अर्थ तपाईंले यसमा सिमित अवधिसम्म १५० एमबीपीएसमा इन्टरनेट प्रयोग गर्न पाउनुहुन्छ भने त्यसपश्चात ४५ एमबीपीएसको फलब्याकमा इन्टरनेट सीमित हुने गर्छ ।

कम्पनीका अनुसार ग्राहकले यसमा दुई हजार जीबी डेटा प्राप्त गर्नेछन् । उक्त डेटा खपत भएपश्चात भने इन्टरनेट ४५ एमबीपीएसमा चल्नेछ ।

यो प्याकेजमा ग्राहकले मासिक रुपमा प्रति एमबीपीएसका लागि १५.७३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा कम्पनीले चार ओटा क्लियर टिभी निःशुल्क उपलब्ध गराउने छ ।

साथै, जडान शुल्क पनि निःशुल्क रहेको छ । ग्राहकले मासिक तीन महिनाे वा वार्षिक प्याकेजको रुपमा यो इन्टरनेट लिन सक्छन् । 

वर्ल्डलिङ्क १०० एमबीपीएस

वर्ल्डलिङ्कले भर्खरै दशैँको अवसरमा १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज समेत दिन सुरु गरेको छ । दशैँ अफरको रुपमा यो इन्टरनेट प्याकेज १९२०० रुपैयाँमा उपलब्ध छ । जसलाई ६ महिने प्याकेजको रुपमा समेत लिन सकिन्छ । 

यो प्याकेजका लागि ग्राहकले प्रति महिना प्रति एमबीपीएसका लागि  १६ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो प्याकेजमा डुअलब्यान्ड राउटर निःशुल्क हुनुका साथै जडान र अप्टिकल फाइबरका लागि समेत पैसा लाग्दैन ।

यद्यपि पछि फिर्ता लिन सकिनेगरी ५०० रुपैयाँ डिपोजिट भने राख्नुपर्ने हुन्छ । साथै यसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा पाउन सकिन्छ । 

क्लासिक टेक – १०० एमबीपीएस

अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले पनि १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो इन्टरनेट ग्राहकले वार्षिक र अर्ध वार्षिक गरि दुई प्याकेजको रुपमा लिन सक्छन् ।

जसमा वार्षिक प्याकेजको मूल्य १९ हजार २०० रुपैयाँ तोकिएको छ । जसअनुसार मासिक प्रति एमबीपीएसको मूल्य १६ रुपैयाँ हुन आउँछ । यसमा कम्पनीले एउटा क्लासिक प्रभुटिभी र निःशूल्क जडानको व्यवस्था मिलाएको छ । 

डिशहोम फाइबरनेट – १०० एमबीपीएस

डिश मिडिया नेटवर्क लिमिटेड अन्तर्गत रहेको डिश फाइबरनेटले १०० एमबीपीएससम्मको इन्टरनेट प्याकेज ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यो सेवाको शुल्क मासिक २,२०० रुपैयाँ तथा वार्षिक २२,००० रुपैयाँ तोकिएको छ ।

ग्राहकले एक महिना, तीन महिना, ६ महिना तथा एक वर्षमध्ये कुनै पनि प्याकेजको रुपमा यो इन्टरनेट लिन सक्छन् । इन्टरनेटको वार्षिक प्याकेज लिँदा ग्राहकले प्रति महिना प्रति एमबीपीएसका लागि १८.३३ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । जडान निःशुल्क भएतापनि यसमा अन्य सेवा प्रदायकको जस्तो अतिरिक्त रुपमा आईपीटिभी सेवा निःशुल्क गरिएको छैन । 

सेवा प्रदायकइन्टरेनट स्पिड(एमबीपीएसमा) प्याकेज    शुल्कअफरमासिक प्रति एमबीपीएस शूल्क
वर्ल्डलिंक      ३०० वार्षिक    २२०००   ३ ओटा नेट टिभीनिःशुल्क डुअल ब्यान्ड राउटर६.११ रुपैयाँ
सुबिसु १५०   वार्षिक    २८,३१८ ४ क्लियर टिभी, निशुल्क जडान    १५.७३ रुपैयाँ
भायानेट १४० वार्षिक २१,६००३ ओटा भायो टिभी, निशुल्क जडान१२.८६ रुपैयाँ
क्लासिक टेक    १००वार्षिक१९,२००१ क्लासिक प्रभु टिभी, निशुल्क जडान१६ रुपैयाँ
डिशहोम१०० वार्षिक    २२,०००    निशुल्क जडान    १८.३३ रुपैयाँ
सीजीनेट१२० वार्षिक    ११,९८८    निःशुल्क जडान    ८.३३ रुपैयाँ
वर्ल्डलिङ्क१००वार्षिक१९,२००एउटा नेटटिभी, निःशुल्क जडान, निःशुल्क डुअल ब्यान्ड राउटर१६ रुपैयाँ

*माथि उल्लेख गरिएका सबै मूल्यहरु भ्याट बाहेक हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१